नेपालमा कोभिड प्यान्डेमिकको एक झलकःसाप्ताहिक विश्लेषण

‘दैनिक संक्रमण दर ५% भन्दा कम, प्यान्डेमिक नियन्त्रित हुँदै गएकाे लक्षण’

कोरोना प्यान्डेमिकको वर्तमान परिप्रेक्षमा विश्वबाट कोरोना संक्रमण र यसको प्रभाव लगभग हरायो भन्दै गर्दा अहिले पनि यसको आतंक विश्वमा जारी नै देखिन्छ।

चीनबाट सुरु भएपछि प्यान्डेमिकको सुरुवाती अवस्थामा कोरोना संक्रमण बढाउनमा युरोप र त्यसपछि अमेरिकाले सबैभन्दा धेरै योगदान पुर्‍याये। त्यसबेला त्यहाँका अत्यधिक जनताले कोरोना संक्रमण र त्यसको जोखिमको ठूलो सामना गर्नु पर्‍याे।

त्यतिबेला मात्रै नभएर हालसम्म पनि युरोप र अमेरिकामा प्यान्डेमिकको असर विश्वमै अत्यधिक देखिन्छ। पछिल्लो अवस्थामा हाल पनि अमेरिकामा दैनिक करिब ३०००० भन्दा धेरै संक्रमण र २०० भन्दा धेरै कोरोना मृत्यु भइरहेको छ। त्यस्तै युरोपमा एक महिनादेखि कोरोना संक्रमणमा फेरि वृद्धि हुँदै गई हाल जर्मनी र फ्रान्समा कोरोना संक्रमण र यसको मृत्यु निकै बढेको छ। हाल जर्मनीमा दैनिक ७००००-१००००० नयाँ संक्रमण र १००-१५० नयाँ मृत्यु देखिने गरेको छ। त्यस्तै फ्रान्समा हाल दैनिक करिब ५०००० नयाँ संक्रमण र ३० भन्दा धेरै नया मृत्यु देखिने गरेको छ।

हालसम्मको प्यान्डेमिक कालको पूर्वार्धसम्म झन्डै शान्त रहेको वेस्टर्न प्यासिफिक क्षेत्र उत्तरार्धमा निकै अशान्त रह्यो कोरोना संक्रमणको हिसाबले। वेस्टर्न प्यासिफिक क्षेत्र भन्नाले जापान, कोरिया, ताइवान, चीनको पूर्वी भागदेखि दक्षिण तर्फ अस्ट्रेलियासम्मका देशहरु पर्दछन्।  सन् २०२१ को मध्येदेखि कोरोना संक्रमण सुस्त बढ्न खोजेको यस क्षेत्र सन् २०२२ को सुरुवातिसँगै कोरोना संक्रमणले निकै प्रभावित बन्यो। हाल पनि यस क्षेत्रका जापान, कोरिया, ताइवान आदि देशमा कोरोना संक्रमण अत्यधिक देखापरिरहेको छ।

हाल जापानमा दैनिक नया कोरोना संक्रमण करिब ३००००-४०००० र कोरोना मृत्यु १०० भन्दा धेरै छ। कोरियामा पनि दैनिक नयाँ संक्रमण करिब ३०००० भन्दा धेरै  र मृत्यु करिब ३० भन्दा धेरै देखापरिरहेको छ।

दक्षिण एसिया पनि कोरोना प्यान्डेमिक कालमा निकै नराम्ररी प्रभावित भयो। विशेष गरी सन् २०२०को मध्यदेखि २०२१को अन्त्यसम्म यहाँ ठुल्ठूला प्यान्डेमिक लहरहरु आए जसले त्यतिबेला विश्वकै अत्यधिक जनसंख्यामा संक्रमण गरायो र ज्यान पनि लियो। पछिल्लो अवस्थामा विशेष गरी सन् २०२२ को सुरुवातिसँगै यस क्षेत्र कोरोना संक्रमणको हिसाबले निकै शान्त देखिन्छ।

यसै सेरोफेरोमा नेपालर विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उधृत गरिएका तथ्यांक विभिन्न श्रोतबाट लिइएका हुन् जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, ओर्लडोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC)आदि ।

यसलेखकोउद्ध्यश्यकोरोनासम्बन्धीतथ्यांकलाईसहिरुपमापस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर् याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण घट्दै गएको देखिन्छ। हाल दक्षिण एसियामा दैनिक कोरोना संक्रमण न्यून छ र पछिल्लो समय यो केही स्थिर देखिएको छ। दक्षिण एसियाको पछिल्लो दुई महिना, सन्२०२२ अगस्ट १० देखिसेप्टेम्बर २८ (५० दिन) को कोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र न. १ मा देखाइएको छ।

पछिल्लो अवस्थामा दक्षिण एसियामा कोरोना संक्रमण क्रमसः घट्दै गई दैनिक संक्रमण स्थिर देखिन्छ। पछिल्लो एक महिनादेखि दक्षिण एसियामा समग्रमा दैनिक करिब ६०००-७०००संक्रमण देखिने गरेको छ। पछिल्लो समय दक्षिण एसियाका अधिकांश देशमा दैनिक कोरोना संक्रमण घट्दै गएको छ।

त्यस्तै दक्षिण एसियामापछिल्लो समय दैनिक मृत्यु पनि क्रमशः घट्दै गएको छ। पछिल्लो समय यो केही स्थिर देखिएको छ। पछिल्लो एक महिनादेखि दक्षिण एसियामा समग्रमा दैनिक करिब ३०-३५ मृत्यु देखिने गरेको छ।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ सेप्टेम्बर २५ देखि अक्टोबर १ (बि.सं २०७९ आश्विन ९ देखि १५) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रबृत्ति चित्र न.२ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, आश्विन १५ गते शनिबारसम्म, देशभरि जम्मा २२४ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ९९९७५९ पुगेको छ। अघिल्लो साता साप्ताहिक कुल संक्रमण ३१९ थियो।

यसरी नेपालमा गत जुलाई महिनाको मध्यदेखि बढ्दै गएको कोरोना संक्रमण अगस्ट महिनाको पहिलो सातातिर उच्च बिन्दुमा पुगी करिब डेढ महिनाभन्दा लामो समयदेखि नेपालमा कोरोना संक्रमण क्रमशः घट्दै गएको छ।

त्यसैगरी नेपालमा कोरोना मृत्यु पनि घट्दै गएको छ। गत हप्ता साताभरिको कोरोना मृत्यु १ पुगेको छ जुन दुई हप्ताअघि पनि १ थियो। यसरी हालसम्मको देशको जम्मा कोरोना मृत्यु१२०१८ पुगेको छ।

गत हप्ता जम्मा ७८८३ पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि१११२७थियो।

गत हप्ता देशको कुल संक्रमण संख्या मध्ये काठमाडौँ उपत्यकामा५८.०६%संक्रमण देखियो जुन दुई हप्ताअघि५०.४३%थियो।

नेपालको दैनिक संक्रमण (पोजिटिभिटी) दर (Positivity Rate) 

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न.३ ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर र नयाँ संक्रमण प्रबृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम १.९१% देखि अधिकतम ४.७३% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर २.८४% रह्यो जुन दुई हप्ताअघि २.९६% थियो। नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएको देखिएको छ।

संक्षेपमा, पछिल्लो समय विश्व र दक्षिण एसियाको समग्र  दैनिक कोरोना संक्रमणमा करिब एक महिनादेखि कमी देखिँदै आएको छ। दैनिक कोरोना मृत्युको प्रबृत्ति पनि पछिल्लो समय घट्दै गएको देखिन्छ।

तर, हाल युरोपका केही देशमा फेरि कोरोना संक्रमण र कोरोना मृत्यु दुवै बढ्न खोजेको देखिन्छ। त्यस्तै जापान र कोरियामा हाल पनि कोरोना संक्रमण थान्को लाग्न सकेको छैन र यसको आतंक जारी नै देखिन्छ। प्यान्डेमिक सुरु भएको यति लामो समयपछि र कोरोना भ्याक्सिनले पनि यति धेरै ब्यापकता पाइसकेपछि पनि अति विकसित देशमा कोरोना संक्रमण पूर्ण नियन्त्रणमा आउन नसक्नु प्यान्डेमिकको असली रुप हो।

नेपालमा पनि गत हप्ता, बि.सं २०७९ आश्विन ९ देखि १५, साप्ताहिक नया कोरोना संक्रमण र संक्रमण दरमा निकै कमी आएको देखिन्छ। गत हप्ता, माथि उल्लेख गरिएजस्तै, साप्ताहिक कुल कोरोना संक्रमण संख्या घटेको छ भने साप्ताहिक औसत संक्रमण दरमा पनि कमी आएको छ। त्यस्तै साप्ताहिक कोरोना मृत्यु पनि घटेको छ।

स्मरण रहोस् WHO का अनुसार दैनिक संक्रमण दर ५% भन्दा कम हुनु प्यान्डेमिक नियन्त्रित हुनुको लक्षण हो ।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती साबित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने,  मास्क लगाउने,  हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुराहरु कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

असोज १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्