टोटेनह्यामलाई हराउँदै आर्सनल शीर्ष स्थानमा, केनको रेकर्ड  

काठमाडाैँ – इंग्लिस प्रिमियर लिगमा आर्सनलले आफ्नो शिर्षता कायम राखेको छ। लन्डन डर्वि भिडन्तमा आर्सनल घरेलु दर्शकसामु इमिरेट्स स्टेडियममा टोटनह्याममाथि ३-१ को प्रभावशाली जित निकाल्यो।

जारी सिजन सुरुवातबाटै उत्कृष्ट लयमा रहेको आर्सनलले लिगमा ८ खेलबाट २१ अङ्क बनाउँदै आफ्नो दबदबा कायम राखेको हो। माइकल आर्टेटाको आर्सनलले पहिलो हाफमा १-१ को बराबरी खेलेपनि दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको टोटेनह्याम विरुद्ध ३ गोल गरेको थियो। 

२० औ मिनेटमा नै थोमस पार्टेइले आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। उनले करिब २५ यार्डबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो।

तर पहिलो हाफमानै टोटेनह्यामलाई खेलमा फर्काउने क्रममा ह्यारी केनले ३१ औ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल गरेका थिए। गाब्रियलले रिचार्लीसनलाई फल गरेपछि पाएको पेनाल्टीलाई केनले सदुपयोग गरेका थिए। केनले १८ डर्वि भिडन्तमा १४ औ गोल सम्भव बनाएका थिए। केनले प्रिमियर लिगमा अवे मैदानमा एक सयौँ गोल समेत पुरा गरे।

तर दोस्रो हाफमा गाब्रियल जेससले आर्सनलको अग्रता दोब्बर बनाए। ४९ औ मिनेटमा जेससले गोल गरेका थिए। तर ६२ औ मिनेटमा एमरसन रोयल गाब्रियल मार्टिनेलीलाई फल गर्न पुगेपछि रातो कार्ड पाएर मैदानबाट बाहिरिँदा टोटेनह्याम १० खेलाडीमा सीमित भएको थियो। लगतै ग्रानिट सक्काले ६७ औ मिनेटमा आर्सनलका लागि तेस्रो गोल गर्दै टिमको जित निश्चित गरेका थिए। जितसँगै आर्सनलले ८ खेलबाट ७ जितसहित २१ अंक बनाएको छ। एक खेल कम खेलेको सिटीको १७ अङ्क रहेको छ।

असोज १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्