उत्तर कोरियाले दुई ब्यालेस्टिक मिसाइल परीक्षण गरेको भोलिपल्ट अमेरिकी उपराष्ट्रपति दक्षिण कोरियामा

फाइल तस्बिर ।

उत्तर कोरियाले दुई वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको भोलिपल्ट अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरिया पुगेकी छन् ।

उत्तर कोरियाले देशको पूर्वी तटीय क्षेत्रबाट मिसाइल परीक्षण गरेको थियो । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरेको दुई दिनपछि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । यसले तनाव थप बढाएको छ ।

दक्षिण कोरिया र जापानका अधिकारीले उत्तर कोरियाद्वारा बुधबार राति भएको ब्यालेस्टिक मिसाइल परीक्षणको निन्दा गरेका छन् । उनीहरुले यसलाई उक्साहटको कार्य भन्दै निन्दा गरेका हुन् ।

ब्यालेस्टिक मिसाइल तथा परमाणु हतियार परीक्षण गर्न नपाउने गरी संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई प्रतिबन्ध लगाएको छ । तर उत्तर कोरियाले भने लगातार परमाणु गतिविधि सञ्चालन गर्दै आएको छ ।

उत्तर कोरियाले यसअघि गएको आइतबार पनि मिसाइल परीक्षण गरेको थियो । बुधबार राति प्रहार गरिएको मिसाइल ३० किलोमिटरको उचाईसम्म उडेर ३६० मिटर दूरी पार गरेको दक्षिण कोरियाका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

संयुक्त सैन्य अभ्यास र मिसाइल परीक्षणको बीचमा भ्रमणमा रहेकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सिओलपछि सीमा क्षेत्रको अवलोकन गर्ने छिन् ।

यस्तै उनले उत्तर र दक्षिण कोरियालाई विभाजन गर्ने डिमिलिटराइज्ड जोन (डिएमजेड) क्षेत्रको अवलोकन गर्ने जनाएको छ ।

असोज १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्