धेरै खर्च गरेर प्राप्त गरेको इन्जिनियरिङ ज्ञानको प्रयोग भएनः मन्त्री भुसाल

काठमाडौँ – ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसालले सरकारसँग मुलुकको भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्ने गुरुयोजना नभएको बताएकी छन्।

बिहीबार नेपाल इन्जिनियर्स एसोसिएसन र नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगम र नेपाल टेलिकमबीच जनशक्तिको विकास, आपसी सहकार्य, तालिम, क्षमता अभिवृद्धिलगायत विषयमा समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा उनले नेपाल सरकारले अहिलेसम्म मन्त्रीपिच्छे आ–आफ्नो क्षेत्रमा बजेट योजना लैजाने गरेको दाबी गरिन्।

मन्त्री भुसालले भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्न विज्ञ राखेर बृहत् गुरुयोजना बनाउन आवश्यक रहेको पनि उल्लेख गरिन्।

उनले अहिलेसम्म भएका भौतिक पूर्वाधार विकासले आर्थिक सामाजिक विकाससँग जोड्न नसकेको बताइन्।

मन्त्री भुसालले अहिलेसम्म भौतिक पूर्वाधार विकास अपभ्रममार्फत भइरहेको बताइन्। उनले सरकार, राजनीतिक दलले संविधान बनाउँदा राष्ट्रिय सहमति गरेजस्तै भौतिक पूर्वाधार विकासका लागि राष्ट्रिय सहमति गरी समग्र मुलुकको भौतिक पूर्वाधार तथा आर्थिक सामाजिक विकासलाई एकीकृत गरेर देशको गुरुयोजना बनाउन आवश्यक रहेको बताइन्।

उनले विकास विज्ञहरूसहित नेपालको नक्सा राखेर पूर्व–पश्चिम दु्रत मार्ग, रेल मार्ग, अन्तर्राष्ट्रिय विमानस्थल कति बनाउने र त्यसमा राज्यको स्रोतले कति धान्छ भन्ने हेक्का राखेर गुरुयोजना बनाउनुपर्ने बताइन्।

मन्त्री भुसालले त्यस्ता गुरुयोजनामा बस्ती विकासलाई कसरी जोड्ने भन्ने विषयमा बृहत् छलफल गर्नु आवश्यक रहेको बताइन्।

उनले भनिन्, ‘नेपालको भौतिक पूर्वाधारको विकास कसरी गर्ने, भौतिक पूर्वाधारको विकासलाई आर्थिक सामाजिक विकाससँग कसरी जोड्ने भन्ने कुनै मास्टर प्लान छैन। सरकारमा एउटा मन्त्री आयो आफ्नो निर्वाचन क्षेत्र र आफूलाई मन लागेका क्षेत्रमा विकास लगेको छ। अर्को मन्त्री आयो उसले बजेट कता लान सकिन्छ। यसरी अपभ्रममार्फत विकास भएको अवस्था छ। अब सिंगो सरकार, राजनीतिक दलले संविधानमा राष्ट्रिय सहमति गरेर लेखेजस्तै विकासका लागि राष्ट्रिय सहमति र समग्र विकासको भौतिक पूर्वाधार तथा आर्थिक सामाजिक विकासलाई एकीकृत गरेर देशको मास्टर पलानमा बनाउनु आवश्यक छ। यसका लागि सबै किसिमका विज्ञसहित नेपालको नक्सा राखेर पूर्व–पश्चिममा कति वटा हाईवे बनाउने, कति रेलमार्ग बनाउने र राज्यको स्रोतले कति धान्ने हो। कति वटा ठूला अन्तर्राष्ट्रिय विमानस्थल बनाउने हो। त्यस्ता आयोजनामा बस्ती विकास कसरी जोड्ने विषयमा छलफल गर्नु आवश्यक छ। बस्तीका लागि विद्यालय, अस्पताल खोल्ने र खानेपानी पु¥याउने काममा असाध्यै खर्चिला भएका छन्। नेपालका विज्ञहरूले सक्नुभए स्वदेशी नभए विदेशी विज्ञ ल्याएर भए पनि मुलुकको विकासका लागि गुरुयोजना बनाएर भौतिक विकास आवश्यक छ।’

मन्त्री भुसालले नेपालको सार्वजनिक खरिद ऐनअनुसार ठूला विकास आयोजनामा विदेशी ठेकेदार हाल्नु आर्थिक विकृति भएको बताइन्।

उनले त्यस्तो काम नेपाली इन्जिनियरले गर्न सक्नुपर्ने बताइन्। उनले विभिन्न सरकारी निकायमा वा सरकारी निकायभन्दा बाहिर रहेका इन्जिनियरले आफैँ योजना बनाउने काम नगरेको भन्दै गुनासो गरिन्।

उनले संघीयता लागू भएसँगै धेरै इन्जिनियर प्रदेशमा गएको र ऊर्जा मन्त्रालयका विभिन्न विभागमा रहेकाहरूले राम्रो काम नगरेको बताइन्। मन्त्री भुसालले कुनै डिजाइन, गर्नुपर्दा कन्सल्टटेन्ट, कन्स्ट्रक्सन गर्न कन्ट्याक्टर, अनुगमन र निर्माण सम्पन्नताको प्रमाण दिने कन्सल्टेन्टलाई दिनुपर्ने चित्त नबुझेको बताइन्।

उनले धेरै खर्च गरेर अध्ययन गरेर इन्जिनियर बने पनि आफैँले डिजाइन, योजना नबनाउने अवस्था रहेको बताइन्।

मन्त्री भुसालले धेरै रकम खर्च गरेर प्राप्त गरेको इन्जिनियरिङसम्बन्धी ज्ञानको प्रयोग नभएको बताइन्।

मन्त्री भुसालले इन्जिनियरिङ स्टाप कलेज स्थापना तत्काल गर्नुपर्ने बताइन्। उनले देश विकासको मुख्य जनशक्ति इन्जिनियर भएको बताइन्।

मन्त्री भुसालले भौतिक विकास गर्दै आर्थिक सामाजिक विकाससँग जोड्ने विषय इन्जिनियर बिना सम्भव नभएको बताइन्।

उनले देशको भौतिक तथा आर्थिक विकासलाई एकीकृत गर्न प्राविधिक विषयको विभिन्न विधामा काम गर्ने संस्थाबीचको सहकार्यले महत्त्वपूर्ण योगदान पुग्ने विश्वास रहेको बताइन्।

असोज १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्