मोरङमा दुई महिना अगाडि सर्‍यो औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी

मोरङ – मोरङमा दुई ठूला उद्योग संस्थाबीच एक्स्पो लगाउने विषयले मतान्तर बढाइरहँदा उद्योग संगठन मोरङले एक्स्पो आयोजना गर्ने निर्धारित मिति दुई महिना अगाडि सारेको छ।

बिहीबार पत्रकार सम्मेलन गर्दै उद्योग संगठन मोरङले कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीलाई मंसिर २९ गतेबाट पुस ६ गतेसम्म आयोजना गर्ने जनाएको छ।

यसअघि, उद्योग संगठन मोरङले माघ २६ गतेबाट फागुन ३ गतेसम्म आयोजना गर्ने तयारी गरेको थियो। तर, नेपाल उद्योग परिसंघ प्रदेश १ ले माघ १९ बाट २८ गतेसम्म अर्को एक्स्पो गर्ने जनाएपछि, दुई संस्थाबीच मितिलाई लिएर विवाद देखिएको थियो।

पत्रकार सम्मेलनमा विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी व्यवस्थापन मूल समितिका संयोजक भोलेश्वर दुलालले महानगरपालिका–१४ स्थित स्नातकोत्तर क्याम्पसको मैदानमा आयोजना गर्ने तय भएको जानकारी दिए।

विराट एक्स्पोको सातौं संस्करणले आर्थिक विकासलाई मूल आधार कृषि, पर्यटन, उद्योग र व्यापारलाई बनाएको छ। सोही क्रममा एक्स्पो पनि कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीका रूपमा रहने संयोजक दुलालले जानकारी दिए।

पत्रकार सम्मेलनका क्रममा संगठनका अध्यक्ष सुयष प्याकुरेलले विराटनगरमा दुई एक्स्पोको मिति जुध्ने अवस्था देखिएपछि आफूहरूले मिति दुई महिना अघि सारेको बताएका थिए।

उनले भने, ‘हामी दुई संस्थाबीच अस्वस्थ प्रतिस्पर्धा छैन। तर, सर्वसाधारणलाई एक्स्पो एकै मितिमा गरिँदा सहज नहुन सक्छ। त्यसैले संगठनले मंसिरमा एक्स्पो गर्ने अन्तिम तयारी गरेको हो। हामीबीच प्रतिस्पर्धा छैन। मिलेर अघि बढ्नेछाैँ।’

पत्रकार सम्मेलनमा एक्स्पो संयोजक दुलालले एक्स्पोमा ४ सय १५ वटा स्टल रहने जानकारी दिए। नेपाली र भारतीय गरी ३ लाखको संख्यामा दर्शकले एक्स्पो अवलोकन गर्ने जनाएका दुलालले भारत, बंगलादेश, भुटान, पाकिस्तान, थाइल्याण्ड तथा चीनका व्यापारिक स्टल रहने उल्लेख गरे।

करिब २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको आयोजक समितिले एक्स्पो अवधिमा ५० करोड रुपैयाँ बराबरको प्रत्यक्ष र अप्रत्यक्ष कारोबार हुने जनाएको छ।

स्थानीय अर्थतन्त्रलाई सक्रिय बनाउँदै उद्योग व्यवसाय क्षेत्रको विकासमा योगदान पु¥याउने गरी संगठनले ०५३ सालबाट एक्स्पो गर्दै आएको छ।

०५३ सालमा कोसी महोत्वसबाट सुरु भएको औद्योगिक प्रदर्शनी मोरङ व्यापार संघ र संगठनले प्रत्येक एक–एक वर्षको अन्तरमा गर्दै आएका छन्। सो क्रममा ०६३ सालबाट दुई वर्षको अन्तरालमा संगठनले विराट एक्स्पो ब्रान्डमा औद्योगिक प्रदर्शनी गर्दै आएको एक्स्पो संयोजक दुलालले जानकारी दिए।

असोज १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्