सर्लाहीमा दुई पक्षबीच कौडी उठाउने विषयमा विवाद हुँदा झडप

जनकपुरधाम– सर्लाही बजारमा कौडी उठाउने विषयलाई दुई पक्षबीच विवाद हुँदा झडप भएको छ। शनिवार दिउँसो नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा केहीजना घाइते भएका छन्।

हरिवन नगरपालिका–११, स्थित पाडा बजारमा भएको झडप नियन्त्रण गर्न प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए।

प्रहरी प्रवक्ता यादवले केही दिन अघि नगरपालिकाले माछा बजार ठेक्का लगाउँदा कौडी उठाउने विषयलाई लिएर विवाद भएको बताए।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको उनले बताए। उनका अनुसार सो स्थानमा अहिले पनि प्रहरी परिचालन रहेका छन् भने अवस्था सामान्य भएको छ। घाइतेको यकित तथ्यांक अहिले नआएको प्रहरीले जनाएका छन्।

झडपको घटनामा संलग्न एक जनालाई नियन्त्रणमा समेत लिइएको प्रहरी नायव उपरीक्षक यादवले बताए।

असोज १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्