यतिको नयाँ विमानबाट आजदेखि व्यावसायिक उडान सुरु

काठमाडाैँ- निजी क्षेत्रको अग्रणी हवाई संस्था यति एयरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ। गत भदौ २० गते छैटौँ एटिआर ७२-५०० विमान थप गरेको यतिले आजदेखि व्यावसयिक उडान सुरु गरेको हो।

सो विमानलाई प्राधिकरणले नाइनएन–एएमजेट कल साइन दिएको छ। सत्तरी सिट क्षमताको उक्त विमान अष्ट्रेलियन कम्पनीसँग लिजमा ल्याएको हो।

एटिआर कम्पनीले उत्पादन गरेको ७२-५०० सिरिजको विमानमा यो सबैभन्दा पछिल्लो उत्पादन हो । कम्पनीले यो विमानपश्चात् थप एउटा मात्र विमान उत्पादन गरेर सो सिरिजको उत्पादन नै बन्द गरि ७२-६०० सिरिजका विमानहरुको उत्पादन सुरु गरेको हो।

नेपालमा ट्रङ्क रुटमा उडान गर्ने अन्य विमानभन्दा यो नै पछिल्लो र कम उडान भरेको विमान हो। विमानको आयु यसको साइकल र उडान घण्टामा आधारित हुन्छ।एटिआर विमानको साइकल ७० हजारभन्दा बढी हुन्छ। एक उडानलाई एक साइकल गणना गरिन्छ ।

उत्कृष्ट इन्टेरियर, लग्जरी सिटको साथै वातानुकुलित उक्त विमानको यात्रा अझ बढी आरामदायी हुने यति एयरलाइन्सले जनाएको छ।

सो एअरलाइन्सले हाल नेपालको सुगम गन्तव्य काठमाडौँ चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्जलगायत पर्वतीय उडानमा आफ्नो सेवा दिँदै आएको छ भने अन्तरास्ट्रियतर्फ चार्टर र नन सेड्युल उडान गर्दै आएको छ।

असोज १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्