युक्रेन युद्ध : ध्वस्त सवारीमा कम्तीमा २० जना सर्वसाधारणको शव फेला

सामूहिक रुपमा यात्रा गरिरहेका सर्वसाधारणलाई लक्षित गरेर भएको आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको युक्रेनी अधिकारीले बताएका छन् ।

खार्किभ ओब्लास्टको कुपिएन्स्कमा शहर नजिकै कारमा कम्तीमा २० जना सर्वसाधारणको शव अधिकारीहरुले फेला पारेको युक्रेनको सञ्चारमाध्यम द किएभ इन्डिपेन्डेन्टले उल्लेख गरेको छ ।

रुसी सैनिकको पहुँचबाट भाग्ने क्रममा उनीहरुमाथि आक्रमण भएको हुन सक्ने खार्किभका गभर्नर ओलेह सिनिएहुबोभले बताएका छन् । ६ वटा कार गोलीका प्वाल तथा जलेको अवस्थामा भेटिएको र त्यहाँ सर्वसाधारणको शव अलपत्र अवस्थामा पाइएको स्थानीय अधिकारीले बताएका छन् ।

युक्रेनी सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा एकजना बच्चा पनि छन् । युक्रेनी अधिकारीले घटनालाई आमहत्या भन्दै सो क्रुरताको कुनै पनि ‘जस्टिफिकेशन’ नरहेको बताएका छन् । तर रुसले पूर्वी युक्रेनमा नियुक्त गरेका अधिकारीले भने युक्रेनमाथि नै आक्रमण गरेको आरोप लगाएका छन् ।

यसअघि जापोरिजझियामा सामूहिक रुपमा यात्रा गरिरहेका सर्वसाधारणका सवारीमा शुक्रबार रुसले मिसाइल प्रहार गर्दा कम्तीमा ३० जनाको ज्यान गएको थियो । अरु ८८ जना घाइते भएका थिए ।

असोज १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्