यसरी जाग्यो आशा सिंहको डाक्टर बन्ने दृढता ( भिडियो)

सानैदेखि उनी पढाइमा अब्बल थिइन्। पढाइप्रति लगाव देखेर उनका बुवा आफ्ना साथीभाइ, नातेदार घरमा आउँदा उनीहरूलाई भन्ने गर्थे, ‘यसको पढाइ राम्रो छ, यसलाई डाक्टर बनाउने हो।’

बुवाले डाक्टर बनाउने भनिरहँदा मनमनै सपना बुन्न थालिन्, ‘डाक्टर बन्ने।’ डाक्टर बन्ने सपना बुन्दै गरेकी उनको सपना क्षणभरमै परिवर्तन हुन्थ्यो, ‘शिक्षक बन्ने’। फेरि उनलाई लाग्थ्यो– होइन, प्रशासनतिर जानुपर्छ।

यी सबै कुरा सोच्दै गर्दा उनी धेरै सानी थिइन्। तर उनको मानसपटलमा‘डाक्टर’ शब्द कहीँकतै छापिएर बसेको थियो। कसैलाई चोटपटक लाग्दा उनी मलमपट्टि गर्न सबैभन्दा अगाडि सर्थिन्। अरुको दुःख उनी देख्न सक्दैनथिन्।

नेपाल प्रहरी अस्पतालकी प्रमुख एआईजी डा. आशा सिंहले डाक्टर बन्ने दृढता त्यतिबेला गरिन्, जब उनका कान्छा भाइ जन्मिए। डा. सिंह १०/११ वर्षकी थिइन्, उनकी आमाको सुत्केरी हुने दिन नजिकिँदै थिए। एकदिन अचानक उनकी आमालाई सुत्केरी बेथाले च्याप्यो। उनलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल भर्ना गरियो। त्यो बेला डा. सिंहकी आमाको स्वास्थ्यमा केही जटिलतासमेत देखिएको थियो।

 

उक्त समयमा अस्पतालका डा. दिव्यश्वरी मल्लले उनकी आमालाई हेरेकी थिइन्। डा. मल्लले डा. सिंहकी आमालाई सम्झाइन्। सबै कुरा ठीक हुन्छ भन्ने कुरामा आश्वस्त पारिन्। यो कुरा डा. सिंहले नजिकबाट नियाल्ने मौका पाइन्।

उनी डा. मल्लको व्यक्तित्व देखेर प्रभावित भइन्। त्यही बेला उनलाई लाग्यो ‘यस्तै डाक्टर बन्न पाए’। आफ्नी आमाको ज्यान डाक्टरले बचाएको देख्दा पछि उनी यो पेसाप्रति आकर्षित भइन्।

उनलाई लाग्यो, अरुको ज्यान जोगाउने डाक्टर पो बन्नुपर्ने रहेछ। राम्रो पढेपछि डाक्टर बन्न पाइन्छ, भन्ने लोभ उनका बुवाले उनलाई बच्चैदेखि देखाउँदै आएका थिए। अब उनलाई पढाइ मात्र राम्रो भएर हुँदैन। मेहनत पनि कडा गर्नुपर्छ भन्दै आफ्नो सपनालाई पछ्याइरहिन्।

डाक्टरी यात्रा

डा. सिंह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्। आफू प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुनुको श्रेय पनि उनी आफ्नी आमा र डा. मल्ललाई दिन्छिन्। कान्छो भाइ जन्मिँदै गर्दा त्यो दिन आमाको छटपटी नदेखेको भए उनी सायदै प्रसूति तथा स्त्रीरोग विशेषज्ञ बन्ने थिइन्।
डा. सिंहका बुवा सरकारी जागिरे थिए। उनको विभिन्न ठाउँमा सरुवा भइरहन्थ्यो, जसले गर्दा उनले कहिले काठमाडौँ त कहिले सर्लाही गर्दै तीन कक्षासम्मको पढाइ पूरा गरिन्।

कक्षा थपिँदै गर्दा कक्षा ४ मा पुगेपछि डा. सिंहका बुवालाई लाग्यो, काठमाडौँ–सर्लाही गर्दै गर्दा छोरीको पढाइ बिग्रिने भयो। उनले डा. सिंहलाई काठमाडौँको ज्ञानेश्वरस्थित महेन्द्र भवन कन्या माध्यमिक विद्यालयमा भर्ना गरिदिए।

त्यतिबेला उनका बुवाको पोस्टिङ काठमाडौँ बाहिरै थियो। त्यसैले त्योबेला उनी होस्टेल बसेर पढिन्। कक्षा ७ मा पुगेपछि उनका बुवा फेरि काठमाडौँ फर्किए। यो पटक उनी काठमाडौँबाहिर जानेवाला थिएनन्। र, उनी बुवाको क्वार्टरमा बसेरै एसएलसी दिइन्।
त्यसपछि अमृत साइन्स क्याम्पसबाट आईएसी गरिन्। र, सन् १९८६ मा उनी आफ्नो सपनाको उडान भर्न भारत पुगिन्।

त्योबेला नेपालमा अहिलेजस्तो धेरै मेडिकल कलेज थिएनन्, एमबीबीएस पढ्नका लागि। महाराजगञ्जस्थित चिकित्सा शास्त्र अध्ययन संस्थानले एमबीबीएस पढाउन सुरु गरेको केही वर्ष मात्रै भएको थियो। जसले गर्दा उनी भारत पुगेर प्रवेश परीक्षा दिइन्। उनी कहीँ–कतै डराइरहेकी थिइन। तर, नाम निस्कियो। भारतको नयाँदिल्लीस्थित लेडिहार्डिङ् कलेजमा एमबीबीएसको पढाइ सुरु भयो। नयाँदिल्ली उनका लागि नयाँ ठाउँ थियो। नयाँ परिवेश थियो। पढाइको प्रतिस्पर्धा धेरै थियो। तर, आफ्नो पढाइप्रति उनलाई विश्वास थियो। राम्रो हुन्छ। उनी मिहिनेत गरेर पढ्दै गइन्। र, एमबीबीएस पास गरिन्।

डा. सिंहका बुवा–आमाको सपना

डा. सिंहका बुवा अंग्रेजीका शिक्षक थिए। त्यसपछि शिक्षा मन्त्रालयको क्षेत्रीय निर्देशक भए र पछि प्रशासनतर्फको जागिरे भए। उनी शिक्षित थिए, त्यसैले उनी सधैँ छोराछोरीलाई राम्रो शिक्षा दिनुपर्छ भन्नेमा जोड दिन्थे। डा. सिंहका बुवा जसरी हुन्छ, छोरीलाई डाक्टर बनाउन चाहन्थे। तर डा. सिंहकी आमा जसरी हुन्छ, छोरी बिहे गरिदिन चाहन्थिन्। उनकी आमालाई लाग्थ्यो, छोरीले छिटो बिहे नगरे पछि केटा पाइँदैन।

डा. सिंह स्कुल पढ्दै गर्दा आमा उनको बिहेको तरखरमा लागेकी थिइन्। तर, उनका बुवाले उनकी आमालाई डा. सिंहले एसएलसी पास गरेपछि बिहे गरिदिने भन्दै श्रीमतीलाई थमथमाए।

डा. सिंहले एसएलसी पास गरिन्। उनकी आमाले फेरि उनको बिहेको कुरा निकालिन्। डा. सिंहका बुवाले छोरीको बिहे आईएससी गरेपछि पक्का गरिदिने भन्दै अर्को पटक रोके। बुवाकी उनी प्यारी थिइन्। डा. सिंहलाई उनी बिहेभन्दा पनि पहिला डाक्टर बनाउन चाहन्थे। त्यसैले उनी श्रीमतीलाई अनेक बहाना बनाएर छोरीको बिहे टार्ने कोसिस गरिरहेका थिए।
डा. सिंहकी आमा बारम्बार भन्ने गर्थिन्, ‘ऊभन्दा पछाडि उसका बहिनीहरू पनि छन्। छोरी मान्छेको उमेरमा बिहे भएन भने पछि केटा पाइँदैन।’

डा. सिंह ६ सन्तानमध्ये दोस्रो हुन्। डा. सिंहभन्दा अगाडि दाइ थिए। र, उनीभन्दा पछाडि ४ भाइबहिनी थिए।
त्यसैले पनि उनकी आमालाई उनको बिहे गरिदिने हतारो भइरहेको थियो। बिहेकै कुरा चल्दा चल्दै उनले आइएससी पनि पास गरिन्। आमाले फेरि उही कुरा दोहो¥याइन्। यो पटक बुवाले आमालाई सम्झाए,‘यसले एमबीबीएसमा नाम निकाले पनि पक्का बिहे गरिदिने।’

पहिलाको जसरी आमा यो पटक पनि राजी भइन्। डा. सिंहको नाम निस्कियो। उनी एमबीबीएसमा भर्ना भइन्।
‘अब त बिहे गर्नै पर्छ। छोरीको उमेर धेरै भइसक्यो’, उनकी आमा यो पटक बुवाको कुनै पनि बहाना पत्याउनेवाला थिइनन्। र, यो पटक डा. सिंहकी आमाका अगाडि उनका बुवाको केही सीप चलेन।

र एमबीबीएस पहिलो वर्षमै उनको डा. रमेश सिंहसँग बिहे भयो। बिहे गरेको एक वर्षमै उनले छोरी जन्माइन्। टोरीको पानलपोषण गर्दै गर्दा उनलाई आफ्नो पढाइ बिग्रन्छ कि भन्ने नलागेको पनि होइन। उनलाई परिवारको राम्रो ‘सपोर्ट’ थियो। त्यसैले उनले छोरीलाई स्याहार्दै आफ्नो एमबीबीएस सन् १९९१ मा पूरा गरिन्।

डा. सिंहका श्रीमान् उनीसँग बिहे गर्दा एमबीबीएस गरिसकेका थिए। उनी शिक्षण अस्पतालमा काम गरिरहेका थिए। त्यही बेला उनी एमडी गर्न पाकिस्तानको लाहोर जाने भए। डा. सिंह पनि श्रीमान् सँगै पाकिस्तान गइन्। उनले पाकिस्तानको लाहोरस्थित पोस्ट ग्राजुयट मेडिकल इन्स्टिच्युटबाट डीजीओ गरिन्।

उनका श्रीमान्ले अर्थोमा एमडी गरे। पाकिस्तानबाट फर्किएपछि दुवै श्रीमान्–श्रीमतीले त्रिवि शिक्षण अस्पतालमा काम सुरु गरे। त्यो बेला डा. सिंहको काखमा उनकी कान्छी छोरी थिइन्।

नेपाल प्रहरीमा प्रवेश

शिक्षण अस्पतालमा काम सुरु गरेको केही समयपछि नेपाल प्रहरी अस्पतालमा प्राविधिकतर्फ डाक्टरका लागि इन्स्पेक्टरमा आवेदन खुल्यो। जसमा डा.सिंह र उनका श्रीमान्ले आवेद दिए। दुवै जनाको नाम निस्कियो। त्यो बेलादेखि अहिलेसम्म डा. सिंह अहिलेसम्म निरन्तर नेपाल प्रहरी अस्पतालमा कार्यरत छिन्।

उनका श्रीमान् भने केही समय प्रहरी अस्पतालमा काम गरे र पछि नेपाल मेडिकल कलेज गए। उनी अहिले पनि त्यहीँ कार्यरत छन्। प्रहरी अस्पतालमा काम सुरु गरेपछि डा. सिंहले २०६४ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट गाइनोमा एमडी अध्ययन सुरु गरेकी थिइन्। त्यो बेला उनले आफूभन्दा १० वर्ष जुनियर विद्यार्थीसँग पढ्न थालेकी थिइन्। उनीहरूसँग प्रतिस्पर्धा गर्नु उनका लागि कत्ति पनि सहज भने थिएन।

यति बेलासम्म उनका दुवै छोरी हुर्किसकेका थिए। उनी छोरीहरूसँगै बसेर पढाइ गर्थिन्। एमडी गर्न उनले निकै मिहिनेत गरिन्। र, उनी सफल भइन्। एमडीमा उनले गोल्ड मेडल हासिल गरिन्।

उनी प्रहरी अस्पताल आउँदा अस्पतालमा प्रसूति विभाग थिएन। उसो त उनलाई अन्तर्वार्तामै सोधिएको थियो, ‘तपाईले पढेको विषयको अस्पतालमा विभाग नै छैन। कसरी काम गर्नुहुन्छ?’

त्यो बेला उनले अन्तर्वार्ता लिने व्यक्तिहरूलाई उल्टै प्रश्न गरेकी थिइन्, ‘प्रहरीका श्रीमती, छोरी तथा आफन्त र स्वयं प्रहरी महिलाको उपचारका लागि अस्पतालले किन विभाग नछुट्याएको? उनीहरूमा कति समस्या होलान्?’

उनलाई अस्पतालमा प्रसूति विभाग खडा गर्नु अर्को चुनौती थियो। किनभने उनले आफूले अस्पतालमा विभाग स्थापना गर्ने अन्तर्वार्तामै भनेकी थिइन्।

उनी काम गर्दै गइन्, उनकै अग्रसरतामा प्रहरी अस्पतालमा प्रसूति विभाग स्थापना भयो। र यही विभाग अस्पतालको एक उत्कृष्टविभाग मानिन्छ। यो विभागमा अहिले ६ जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ मात्रै छन्। यो विभागलाई उत्कृष्ट बनाउनुमा डा. सिंहको ठूलो हात छ।

इन्सेक्टरबाट प्रहरी अस्पतालमा काम सुरु गरेकी डा. सिंह डिएसी, एसपी, एसएसपी, डिआईजी हुँदै २०७६ माघ ८ गते एआईजीमा बढुवा भइन्। नेपाल प्रहरीको एआईजी हुने उनी दोस्रो महिला हुन्। एआईजी भएपछि डा. सिंहको काँधमा नयाँ जिम्मवारी थपियो, अस्पतालको नेतृत्व।

निर्देशक भएपछिको उपलब्धि

डा. सिंहले अस्पतालको नेतृत्व लिएको दुई महिनामै विश्वव्यापी रूपमा देखिएको कोभिड–१९ महामारी नेपालमा पनि देखियो। सरकाले देशभर लकडाउन गर्‍यो। कोभिड सबैका लागि नयाँ रोग थियो।स्वास्थ्यकर्मी फ्रन्टलाइनमा खटिए।

अस्पतालको निर्देशक भइसकेपछि यो बेला उनका लागि झनै चुनौतीपूर्ण थियो। तर, उनी हरेक चुनौतीको सामना गर्ने अठोट लिएर अगाडि बढिन्। अस्पतालले कोभिडबाट संक्रमित भएका प्रहरी र सर्बसाधारणको निःशुल्क उपचार गर्‍यो।
त्यसपछि अस्पतालको स्तरोन्नति भयो। डा. सिंहले १५० बेडको प्रहरी अस्पताललाई ३०० बेडमा रूपान्तरण गरिन्। यो डा. सिंहले अस्पतालको नेतृत्व लिएपछिको उपलब्धि हो।

आफूले पाएको जिम्मेवारी निष्ठासाथ उनी पूरा गरिरहेकी छन्। पछिल्लो समय अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। यो कुरालाई उनी अस्पतालले उपचार सेवामा राम्रो गरिरहेको बुझेकी छन्।

‘पहिला दैनिक ५÷६ सय जति बिरामी आएको रेकर्ड हुन्थ्यो। अहिले १२ देखि १४ सय बिरामी आएको पाइन्छ। यो हिसाबले हाम्रो सेवाबारे मानिसलाई विस्तारै जानकारी भइरहेको छ।’

कोभिडको उपचारपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको उनले ठानेकी छन्।

अबको चुनौती…

अस्पतालले बहालवाला प्रहरी र भूतपूर्व प्रहरीलाई निःशुल्क उपचार गर्दै आएको छ। अहिले अस्पतालमा जे जति छ त्यतिले मात्रै नपुग्ने उनी बताउँछिन्।

उनले भनिन्, ‘अहिलेको उपलब्धिले मात्रै पुग्दैन। सेवा विस्तार गर्नुपर्ने काम धेरै छन्। विभाग नभएका विभाग स्थापना गर्नु पर्नेछ। प्रदेशमा सुरु भएको अस्पतालका सेवा विस्तार गर्नु पर्नेछ।’

उनको अबको लक्ष्य अस्पतालको सेवा–सुविधालाई बढाउने, जनशक्तिलाई प्रोत्साहन गर्ने र अस्पताललाई शिक्षण संस्थातिर लैजाने हो।
‘चिकित्सक, नर्स र अन्य कर्मचारी गरी अस्पतालमा करिब पौने ६ सय कर्मचारी हुनुहुन्छ’, उनले भनिन्। उनीहरूको व्यवस्थापनमा कहिलेकाहीँ चुनौती भए पनि त्यसलाई उनले सहजतासाथ ‘कमाण्ड’ गरेकी छन्।

अवकाशपछिको योजना

डा. सिंह उमेर हदका कारण दुई वर्षपछि स्वतंः अवकाश पाउने छिन्। त्यसपछि उनी यही पेसामा रहेर समाजसेवा गर्ने योजनामा छिन्। सर्लाहीमा आफ्नो बालापन बिताएकी उनले त्यहाँका महिलाको स्वास्थ्य अवस्थालाई नजिकबाट नियाल्ने मौका कैयौँ पटक पाएकी छन्।

उनलाई स्वास्थ्यको पहुँचमा पुग्न नसकेका ग्रामीण भेगमा पुगेर समाजसेवीको रूपमा स्वास्थ्य सेवा प्रदान गर्न मन छ।
उनले भनिन्, ‘अहिले मैले हेर्नुपर्ने केही छैन। दुवै छोरीहरू आफ्नो खुट्टामा उभिसकेका छन्। घर बनाउँला भन्ने छैन। गाडी किनुँला भन्ने छैन। त्यसैले अबको बाँकी जीवन समाजसेवा गरेर बिताउन मन छ।’

उनी आफू पढ्दै, काम गर्दै गर्दा दुवै छोरीलाई हुर्काइन्। त्यसैले डा. सिंहका छोरीहरूले उनको दुःखलाई बुझेका छन्। उनको कामलाई प्रोत्साहन गर्दै आइरहेका छन्।

कृतज्ञता…

डा. सिंह आफू यहाँसम्म पुग्नुमा आफ्ना बुवा–आमाप्रति कृतज्ञता व्यक्त गर्छिन्। उसो त उनका बुवाको त्यति धेरै ‘सपोर्ट’ हुँदैन हो त उनी यहाँसम्म पुग्न मुस्किल हुँदो हो।

उनले भनिन्, ‘मधेसमा छोरीलाई पढाउनु हुँदैन। चाँडै बिहे गरिदिनुपर्छ भन्ने मान्यता अझै पनि छ। अझ त्यो बेला नहुने त कुरै भएन। तैपनि, मेरो बुवा–आमाले छोरी भएर पनि मलाई पढाउनुभयो। र त अहिले यो जीवन बिताउन पाइरहेकी छु।’

त्यसैले शिक्षा मानिसको जीवनमा अत्यन्तै आवश्यक ठान्छिन्, डा. सिंह।

उनी भन्छिन्, ‘मेरो बुवा शिक्षित हुनु हदैनथ्यो भने म यो ठाउँ हुँदिनथेँ। मैले देखेको छु, तराईमा हुनेखाने धनी परिवारका बुहारीको अवस्था र उनीहरूले पाउँदै आएको स्वास्थ्य सेवा पनि। मेरो परिवारले मेरा लागि धेरै ठूलो ‘सपोर्ट’ बन्यो। नत्र पनि म पनि उनीहरूजस्तै दुःखमा जीवन बिताइरहेको हुन्थेँ।’

‘मेरो सफतालका पछाडि मेरो बुवा–आमा, श्रीमान् अनि उहाँको परिवार धन्यवादको पात्र हुनुहुन्छ’, उनले मुस्कुराउँदै भनिन्।

असोज १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्