ब्राजिलमा नयाँ राष्ट्रपतिका लागि मतदान हुँदै, बोल्सोनारो र लुला प्रतिस्पर्धामा

Luiz Inacio Lula da Silva, Jair Bolsonaro. AFP via Getty Images

ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भइरहेको छ। मतदाताले वर्तमान राष्ट्रपति जायर बोल्सोनारो र पूर्वराष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भामध्ये एकलाई भावी राष्ट्रपतिका रुपमा चयन गर्ने छन् ।

यो चुनावले ब्राजिलको राजनीतिक मार्ग दक्षिणपन्थबाट वामपन्थ तर्फ जान सक्ने सम्भावना छ । दक्षिणपन्थी नेता बोल्सोनारो दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

मतदानका लागि योग्य रहेका ब्राजिलका १५६ मिलियन नागरिकलाई मत खसाल्नु अनिवार्य छ । मतदानपछि उम्मेदवार लुलाले आफ्नो चाहना ‘देशलाई पुनः सामान्य अवस्थामा फर्काउनु’ रहेको बताए ।

विद्युतीय मतदान प्रणालीमाथि प्रश्न गर्दै आएका बोल्सोनारोले भने ‘पारदर्शी’ चुनाव हुनु पर्ने बताए।

आफू पराजित भएमा नतिजा स्वीकार गर्ने या नगर्ने भन्ने सम्बन्धमा पत्रकारले सोधेको प्रश्नको बोल्सोनारोले स्पष्ट जवाफ नदिएको समाचार संस्था एएफपीले जनाएको छ । मतदान अन्त्य भएको केही घण्टा भित्रै नतिजा आउने आपेक्षा छ ।

७६ वर्षका लुला उनी फलाम खानीका पूर्वकामदार हुन् । उनी सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति थिए । उनलाई सन् २०१८ मा जेल चलान गरिएको थियो र तर पछि उनीमाथिको आरोप हटाइएको थियो । जेलमा भएका कारण उनी सन् २०१८ मा चुनाव लड्न पाएका थिएनन् ।

६७ वर्षका बोल्सोनारो सेनाका पूर्व क्याप्टेन हुन् । उनले ब्राजिलको विद्युतीय मतदान प्रणालीमाथि शंका व्यक्त गर्दै आएका छन्, तर त्यसका आधार भने दिने गरेका छैनन् ।

असोज १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्