शक्तिशाली आँधी इएन: फ्लोरिडाको जनजीवन गम्भीर रूपमा प्रभावित

इएन आँधीका कारण फ्लोरिडाको तटीय क्षेत्रको जनजीवन गम्भीर रुपमा प्रभावित भएको छ । तस्बिर : गेट्टी इमेज

अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधीका कारण जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ । अमेरिकाको इतिहासमा इएन आँधी शक्तिशाली मध्येको एक हो ।

फ्लोरिडाको तटीय क्षेत्रका बासिन्दाले आफू, आफन्त तथा प्रियजनको उद्धारका लागि आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकसहितमा पोस्ट गरेको समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ ।

आँधीका कारण आएको बाढीले ढुबानमा परेको घरका बासिन्दाले उद्धारका लागि माग गर्दै फोन गरिरहेको तटीय प्रहरीले जनाएका छन् ।

आँधीका कारण फ्लोरिडाका १९ लाख भन्दा बढी बासिन्दा विद्युत सेवाबाट वञ्चित भएका छन् । फ्लोरिडा किजमा क्युबाबाट आएका आप्रवासी सवार डुङ्गा डुबेको थियो । सातजनाको उद्धार गरिएको छ । तर अझैपनि पनि २३ जना बेपत्ता छन् र उनीहरूको खोजी भइरहेको छ ।

भर्जिनिया, जर्जिया, साउथ क्यारोलाइना र नर्थ क्यारोलाइनाले आँधीले गर्न सक्ने क्षतिको पूर्वानुमान गरी आपतकाल घोषणा गरेका छन् । ती राज्यमा इएन आँधी ट्रपिकल आँधीका रुपमा ती राज्यमा जाने मौसमविदले उल्लेख गरेका छन् ।

इएन आँधीले स्थानीय समय अनुसार बुधबार अपराहन्न ल्याण्डफल गरेको हो । इएन आँधीको गति २४१ किलोमिटर प्रतिघण्टा रहेको छ ।

फ्लोरिडाका गभर्नर रन डिसान्टसले आँधीको मार्गमा पर्ने क्षेत्रका बासिन्दालाई आउँदा केही दिन कष्टकर हुने चेतावनी दिएका छन् ।

असोज १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्