५१ सय पिस लागुऔषधसहित पाँच जना पक्राउ

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट ५१ सय पिस लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकमा चेकजाँच गर्दा ना १ घ २८२३ नम्बरको ई रिक्साबाट पाँच जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतमोतिहारी थाना भेलाही घर भई हाल वीरगञ्ज–१६ बसने ओमप्रकाश महतो, बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ बस्ने उत्तम आचार्य, अरूण राई, वडा नम्बर ३ अम्लेखगन्ज बस्ने प्रदीप बोहरा क्षेत्री र काठमाण्डौ चन्द्रगिरी नगरपालिका– ४ थानकोट बस्ने सुविन राई छन्।

उनीहरूको साथबाट प्रहरीले डाईजोपाम, फेनारगन, नुर्फिन, निटजाकार गरी ५१ सय पिस लागुऔषध बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता दीपक गिरीले जानकारी दिए। पक्राउ परेका पाँचै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले बताए।

पाँच किलो गाँजा तस्करी गरेको आरोपमा श्रीमान्, श्रीमती र बहिनी पक्राउ

प्रहरीले पर्साबाट पाँच किलो प्रतिबन्धित गाँजा तस्करी गरेको आरोपमा श्रीमान् श्रीमती बहिनीलाई पक्राउ गरेको छ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–३१ स्थित जितपुरबाट बिरुवागुठीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ह ९७५ नम्बरको सार्वजनिक ट्याम्पो चेकजाँच गर्दा गाँजा बरामद गरेको थियो।

ट्याम्पोमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका–१ बस्ने सिमोन चेपाङले बोकेको झोलाबाट प्रहरीले पाँच किलो ९ सय ग्राम गाँजा बरामद गरेको थियो।

गाँजा बरामद भएपछि उनीसँगै रहेकी चेपाङकी श्रीमती भनिएकी कैलाश गाउँपालिका–८ की सीतामाया प्रजा र बहिनी भनिएकी चितवनको राप्ती नगरपालिका–१ की इन्द्र माया चेपाङको पनि गाँजा तस्करीमा संलग्नता रहेको पाइएपछि पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता दीपक गिरीले जानकारी दिए। पक्राउ परेका तीनै जनालाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको उनले बताए।

 

असोज १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्