त्रुटि सच्याउने समय सकिँदासमेत कांग्रेसको सकस बाँकी,निर्वाचन आयोगमै पार्टीको बैठक

काठमाडौँ– समानुपातिकतर्फको बन्दसूचीको त्रुटि सच्याउने अन्तिम समयसम्म पनि सहमति नजुटेपछि कांग्रेसले निर्वाचन आयोगको कार्यलयमा पुगेर छलफल गरिरहेको छ।

जमल कान्तिपथस्थित आयोगको कार्यलयमा गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँड पार्टी उपसभापति पूर्ण बहादुर खड्का लगायत नेताहरु आयोगमा छलफलमा व्यस्त छन्।

आइतबार दिनभर पार्टी केन्द्रीय कार्यलय सानेपा र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्दा पनि सहमति नजुटेपछि त्रुटि सच्याउने अन्तिम समयमा आयोगको कार्यालयमा पुगेर छलफल गरिरहेका छन्।

गएराति अवेरसम्म छलफल गर्दा पनि कुरा मिल्न नसकेपछि बिहानैदेखि सहमति जुटाउने प्रयास भएको थियो। हिजो शनिबार बिहानदेखि नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका थिए। तर रातभर छलफल गर्दा पनि सहमतिमा पुग्न नसकेपछि बिहानैदेखि बैठक बस्दा पनि सहमतिको बिन्दु भेटिएको छैन।

निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूची सच्याउने आज आइतबार अन्तिम दिन हो। त्रुटि सच्याउन आइतबार बेलुका ५ बजेसम्मको समय तोकिएपनि ६ बज्दासम्म पनि छलफल जारी छ।

निर्वाचन आयोगको तालिका अनुसार समानुपातिकको बन्दसूची संशोधन गर्ने मिति असोज १० गतेदेखि असोज १६ गते साँझ ५ बजेसम्म छ।
आयोगले उक्त सूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा असोज १७ गतेको मिति तोकेको छ ।

संस्थापन इतर समूहका नेता डा. शेखर कोइराला पक्षले बन्दसूचीमा ४० प्रतिशत सहभागिता हुनुपर्ने माग गर्दै दबाव सिर्जना गरेपछि सस्थापन समूह थप अप्ठेरोमा परेको छ।

यसअघि कांग्रेसले बुझाएको १०९ जनाको बन्दसूचीमा कोइराला पक्षका १३ जनामात्र परेका थिए । १३ जनालाई कम प्राथमिकता दिएर पुछारतिर राखिएपछि कोइराला पक्ष रुष्ट छ ।

न्यायोचित तवर समानुपातिकको सूची सच्याएको खण्डमा ३५ प्रतिशतमा पनि चित्त बुझाउने इतर समूहका नेता गुरुराज घिमिरेले बताएका छन्।

संस्थापन समूहले भने इतर समूहले बढि बखेडा झिकेको भन्दै प्राथमिकता दिन तयार नखेदिँदा समस्या भएको हो। आफूहरुको सम्मानजनक सहभागिता नभए गठबन्धनको उम्मेदवारविरुद्ध उत्रिने चेतावनी कोइराला पक्षका नेताहरुले दिएका छन्। त्रुटि सच्चिएको नसच्चिएको हेरेर सोहि अनुरुप आगामी रणनीति तय गर्ने शेखर समूहले जनाएको छ।

समानुपातिकको बन्द सूचीमा नाम नपरेको भन्दै केहि मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिश गुप्ताले पदबाट राजिनामा दिएका छन्।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा र गृहमन्त्री खाँणकी पत्नी मन्जुको नाम समानुपातिकमा प्राथमिकताको साथ राखेको भन्दै इतर समूहले विरोध गरेपछि राणा र खाँणको नाम पुछारमा सारिएको स्रोतले बताएको छ।

असोज १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्