इसेवाको प्रमुख कार्यकारी अधिकृतमा जगदीश खड्का नियुक्त

काठमाडौँ – नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवाप्रदायक कम्पनी इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृतमा जगदीश खड्का नियुक्त भएका छन्।

चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालनक समितिले सिइओ नियुक्त गरेको हो।
नवनियुक्त सिइओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुँवर क्षेत्रीले पद तथा गोपनियताको शपथ दिलाएका थिए।

सिइओ खड्काले बुधवार नै आफ्नो कार्यभार सम्हाले। उनीसँग बिजनेस अपरेसन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एन्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङमा १२ वर्षभन्दा धेरै समयको अनुभव छ।

उनी यसअघि एफवानसफ्ट गु्रपअन्तर्गतको फोनपे पेमेन्ट सर्भिसमा डाइरेक्टरको रूपमा समेत आबद्ध थिए।

कार्यभार सम्हाल्दै नवनियुक्त सिइओ खड्काले भने, ‘डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडि बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ।’

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुलकलेजको शुल्कलगायत सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन्।

यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा पठाउन सकिन्छ। मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ६५ लाखभन्दा बढी छ।

असोज १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्