फ्लोरिडामा आँधी : २२ लाख घरमा विद्युत सेवा बन्द, जनजीवन गम्भीर रूपमा प्रभावित

इएन आँधीका कारण फ्लोरिडाको तटीय क्षेत्रको जनजीवन गम्भीर रुपमा प्रभावित भएको छ । तस्बिर : राेयटर्स

पछिल्लो केही दशकयताकै शक्तिशाली आँधीका कारण अमेरिकाको फ्लोरिडा राज्यको जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ।

दशौँ लाख मानिस विद्युत सेवाबाट वञ्चित भएका छन्। यस्तै, आँधीका कारण आएको पानीले तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन्। इएन आँधी स्थानीय समयअनुसार बुधबार अपरान्ह २४१ किलोमिटर प्रतिघण्टाको गतिमा जमिनमा ठोक्किएको थियो।

अस्पताल भवनको छानो उडाएको, कारहरू उडेको तथा रुख जरासहित उखेलिएका दृष्य देखिएका छन्। अझै २४ घण्टा अवस्था जोखिमपूर्ण हुने स्थानीय अधिकारीले बताएका छन्।

फ्लोरिडाको तटीय क्षेत्रका बासिन्दाले आफू, आफन्त तथा प्रियजनको उद्धारका लागि आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकसहितमा पोस्ट गरेको समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ।

आँधीका कारण आएको बाढीले ढुबानमा परेको घरका बासिन्दाले उद्धारका लागि माग गर्दै फोन गरिरहेको तटीय प्रहरीले जनाएका छन्।

फ्लोरिडाका २२ लाख भन्दा बढी घरमा विद्युतसेवा बन्द भएको छ। फ्लोरिडा किजमा क्युबाबाट आएका आप्रवासी सवार डुङ्गा डुबेको थियो। सातजनाको उद्धार गरिएको छ। तर, अझै पनि २३ जना बेपत्ता छन् र उनीहरूको खोजी भइरहेको छ।

भर्जिनिया, जर्जिया, साउथ क्यारोलाइना र नर्थ क्यारोलाइनाले आँधीले गर्न सक्ने क्षतिको पूर्वानुमान गरी आपतकाल घोषणा गरेका छन्। ती राज्यमा इएन आँधी ट्रपिकल आँधीका रूपमा ती राज्यमा जाने मौसमविदले उल्लेख गरेका छन्।

फ्लोरिडाका गभर्नर रन डिसान्टसले आँधीको मार्गमा पर्ने क्षेत्रका बासिन्दालाई आउँदा केही दिन कष्टकर हुने चेतावनी दिएका छन्।

असोज १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्