दुई महिनामा विपद्का विभिन्न घटनामा परेर ९७ जनाको मृत्यु

जनकपुरधाम – विभिन्न विपद्को घटनामा परेर मधेस प्रदेशमा ९७ जनाको मृत्यु भएको छ ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ३१८ वटा विपद्को घटनामा ४० बालबालिकासहित ९७ जनाको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

विपदको घटनामा परेर प्रदेशको आठवटै जिल्लामा दुई महिनामा ४५ पुरुष, ४० बालबालिका र १२ जना महिलाको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

यस्तै, सो विपद्को घटनामा परेर १६१ जना घाइते भएका छन् । घाइते हुनेमा ६६ जना पुरुष, ६४ जना महिला र ३१ जना बालबालिका रहेका छन् ।

विभिन्न विपद्को घटना व्यवस्थापनका लागि १ हजार ७०३ जना प्रहरी परिचालन गरिएको थियो ।

यस्तै, प्रदेशमा भएको विभिन्न विपद्को घटनामा ३ करोड ७५ लाख ८९ हजार १६८ रुपैयाँ बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

असोज १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्