ब्राजिलमा राष्ट्रपति चुनाव दोस्रो चरणमा प्रवेश, बोल्सोनारो र लुलाले ५० प्रतिशत मत पाएनन्

ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ।

आइतबार भएको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणमा मतदान हुने भएको ब्राजिलका निर्वाचन अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

वर्तमान राष्ट्रपति जायर बोल्सोनारोले अपेक्षा गरिए भन्दा राम्रो मत ल्याएपछि पहिलो चरणमै जित हाँसिल गर्ने वामपन्थी नेता लुइज इनासिओ लुला डा सिल्भा लक्ष्य पूरा भएन ।

९५ प्रतिशत मत गणना हुँदा पूर्वराष्ट्रपति लुलाले ४७.६ प्रतिशत मतसहित अग्रता लिएका छन् । यस्तै वर्तमान राष्ट्रपति बोल्सोनारोले ४३.९ प्रतिशत मत पाएका छन् । दोस्रो चरणको मतदान अक्टोबर ३० मा हुनेछ ।

अधिकांश मत सर्वेक्षणहरुले लुलालाई बोल्सोनारो भन्दा १० देखि १५ प्रतिशत मतले अघि देखाएका थिए । तर निकै कडा प्रतिस्पर्धाले ध्रुविकृत ब्राजिलियन राजनीतिमा स्थिरता पर देखिएको हो । ब्राजिललाई विश्वको चाथौ ठूलो प्रजातान्त्रिक देश मानिन्छ ।

यो चुनावले ब्राजिलको राजनीतिक मार्ग दक्षिणपन्थबाट वामपन्थ तर्फ जान सक्ने सम्भावना थियो । दक्षिणपन्थी नेता बोल्सोनारो दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

मतदानका लागि योग्य रहेका ब्राजिलका १५६ मिलियन नागरिकलाई मत खसाल्नु अनिवार्य छ । मतदानपछि उम्मेदवार लुलाले आफ्नो चाहना ‘देशलाई पुनः सामान्य अवस्थामा फर्काउनु’ रहेको बताएका थिए ।

विद्युतीय मतदान प्रणालीमाथि प्रश्न गर्दै आएका बोल्सोनारोले भने ‘पारदर्शी’ चुनाव हुनु पर्ने बताउँदै आएका छन् । आफू पराजित भएमा नतिजा स्वीकार गर्ने या नगर्ने भन्ने सम्बन्धमा पत्रकारले सोधेको प्रश्नको बोल्सोनारोले स्पष्ट जवाफ नदिएको समाचार संस्था एएफपीले जनाएको थियो ।

७६ वर्षका लुला उनी फलाम खानीका पूर्वकामदार हुन् । उनी सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति थिए । उनलाई सन् २०१८ मा जेल चलान गरिएको थियो र तर पछि उनीमाथिको आरोप हटाइएको थियो । जेलमा भएका कारण उनी सन् २०१८ मा चुनाव लड्न पाएका थिएनन् ।

६७ वर्षका बोल्सोनारो सेनाका पूर्व क्याप्टेन हुन् । उनले ब्राजिलको विद्युतीय मतदान प्रणालीमाथि शंका व्यक्त गर्दै आएका छन्, तर त्यसका आधार भने दिने गरेका छैनन् ।

असोज १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्