भृकुटीमण्डपमा जुत्ता मेलाको प्रतिस्पर्धा

काठमाडौँ – राजधानीको भृकुटीमण्डपमा छालाजुत्ता उत्पादक संघका नाममा एउटा र केही ब्रान्ड सम्मिलित जुत्ताचप्पल मेला चलिरहेको छ।

दसैँका अवसरमा मेला गरेको भनिए पनि यस्तो मेला नयाँ वर्ष लागेपछि साउनको एक महिनाबाहेक अविछिन्न रुपमा चलिरहेका छन्।

मेला गर्ने नगर्ने भन्नेमा उत्पादकबीच लामो समयदेखि विवाद छ। मेलाले सर्वसाधारण उपभोक्ता भने फाइदामा छन्।

मेलाले जुत्ताचप्पलको च्यानल ब्रेक भएको छ। जुत्ताचप्पल उत्पादक र विक्रेताबीचकाले खाने कमिसन नलाग्दा उत्पादकले सिधै उपभोक्तालाई बेच्न पाएका छन्। त्यसले गर्दा उपभोक्ताले मेलामा विभिन्न ब्राण्डका छानीछानी सस्तोमा जुत्ताचप्पल किन्न पाएका छन्।

केही जुत्ताचप्पल उत्पादकले मेलाकै लागि भनेर जुत्ता उत्पादन गर्दै आएका छन्। उनीहरू दुई महिना जुत्ता उत्पादन गर्छन्। अनि एक महिना मेलामा बस्छन्।

जुत्ता मेला हुने स्थल भनेर भृकुटीमण्डपको सानो चौरको बाण्डिङ नै भइसकेको छ। थोरै नाफा हुँदा पनि उद्योगी फाइदामा छन्। घाटाचाहिँ के भयो भने मेलामा बिकिहाल्छ भनेर जस्तो पनि जुत्ता चप्पल बनाउने उद्योगीहरू थपिएका छन्।
शिखर सुजलगायत जुत्ता कम्पनीले भृकुटीमण्डपमा मेला लगाउँदै आएका थिए।

त्यसको विरोधमा जुत्ताचप्पल उत्पादकहरूको छाता संगठन आफैं विरोधमा उत्रियो। संघका तत्कालीन अध्यक्ष रविन श्रेष्ठले त्यसको नेतृत्व गरेका थिए। केही जुत्ता उत्पादक बजारमा बेच्नेभन्दा मेलाकै लागि भनेर जुत्ता उत्पादन गर्थे।

त्यसपछि जुत्ताचप्पल उत्पादकहरूको गुट बन्न थाल्यो। त्यसमा ३,४ वटा गुट बने। ती गुट घरी एउटासँग अर्को, घरी अर्कोसँग तेस्रो उद्योग मिलेर मेलामा सहभागिता जनाउन थाले। यसरी सदाबहार मेला हुन थालेपछि मेलामा सहभागिता नजनाएका जुत्ताचप्पल उत्पादक मेलाको विरोधमा उत्रिए। त्यतिखेर सबैको स्वार्थ मिलेर संघले औपचारिक रूपमा भृकुटीमण्डपको सानो चौरमा जुत्ताचप्पल मेला नगर्ने औपचारिक निर्णय ग¥यो।

सबैले नलगाउने भए ठिकै छ भनेर मेलामा सहभागिता जनाउनेहरूले पनि मेला गर्न छाडे। विशेष गरी शिखर सुजले सानो चौरमा एकल मेला गर्दै आएको थियो।

गत वर्ष शिखर सुजले मेला गर्ने भनेर सानो चौर बुक गरेको थियो। मेला विरोधीहरूले उक्त मेला रोक्नै लगाएका थिए।

नेपाली जुत्ताघरमा शिखरसँग जोडिएका विएफ डियरहिल, कोसेलीलगायत ब्राण्डका जुत्ता उत्पादक आफूहरूलाई मेलामा छुटाएको भनेर शिखरको मेला विरुद्ध उत्रिए। विरोधको नेतृत्व तत्कालीन अध्यक्ष होमनाथ दाहाल, रविन श्रेष्ठ, ज्ञानेन्द्र दाहाललगायतले गरेका थिए।

केही समय मेला रोकिए पनि अहिले मेलामा फेरि प्रतिस्पर्धा चलेको छ। अहिले भृकुटी मण्डपको दुवै चौरमा दशैं लक्षित जुत्ताचप्पल मेला चलिरहेका छन्।
भृकुटीमण्डप प्रवेशद्वारमै अहिले शिखर सुजको नेतृत्वमा प्राइड स्वदेशी, हाइलाइफ, वन वल्र्ड, फुट स्टेप, बोस, बेम्बो, एसलगायतका ब्राण्डको प्रदर्शनी छ।

सानो चौरको मेलालाई बिकृति भन्छन् ठूलो चौरमा मेला गर्नेहरू। ठूलो चौरमा मेला गर्र्नेहरूचाहिँ आफ्नो मेलालाई संस्कृति भन्छन्। ठूलो चौरमा रन, विएफ डियर हिल, फस्र्टवाकलगायत कम्पनीका जुत्ताचप्पल प्रदर्शनीमा छन्। ठूलो चौरमा मेला लगाउनेहरूले कोभिडको असर सकिनासाथ सेल मेला गरे।

संघको पूर्व अध्यक्षसमेत रहेका शिखर सुजका रामकृष्ण प्रसाईँलाई भाडामा लिएको सानो चौर चार दिनअघि नै छाड्न बाद्य बनाएर ठूलो चौरमा मेला गरे। त्यसपछि उनीहरूले बैशाखमा मेला गरे। त्यसपछि सानो चौरमा ६,७ वटा कम्पनीले डेढ महिनाजति मेला गरे।

साउन १ महिना भृकुटीमण्डपको चौरले जुत्ता मेलाबाट बिश्राम पायो। उनीहरूले दशैं अघि एउटा समूहले भृकुटीमण्डपको सानो चौरमा मेला लगाउने घोषण गरेका थिए। त्यही अबसर पारेर संघका अध्यक्षलगायत पदाधिकारीले ठूलो चौरमा भदौ १ गतेबाटै मेला सुरु गरे।

भृकुटीमण्डपको ठूलो चौर २० गतेपछि फर्निचर एक्स्पोलगायतले बुक गरेका थिए। त्यही बुकिङमा पनि संघका पदाधिकारीले अनुनय–विनय गरेर स्टलहरू राखे। समाज कल्याण परिषद्ले फर्निचर एक्स्पोका आयोजकलाई किन अरुलाई ठूलो चौरको स्पेस अरुलाई नाफा खाएर बेचेको भनेर पत्र काट्यो।

त्यसपछि संघका पदाधिकारीहरूले आफ्नो स्टल छोपेर बसे। तैपनि उनीहरूले ठूलो चौर छाडेनन्। उनीहरू जसले स्पेस बुक गरे पनि आफ्नो लागि ठाउँ दिन अनुरोध गर्छन् र जुत्ताचप्पलको स्टल राखिहाल्छन्। अहिले त झन् ठूलो चौर पूरै ओगटेर संघ पक्षीय जुत्ता उत्पादकहरूले मेला गरिरहेका छन्। सानो चाँैरमा मेला लगाउनेहरू ठूलो चौरकै किनबेच भएको बताउँछन्।

सानो चौरमा मेला लगाउँदा विकृति भएको भन्नेहरूले त्यसकै १० मिटर पर संघका अध्यक्षलगायत पदाधिकारी आफैंले मेला लगाउनुमा नैतिक दम नभएको सानो चौरमा मेला लगाउनेहरू बताउँछन्।

असोज १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्