कांग्रेस नेता भण्डारीले भने- देउवासँग दुई पटक भेट गरेकाे छु, उहाँले विचार गराैँला भन्नुभएकाे छ

धनगढी- नेपाली कांग्रेस महाधिवेसन प्रतिनिधि तथा पूर्व केन्द्रीय सदस्य सुनिल भण्डारीले कैलाली-४ बाहेक अन्त निर्वाचन लड्न नजाने बताएका छन्।

कैलाली-४ मा नेपाली कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरले टिकट पाएको समाचार आएको भन्दै उनले हालसम्म टिकटको टुङ्गो नलागेको र आफू नै सो क्षेत्रबाट उम्मेदवार बन्ने जिकिर गरे।

कैलाली- ४ बाट संघीय निर्वाचनमा आफ्नो सिफारिस भएको हुँदा टिकट पाउने अपेक्षा पनि रहेको उनले धनगढीमा आयाेजित पत्रकार सम्मेलनमा बताए।

तर टिकट नपाएको अवस्थामा के गर्ने भन्ने बारेमा भने अर्को भेटमा कुरा गर्ने उनले बताए।

‘म अहिले ७१ वर्षको भएँ’, बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसैले अर्को चुनावमा लड्ने मनस्थितिमा छैन,उमेरले पनि साथ दिँदैन। यस पटक अन्तिम उम्मेदवार बन्ने छु। उम्मेदवारी कैलाली- ४ बाटै हुने छ।’

टिकट नपाएकाे खण्डमा राजनीतिमा अहिले जसरी सक्रिय भने नहुने उनकाे भनाइ छ।

भण्डारी २०७४ को निर्वाचनमा तत्कालीन बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लेखराज भट्टसँग पराजित भएका थिए। निर्वाचनमा पराजित भए पनि त्यसपछि निरन्तर ५ वर्षसम्म आफ्नाे निर्वाचन क्षेत्रका जनतासमक्ष गएको र आफूले जित्ने माहोल बनाएको उनले दावी गरे।

टिकटका बारेमा आफूले कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा गरेको भए पनि ढुक्क भने नभएको उनी बताउँछन्।

‘टिकटका विषयमा मैले सभापतिसँग २ पटक भेट गरेको थिएँ’, भण्डारीले भने, ‘उहाँले विचार गरौँला भन्नु भएको थियो। तर हुन्छ भन्नु भएन, तर टिकट पाउनेमा ढुक्क छु।’

पार्टीले उम्मेदवारको टुङ्गो नलगाइसकेका वेला विभिन्न अफवाह फैलाएर मतदातालाई भ्रममा पार्ने काम गरिएको पनि उनले बताए।

पाँच दलीय गठबन्धनको टिकट बाँडफाँडको सहमतिअनुसार कैलालीमा कांग्रेसले ३ निर्वाचन क्षेत्र पाएको छ। कैलाली क्षेत्र नम्बर- १, ४ र ५ मा कांग्रेसले पाएकोमा कैलाली- ४ बाट वीबहादुर बलायरलाई उम्मेदवारी बनाइने सम्भावना प्रबल रहेको कांग्रेस नेता बताउँछन्।

बलायरले आफूले कैलाली- ४ बाट टिकट पाउने निश्चित भएको भन्दै सहयोगका लागि विभिन्न माध्यमबाट अपिलसमेत गरिरहेका छन्।

डाेटीमा एकीकृत समाजवाटीका तर्फबाट प्रेमबहादुर आलेले टिकट पाउने निश्चित भएपछि कांग्रेस प्रदेश सभापति बलाएर कैलाली- ४ बाट चुनाव लड्न लागेका हुन्।

असोज १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्