ऐतिहासिक चलचित्र ‘नालापानी’को ट्रेलर सार्वजनिक

काठमाडाैँ- नेपाली ऐतिहासिक चलचित्र नालापानीको ट्रेलर सार्वजनिक भएको छ।
बिहीबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी चलचित्र नालापानीको ट्रेलर सार्वजनिक गरिएको हो।
चलचित्र सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँमा आधारित भएर निर्माण भएको ट्रेलरमा देख्न सकिन्छ।
२ मिनेट ४१ सेकेण्ड लामाे ट्रेलरमा अंग्रेजसँगको लडाइँको क्रममा देखाइएका दृश्य वास्तविक लाग्छन्। ट्रेलर हेर्दा घमासान युद्ध र ऐतिहासिक कथावस्तुमा बनेका फिल्म मन पराउने दर्शकलाई ‘नालापानी’ले आकर्षित गर्नसक्ने देखिन्छ।
तिहारको छेको पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गरेका छन्।
कार्यक्रममा निर्देशक अधिकारीले लामो समय अध्ययन र अनुसन्धान गरेर ९ वर्ष लगाएर फिल्म निर्माण गरेको बताए।
फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खड्का (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ।
फिल्ममा भिएफएक्स अच्युत गजुरेल, छायांकन राम शरण उप्रेती, सम्पादन बिपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशन कबिराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ।
राम भट्टराई र हरि उप्रेतीले रचना गरेका फिल्मका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर रहेको छ।
‘नालापानी’का एसाेसियट निर्माता सपन कुमार थापा, सह-निर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन्।