तार व्यवस्थित गर्न विराटनगर महानगरको आग्रह

मोरङ – विराटनगर महानगरको सौन्दर्यकरणका लागि अव्यवस्थित रूपमा राखिएको केवल तथा नेटका तार व्यवस्थित गर्न आग्रह गरेको छ।

महानगरका प्रमुख नागेश कोइरालाले केवल तथा नेटका प्रतिनिधिसँग बिहीबार छलफल गर्दै केवल र नेटको तार व्यवस्थित गर्न आग्रह गरेका हुन्।

छलफलका क्रममा व्यवसायप्रति कडा रुपमा प्रस्तुत भएका मेयर कोइरालाले लत्रिएका तार काट्न सक्ने चेतावनी दिएका थिए।

छलफलका क्रममा उनले भने, ‘लत्रिएका तार काट्न पनि सक्थ्यौँ तर एकपटक तपाईंहरूलाई आग्रह गरौं भनेर हामीले बोलाएका हौं। यदि तपाईंहरूले जतिसक्दो तारको व्यवस्थापन गर्नुभएन भने हामी एक्सनमा उत्रिन्छौँ।’

जथाभावी लत्रिएका तारका कारण महानगरको सुन्दरतामा कमी आएको मेयर कोइरालाको भनाइ छ।

छलफलमा तार व्यवस्थित गर्न महानगरका तर्फबाट पनि सहयोग गर्ने मेयर कोइरालाले प्रतिबद्धता जनाएका थिए।

महानगर सुन्दर, सफा र व्यवस्थित गर्ने विषयमा कसैसँग सम्झौता नगरिने बताएका मेयर कोइरालाले व्यवसायी प्रतिनिधिलाई कात्तिक मसान्तभित्र बजार क्षेत्रका तार व्यवस्थित गर्न निर्देशन दिएका थिए।

महानगरको आन्तरिक आम्दानी नबढाएसम्म विकासले गति लिन नसक्ने बताएका महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले कर संकलनका लागि महानगर निर्मम तरिकाले लाग्ने बताए।
व्यवसायीलाई लक्ष्य गर्दै प्रशासकीय अधिकृत कोइरालाले भने, ‘तपाईं केवल र नेट व्यवसायीले पनि कर तिर्न बाँकी छ भने चाँडै तिर्नुहोला हामी चाडवाडपछि एकदमै कडा रुपमा उत्रिनेछौं।’

महानगरभित्र विद्युत् तथा टेलिकमका खम्बामा रहेका ६० प्रतिशत तार काम नलाग्ने रहेको व्यवसायीको भनाइ छ।

छलफलमा म्याक्सका विराटनगर शाखा प्रमुख उमेश दाहालले पोलमा बिग्रिएका तार ननिकालिने र त्यहीँ छाडिने गरेको बताए। उनले खम्बामा बिग्रिएका तार ६० प्रतिशत रहेको बताए।

असोज १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्