साबा महिला बास्केटबल च्याम्पियनसिप: नेपाल फेरि उपविजेता

काठमाडाैँ – दक्षिण एसियाली महिला बास्कटेबल च्याम्पियनसिप (साबा)मा नेपाल उपविजेता बनेको छ।

मालेमा बुधबार राति भएकाे खेलमा माल्दिभ्सलाई श्रीलंकाले पराजित गरेसँगै नेपाल उपविजेता बनेको हो।

बुधबार भुटानलाई हराएर उपाधि होड कायम राखेको नेपाल श्रीलंकाको जितसँगै लगातार दोस्रो पटक उपविजेता बन्यो। श्रीलंकाले माल्दिभ्सलाई ७२-५९ ले हराएर च्याम्पियन बन्यो।

अघिल्लो संस्करण (२०१६) मासमेत श्रीलंकाले उपाधि जित्दा नेपाल उपविजेता बनेको थियो। जारी प्रतियोगिताको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग ५१-४७ ले पराजित भएको थियो।

माल्दिभ्ससँग पराजित भएपनि नेपालले मंगलबार श्रीलंकालाई ५५-४९ ले हराएको थियो। त्यस्तै प्रतियोगितामा कमजोर रहेको भुटानमाथि नेपालले ६५-२६ को जित निकाल्दा नेपाल दोस्रो स्थानमा रह्यो।

चार राष्ट्र सहभागी प्रतियोगितामा अन्तिम खेलमा अब माल्दिभ्स र भुटानबीच प्रतिस्पर्धा हुने छ।

असोज १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्