हिलारी नेल्सनः नेपालकै हिमालमा प्रमुख कीर्तिमान रचेर यहीँ अस्ताइन्

फाइल तस्बिर

काठमाडौँ – कीर्तिमानी आरोही तथा साहासिक पर्वतीय स्की खेलाडी हिलारी नेल्सनको शव काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। गत सोमबार बिहान मनास्लु हिमालमा बेपत्ता भएकी नेल्सनको शव बुधबार बिहान भेटिएको पर्यटन बोर्ड अन्तर्गतको पर्वतारोहण महाशाखाका निर्देशक युवराज खतिवडाले जानकारी दिए।

उद्धारकर्मीले मंगलबार नै स्की ब्लेड र लुगा देखेको भए पनि मौसम खराब हुँदा थप खोजी गर्न सकेका थिएनन्। तर बुधबार बिहान मौसम केही राम्रो भएका बेला नेल्सनको शव पहिचान गरी सामागाउँ ल्याइएको थियो। त्यसपछि हेलिकप्टरमार्फत उनको शव काठमाडौँ ल्याएको उनको आरोहण यात्राको व्यवस्थापन गरेको काठमाडौँस्थित शांग्रिला नेपाल ट्रेकका प्रवन्ध निर्देशक जीवन घिमिरेले बताए।

‘उहाँको शव अहिले त्रिवि अस्पतालमा राखिएको छ। परिवारका सदस्यले गोपनीयताको ख्याल गरिदिन आग्रह गर्नु भएको छ,’ घिमिरेले भने, ‘नेपालस्थित अमेरिकी दूतावासको रोहबरमा परिवारका सदस्यसँग छलफल भइरहेको छ। त्यसपछि मात्रै थप पक्रियाबारे थाहा हुन्छ।’

नेल्सन आफ्ना पार्टनर जिम मोरिसनसँग मनास्लुमा स्की गरिरहेकी थिइन्। जिम उनीभन्दा केही मिनेट मात्रै अघि थिए, उनी सकुशल आधार शिविर फर्किन सफल भएका थिए। तर नेल्सन भने बेपत्ता भएकी थिइन्। अहिले जिम पनि काठमाडौँमै रहेको र अमेरिकाबाट परिवारका सदस्य आउने तयारी भइरहेको शांग्रिला ट्रेकका प्रवन्ध निर्देशक घिमिरेले जानकारी दिए।

उनले भने, ‘उहाँका परिवारका सदस्य अमेरिकाबाट आउने तयारी भइरहेको छ। सायद भोलि (बिहीबार) अपराहन्नसम्ममा उहाँका भाइ नेपाल आउने छन्। त्यसपछि पत्रकार सम्मेलन गरेर थप जानकारी दिने तयारी छ।’

पहिले सम्पूर्ण अवस्था परिवारका सदस्यलाई जानकारी गराएर पछि मात्रै उनीहरुको रायका आधार विस्तृत जानकारी दिइने घिमिरेले बताए।
नेल्सनका पार्टनर जिम अहिले प्रक्रिया मिलाउने क्रममा रहेको घिमिरेले उल्लेख गरे।

नेल्सनले नेपाल, भारत, म्यानमारसहित देशका हिमालमा आरोहण तथा स्की गरेर कीर्तिमान कायम गरेकी छन्। ४९ वर्षकी उनका १२ र १४ वर्षका सन्तान छन्।

उनी ८ हजार मिटर माथिका दुई हिमाल सगरमाथा र ल्होत्से २४ घण्टाभित्र आरोहण गर्ने पहिलो महिला हुन्। यस्तै विश्वको चौथो अग्लो हिमाल ल्होत्सबाट स्की गर्दै तल झर्ने उनी पहिलो महिला आरोही तथा साहासिक खेलाडी हुन्। उनले यो कीर्तिमान सन् २०१८ मा पार्टनर जिमसँग स्की गर्दै ओर्लेर बनाएकी हुन्।

उनलाई सन् २०१८ मै नेशनल जिओग्राफीले वर्षको साहासी व्यक्तिका रुपमा सम्मानित गरेको थियो। यस्तै उनी द नर्थ फेस एथ्लेट टिमकी कप्तान घोषित भएकी थिइन्, त्यही वर्ष।

नेपालका हिमाल चटेर मुख्य कीर्तिमान बनाएकी उनले नेपालमा सामाजिक कार्यका लागि विभिन्न समयमा सहयोग जुटाएको पनि घिमिरेले बताए।

घिमिरेले भने, ‘उहाँको समयकालकी उहाँ साहासी आरोही तथा उच्च हिमालयमा स्की गर्ने नेतृत्वदायी महिला हुनुहुन्थ्यो। अहिलेको दुःखको घडीमा परिवारले आग्रह गरेअनुसार गोपनीयताको ख्याल गरिदिन सबैमा अनुरोध छ।’

असोज १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्