स्वयम्भूनाथमा भयाे हिलारी नेल्सनको अन्त्येष्टि

हिलारी नेल्सन । तस्बिर : जिम मोरिसनको इन्स्टाग्राम

काठमाडौँ – कीर्तिमानी आरोही तथा साहासिक पर्वतीय स्की खेलाडी हिलारी नेल्सनको अन्तिम संस्कार काठमाडौँमो स्वयम्भूनाथमा भएको छ । परिवारका सदस्यको उपस्थितिमा आइतबार अराहन्न बुद्धिष्ट परम्परा अनुसार नेल्सनको अन्तिम संस्कार भएको हो ।

‘हिमाली क्षेत्रको संस्कार अनुसार परिवारको आग्रह र उपस्थितमा उहाँको अन्तिम संस्कार स्वयम्भूनाथ क्षेत्रमा गरिएको हो’, उनको हिमाल आरोहण यात्राको व्यवस्थापन गरेको काठमाडौँस्थित शांग्रिला नेपाल ट्रेकका प्रवन्ध निर्देशक जीवन घिमिरेले बताए।

नेल्सन गत सोमबार बिहान मनास्लु हिमालमा बेपत्ता भएकी थिइन् । नेल्सनको शव बुधबार बिहान भेटिएको थियो । शव काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो । उनका दाइ स्टान, पार्टनर जिम मोरिसन, साथीहरुको उपस्थितिमा अन्तिम संस्कार भएको हो । शेर्पा साथीहरु तथा बुद्धिस्ट लामाको उपस्थितमा अन्तिम संस्कार भएको घिमिरेले जानकारी दिए ।

पार्टनर जिमले हिलारीको चिताको खरानी लिएर आफू कोलोराडोको टेल्युराइड जाने जानकारी दिएका छन् । त्यहाँ हिलारीका १२ र १४ वर्षका दुई छोरा छन् । नेल्सन आफ्ना पार्टनर जिम मोरिसनसँग मनास्लुमा स्की गरिरहेकी थिइन्। जिम उनीभन्दा केही मिनेट मात्रै अघि थिए, उनी सकुशल आधार शिविर फर्किन सफल भएका थिए। तर नेल्सन भने बेपत्ता भएकी थिइन्।

नेल्सनले नेपाल, भारत, म्यानमारसहित देशका हिमालमा आरोहण तथा स्की गरेर कीर्तिमान कायम गरेकी छन्। ४९ वर्षकी उनी ८ हजार मिटर माथिका दुई हिमाल सगरमाथा र ल्होत्से २४ घण्टाभित्र आरोहण गर्ने पहिलो महिला हुन्। यस्तै विश्वको चौथो अग्लो हिमाल ल्होत्सबाट स्की गर्दै तल झर्ने उनी पहिलो महिला आरोही तथा साहासिक खेलाडी हुन्। उनले यो कीर्तिमान सन् २०१८ मा पार्टनर जिमसँग स्की गर्दै ओर्लेर बनाएकी हुन्।

 

View this post on Instagram

 

A post shared by Jim Morrison (@jimwmorrison)

उनलाई सन् २०१८ मै नेशनल जिओग्राफीले वर्षको साहासी व्यक्तिका रुपमा सम्मानित गरेको थियो। यस्तै उनी द नर्थ फेस एथ्लेट टिमकी कप्तान घोषित भएकी थिइन्, त्यही वर्ष।

नेपालका हिमाल चटेर मुख्य कीर्तिमान बनाएकी उनले नेपालमा सामाजिक कार्यका लागि विभिन्न समयमा सहयोग जुटाएको पनि घिमिरेले बताए।

असोज १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्