लेवान्डोस्कीको गोलमा बार्सिलोना अपराजित

स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले आफ्नो अपराजित यात्रा जारी राखेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले मोलोर्कालाई १-० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो।

अब बार्सिलोना कम्तिमा रियलको खेल अघिसम्म लिग अंक तालिकाको शीर्ष स्थानमा रहने छ। रियलले आइतबार ओसासुनासँग आफ्नै मैदानमा प्रतिस्पर्धा गर्दै छ।

बार्सिलोनाको जितमा पहिलो हाफमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले २०औँ मिनेटमा अन्सु फातीको पासमा गरेको एकमात्र गोल निर्णायक भएको थियो।

जितसँगै शीर्षस्थानमा उक्लिएको बार्सिलोनाको ७ खेलबाट १९ अंक जोडेको छ। एक खेल कम खेलेको रियल म्याड्रिडको १८ अंक छ। पराजित मलोर्का ८ अंक जोडेर १०औँ स्थानमा छ।

ला लिगाकै अर्को खेलमा एट्लेटिको म्याड्रिडले सेभियालाई २-० ले पराजित गर्दा एट्लेटिकोको जितमा मार्कोस लोरेन्टे र अल्भारो मोराटाले गोल गरेका थिए। जितसँगै एट्लेटिको ७ खेलबाट १३ अंक जोडेर पाँचौँ स्थानमा उक्लिएको छ। सेभिया ५ अंक जोडेर १६औँ स्थानमा रहेको छ।

असोज १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्