आमाले चाहेको तर रश्मीले साट्न नपाएको त्यो खुसी (भिडियाे)

बुवा वैदेशिक रोजगारीका लागि कतार, आमा कुखरापालन गरेर दैनिक परिवारको गर्जो टार्न संघर्षरत। अनि संघर्षकै बीचमा आमाबुवाको सपना बनेकी जेठी छोरी स्थानीय क्लबमा फुटबल प्रशिक्षणमा।

महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर रश्मी कुमारी घिसिङका यी सुरुवाती दिनका कथा थिए। उनका सारथि आमा र बुवा जेनतेन परिवारलाई अघि बढाउँदै थिए। तर उनका अगाडि समय यति क्रुर बन्यो कि बुवाले बिरामीका कारण रोजगारी गुमाएर स्वेदश फर्किनुपर्‍याे।

त्यसको केही समयमा नै उनले आमालाई गुमाउनु पर्‍याे। ७ वर्षअघिका ती दिन किशोरी रश्मीका लागि अपत्यारिला थिए। आमाको निधनसँगै बुवा पनि पारिवारिक जिम्मेवारीबाट बिरक्तिए।

संघर्षरत रश्मीको हरेक पाइलामा ठेस लाग्यो। त्यो भयानक पारिवारिक पीडाअघि बुवाआमाले पढ्नमा उम्दा छोरीलाई फुटबलर भएको हेर्ने चाहनामा सुरुवाती दिनमा उनी जाँगरबिनै जेनतेन घिस्रिइन्।खुसीकाे कुरा जुन दिन उनलाई जाँगर चल्याे, त्यसपछि भने उनले फुटबल जीवनमा पछि फर्किनु परेको छैन।

‘सुरुवातका दिनमा म पढाइमा अब्बल थिँए तर बुवाआमाको जोड फुटबल खेलोस् भन्नेमा थियो’, रश्मी भन्छिन्, ‘बिस्तारै खेल्दै जाँदा एउटा सपना बन्यो। अब त चाहेर पनि फुटबल छोड्न सक्दिनँ।’

तर, बाहिरबाट जीवन जति सहज देखिन्छ भोगाइको तादम्यता कहाँ त्यसरी मिल्छ र? अनेक आरोहअवरोह भोगेर अघि बढ्दा रश्मीलाई आफूलेजस्तो दु:ख अरूले खेप्नु पर्दैनजस्तो लाग्छ।

आफूभन्दा साना भाइ-बहिनी अनि बुढेसकालमा सहाराको खोजीमा रहेका हजुरबुवासहितको परिवारलाई उनको स्याहार त्यतिबेला पर्‍याे जतिबेला उनले अकालमा नै आमालाई गुमाउनु पर्‍याे।

अकालमा नै आमाको निधनले विचलित परिवारबीच रश्मीले खुलेर रुनसमेत समय पाइनन्।

उनले दुखी हुँदै भनिन्, ‘एउटा राम्रो गार्जनसिप नहुँदा परिवार कसरी तहसनहस हुन्छ, त्यो मैले अनुभव गरेको छु। अब त बिस्तारै सबै कुरा ट्र्याकमा आउँदै छ।’

पारिवारिक व्यवहार त मिल्दै छ, आमाको निधनपछि विरक्तिएका बुवा विस्तारै परिवारको जिम्मेवारीमा फर्किँदै छन्। आमा बितेको ७ वर्ष भइसक्दा पनि बुवाले विवाह नगरी आफ्नै लागि पसिना बगाउन थालेको देख्दा रश्मीकाे आत्मविश्वास बढेर आउँछ। तर, आमाको अभावमा बनेको जीवनको खाडल पुर्ने मलम उनले भेट्टाउन भने सकेकी छैनन्।

अनेकन उतारचढाबका बाबजुत पनि रश्मी आफ्नो राष्ट्रिय टिमको सपनाका लागि दौडिन्, कुदिन् अनि धेरै पसिना बगाइन्। अमूल्य पसिना बगाउँदै सपना पछ्याउँदै गरेकी रश्मी अहिले राष्ट्रिय टिमकी महत्त्वपूर्ण खेलाडीका रूपमा सबैका सामु परिचित छिन्।

नेपालले भारतविरुद्धको इतिहास बनाउँदा देशका लागि उनले अमूल्य गोल गरिन्। तर, साफ जिताउने लक्ष्य भने टाढा बन्याे। यसमा रश्मीजस्तै धेरै खेलाडीको सपना पछि धकेलियो। सपना पछ्याउन एक्लै हैन, टिममा संघर्ष गर्नुपर्ने मत झनै बलियो भएको मान्छिन् उनी।

‘बंगलादेशको उपाधिका पछाडि उनीहरूको टिमले वर्षाैँसँगै बसेर मेहनत गरेको छ। तर, हामी सबै एकैठाम भएर अभ्यास त विरलै गर्छौँ। एक महिनाको समयमा छनोट भएर छोटो अभ्यासमा यति सफलता पाउनु  पनि त ठूलो कुरा होइन र?’ उनले भनिन्। उनको जायज प्रश्नको उतर कस्ले देला?

रश्मीले आफ्नो जीवनमा जे-जे भोगिन् ती विस्मृत सपनाका रूपमा भुल्न चाहन्छिन्। तर, पनि उनको जीवनका हरेक सफलता र असफलतामा तिनै दु:खका कहालीलाग्दा पहाड घाउ बल्झाउन आइहाल्छन्। अनि उनलाई पनि कहिलेकाहीँ फुटबल छोडौँजस्तो पनि लाग्छ, अनि कहिले फेरि फुटबल‍बाहेक बाँकी दुनियाँ पनि हुन्छ र? जस्तो  पनि लाग्छ।्

भारतविरुद्ध खेल्दै रश्मीकुमारी घिसिङ

आफ्ना अनेक घुम्तीमा एक्लो साक्षी रश्मी अहिले विभागीय टिम नेपाल आर्मीबाट  व्यावसायिक फुटबल खेलिरहेकी छन्। उनलाई आर्मीले सबै सुविधा दिन तयार छ। तर, उनी आफैँ भाइबहिनीको पढाइका लागि छुट्टै बसेकी छन्। अनि उनी सार्वजनिक बसको यात्राबाटै अभ्यासस्थल र कोठा चहार्छिन्। उनीसँग न त कुनै व्यक्तिगत सवारी छ,  न त कसैले उनलाई ड्रप नै गर्छन्। बिहानभरि अभ्यास गर्छिन् अनि ११, १२ बजेतिर लगनखेलबाट बसुन्धरा निस्किन्छिन्।

भाइबहिनी हुँदा त खाना उनीहरूले बनाएका हुन्छन्, नहुँदा उनी आफैँ दिउँसो खाना बनाउँछिन्। अनि खाएर घरको सम्झनामा झुम्छिन्। कहिले लाग्छ- परिवार साथीभाइ, छरछिमेकी सबैको मायाका बीचबाट भौतारिएर यो बिरानो सहरमा नबसौँ। तर, उनी अब परिवार र छरछिमेकीकी मात्र रश्मी रहिनन्। भारतविरुद्धको एतिहासिक गोलपछि अब उनी देशकी रश्मी भइन्। त्यसैले अब उनले चाहेर पनि धेरै कुरा उनको बहस बाहिर पुगेको छ। त्यसले रश्मी आगामी दिनमा झनै लगाव दिएर मैदानमा उत्रने प्रण गर्छिन्।

रश्मीलाई आफ्ना दु:खका कथाहरू भनेर र सुनाएर पनि केही फरक पर्छजस्तो लाग्दैन। तर, एउटै गुनासोले उनलाई छोड्दैन- आमाले देख्न चाहेको फुटबलर ।  भरिभराउ रंगशालामा ऐतिहासिक जितका लागि नायक बनेकी रश्मीको खुसीमा आमा रमाउन पाइनन्। तर उनले आफ्नो आमाको आशीर्वादले नेपाल आमाको मुहारमा खुसी ल्याइन्।

आमाको सपनाको गोरेटोलाई रश्मिले बाटो बनाइन् तर ३५ वर्षमानै स्वर्गबास भएकी आमाको झझल्कोले उनलाई बेला(बेला अवाक् बनाउँछ। एकान्तमा आँशु बगाउँछिन्। टाइफाइड विग्रिएर बचाउन नसकेकी आमाको राम्रो नुनपनि बार्न नपाएको गुनासो जिवनले कहिले सम्म गर्ने हो उनलाईपनि थाहा छैन्। तर मैदानमा उनी आफ्नो बोल्ड छवि कायम राख्छिन्।

साफ महिला च्याम्पियनसिपको इतिहासमा नै पहिलो पटक भारतलाई पराजित गर्दा रश्मीले गरेको गोलमा उनले आमाले गरेको त्यागलाई जस दिन्छिन्। अनि अनेक विफलताकाबीच स्थानीय स्तरमा हौसला बढाउने गुरुहरू सम्झिर‍हन्छिन्। उनी आफ्ना गुरु चित्रकुमार दर्लामीको नाम नछुटोस् भन्ने चाहन्छिन्। आमा बितेपछि बुटको जोहा तिनै गुरुहरूले गरे, चित्रसँगै बाबुराम दाहालले पनि उनको जीवनको संघर्षमा होस्टेमा हैसे गरे।

अहिले पनि उनको परिवारको जिम्मेवारी उनको काँधमा सबैभन्दा माथि छ। एक दाजु र दुई भाइबहिनीको बीचमा रहेकी रश्मी परिवारको सपनालाई पनि सँगै हिडाँउँदैछिन्। दाजुले ट्रक चलाएर जेनतेन परिवार चलाउँदै छन्। अनि रश्मी काठमाडौँमा ल्याएर भाइबहिनीलाई पढाउँदै छिन्।

उनी आफू पनि ११ मा पढ्दैछिन्। ‘अभाव त धेरै छ तर मनले चाह्यो भने पुरा हुन्छ। अब बहिनीलाई १२ पढाएर क्यानडा पठाउने सपना छ। उसको पढाइ पनि राम्रो छ। उसले त मैलेभन्दा बढी दु:ख गरी। बिचरा ९ वर्षदेखि किचन सम्हाल्दै अध्ययन गरेकी हो। खास मेरो प्रेरणा पनि बहिनी नै हो।’

विस्तारै समालिएको परिवार अनि रश्मीले दिलाएको खुसीबीच यो पटकको दशैँमा उनी ८५ वर्ष पुरा भएका हजुरबुवासँगै मनाउने सोचमा थिइन्। तर उनको पारिवारिक मिलनमा यो पटक नवौँ राष्ट्रिय खेल बाधक बन्यो। अर्थात् आगामी २८ असोजबाट पोखरामा सुरु हुन लागेको राष्ट्रिय खेलकुदका लागि विभागीय आर्मीको तयारीमा उनी अहिले मैदानमा खटेकी छिन्।

त्यसैले यो पटकको दशैँमा उनी परिवारसँग हुने छैनिन्। केही दिनअघि मात्र घर पुग्दै गर्दा हजुरबुवाले उनलाई ‘दशैँमा आऊ है छुट्टी लिएर’ भनेका थिए। जतिबेला उनको मन भरियो। नाजवाफ भइन् किनकि उनीसँग पहिले जिम्मेवारी अनिमात्र दशैँ थियो।

यो पटक नवौँ राष्ट्रिय खेलकुदको तयारीले गर्दा उनी काठमाडौामै रहन्छिन्। भाइबहिनीलाई घरपठाइसकेकी रश्मीको लागि दशैँ झनै निरस हुने छ। आर्मी मैदान लगनखेलमा भएको कडा मिहिनेतपछि दिउँसो थाकेको शरीरमा खाना बनाएर दशैँ मान्नुको पीडादायी अनुभव उनले सँगाल्ने छिन्।

तर, यो पटक नवौँ राष्ट्रिय खेलकुदमा आर्मीलाई स्वर्ण दिलाउने प्रयासमा उनले सबथोक भुलेर आफूप्रति आर्मीले देखाएको विश्वासलाई बलियो प्रमाणित गर्न लाग्नेछिन्।

‘आर्मीमा कन्ट्र्याकमा छु, अब यही क्लबमा पर्मानेन्ट हुन्छु होला। उमेर नपुगेर पहिला हुन सकिनँ। सायद अब सरहरूले प्रक्रिया अघि बढाउनु हुन्छ होला’, रश्मीले भनिन्।

उनको विश्वासले सार्थक्ता पाउला नपाउला तर १९ वर्षको उमेरमा नै अनुभवले पाकेकी रश्मी नेपाली महिला फुटबलले पाएको उम्दा प्रतिभा हो।  आफ्नो सोही प्रतिभा निखार्न व्यक्तिगत खुसी त्यागेकी रश्मीका लागि आगामी दिन चुनौतीसँगै अवसरका रूपमा सधैा रहिरहने पक्का छ।

असोज १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्