युक्रेनले द्रूत मार्गबाट नेटो सदस्य बन्न निवेदन दिने जेलेन्स्कीको घोषणा

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले नेटो सैन्य गठबन्धनको सदस्यताका लागि औचारिक रुपमा निवेदन दिने बताएका छन् ।

रुसले युक्रेनका चार क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेसँगै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले नेटो सदस्य बन्नका लागि द्रूत मार्ग अपनाउने बताएका हुन् ।

द्रूत मार्ग मार्फत नेटोको सदस्य बन्नका लागि औपचारिक रुपमा निवेदन दिने जेलेन्स्कीले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको हो ।

यस्तै जेलेन्स्कीले आफ्नो देश रुससँग वार्ताका लागि तयार रहेको तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने वार्ता नगर्ने बताएका छन् ।

रुसले सधैँ युक्रेन नेटोको सदस्य नबनोस् भन्ने चाहँदै आएको छ र त्यसका लागि उसले वार्तामा शर्त नै राख्दै आएको थियो ।

रुसले बिना लाज इतिहासको पुनर्लेखन गरिरहेको तथा हत्या, दुर्व्यवहार तथा ब्याल्यकमेलसहितको सहारामा सीमा रेखा निर्धारण गरेको जेलेन्स्कीले बताएका छन् ।

किएभले कुनै पनि हालतमा यसलाई स्वीकार नगर्ने र त्यस्तो हुन पनि नदिने उनले बताए । यसअघि शुक्रबार नै पुटिनले युक्रेनका चार क्षेत्र रुसमा गाभिएको घोषणा गर्दै अब ती रुसी भूभाग रहेको बताएका थिए ।

नेटो सदस्य बनेको अवस्थामा सो संगठनमा आवद्ध देशका सैनिकले युक्रेनलाई युद्धमा साथ दिन सक्ने छन् । सो अवस्था रुस चाहँदैन ।

असोज १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्