त्रुटि सच्याउने अन्तिम दिनसम्म पनि सल्टिएन कांग्रेसको समानुपातिक ‘सकस’

काठमाडौँ – नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीको त्रुटि सच्याउने अन्तिम दिनसम्म पनि सहमति जुटाउन सकेको छैन। गएराति अवेरसम्म छलफल गर्दा पनि कुरा मिल्न नसकेपछि बिहानैदेखि सहमति जुटाउने प्रयास भइरहेको छ।

हिजो शनिबार बिहानदेखि नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका थिए। तर रातभर छलफल गर्दा पनि सहमतिमा पुग्न नसकेपछि बिहानैदेखि बैठक बसेको छ।

निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूची सच्याउने आज आइतबार अन्तिम दिन हो । निर्वाचन आयोगको तालिका अनुसार समानुपातिकको बन्दसूची संशोधन गर्ने मिति असोज १० गतेदेखि असोज १६ गते साँझ ५ बजेसम्म छ । आयोगले उक्त सूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा असोज १७ गतेको मिति तोकेको छ ।

संस्थापन इतर समूहका नेता डा. शेखर कोइराला पक्षले बन्दसूचीमा ४० प्रतिशत सहभागिता हुनुपर्ने माग गर्दै दबाव सिर्जना गरेपछि सस्थापन समूह थप अप्ठेरोमा परेको छ।

यसअघि कांग्रेसले बुझाएको १०९ जनाको बन्दसूचीमा कोइराला पक्षका १३ जनामात्र परेका थिए । १३ जनालाई कम प्राथमिकता दिएर पुछारतिर राखिएपछि कोइराला पक्ष रुष्ट छ ।

न्यायोचित तवर समानुपातिकको सूची सच्याएको खण्डमा ३५ प्रतिशतमा पनि चित्त बुझाउने इतर समूहका नेता गुरुराज घिमिरेले बताएका छन्।

सस्थापन समूहले भने इतर समूहले बढि बखेडा झिकेको भन्दै प्राथमिकता दिन तयार नखेदिँदा समस्या भएको हो।

आफूहरुको सम्मानजनक सहभागिता नभए गठबन्धनको उम्मेदवारविरुद्ध उत्रिने चेतावनी कोइराला पक्षका नेताहरुले दिएका छन्।

त्रुटि सच्चिएको नसच्चिएको हेरेर सोहि अनुरुप आगामी रणनीति तय गर्ने शेखर समूहले जनाएको छ।

 

असोज १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्