हालान्ड र फोडेनको ह्याट्रिकमा युनाइटेडमाथि सिटीको रवाफ

आर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले ह्याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहरी प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेड माथि ६–३ को जित निकालेको छ।

इंग्लिस प्रिमियर लिग फुटबलमा बहुप्रतिक्षित मानिएको डर्बी भिडन्तामा सिटीको जितमा स्टार स्ट्राइकर आर्लिङ हालान्डले ३४, ३७ र ६४ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा फिल फोडिनले ८, ४४ र ७२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।

पहिलो हाफमा ४–० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो। तर अन्तिम समयमा पुनरागमनको प्रयास गरेको युनाईटेडले ३ गोल गरे पनि हार टार्न भने सकेन्। युनाईटेडका लागि एन्थोनी मार्सियलले २ गोल गर्दा अर्को एक गोल दोस सान्तोषको नाममा रह्यो।

जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगमा अपराजित रहँदै ८ खेलबाट २० अंकका साथ दोस्रो स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको आर्सनलको समान खेलबाट २१ अंक रहेको छ। पराजित म्यानचेस्टर युनाइटेडको ७ खेलबाट १२ अंक रहेको छ।

असोज १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्