अर्जेन्टिनी फर्वाड हिगुएनले सन्यास लिने

अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुएनले व्यवसायिक फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। उनले जारी सिजन इन्टर मियामीबाट अमेरिकी मेजर लिग(एमएलएस) खेलेसँगै व्यवसायिक खेल जीवनबाट सन्यास लिने घोषणा गरेको क्लबले जनाएको छ।

३४ वर्षीय हिगुएनले सन् २०२० मा इटालियन क्लब युभेन्ट्सबाट मियामी पुगेका थिए। त्यसअघि उनी सन् २०१६ मा इटालियन क्लब नेपोलीबाट युभेन्ट्स पुगेका थिए। उनले युभेन्ट्सका लागि १ सय ४९ खेलमा ६६ गोल गरेका थिए।

उनले सन्न्यास घोषणा गर्दै भने ‘फुटबललाई गुडबाई भन्ने दिन आएको छ।’ भावनात्मक हुँदै उनले भने ‘योबीचमा मलाई सहयोग गर्ने ट्याक्निकल स्टाफ, प्रशिक्षक क्लब पलेर्मो, रिभर प्लेट, रियल म्याड्रिड, अर्जेन्टिना, नापोली, मिलान, चेल्सी र इन्टर मियामी सबैलाई धन्यवाद दिन चाहान्छु।’

स्पेनिस क्लब रियल म्याड्रिडका पूर्व खेलाडीसमेत रहेका हिगुएनले युभेन्ट्सबाट तीन सिरी ‘ए’ र दुई पटक कोपा इटालियाको उपाधि जितेका थिए। रियलबाट सात सिजन खेल्दा ३ ला लिगा, दुई स्पेनिस सुपर कोपा र एक कोपा डेल रे उपाधि जितेका थिए।

इटालियन क्लब एसी मिलान र इंग्लिस क्लब चेल्सीका लागि लोनमासमेत खेलेका हिगुएनले नेपोलीबाट कोपा इटालिया र सुपर कोपा इटालिया र चेल्सीबाट युरोपा लिग जितेका छन्। अर्जेन्टिनी क्लब लिभर प्लेटबाट व्यवसायिक खेल करिअर सुरु गरेका उनले ७०८ खेल खेल्दा ३३३ गोल गरेका छन्।

उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट २०१८ मै सन्यास लिएका थिए। अर्जेन्टिनाका लागि ७५ क्याप जित्दा ३१ अन्तर्राष्ट्रिय गोल गरेका छन्। उनी अर्जेन्टिनाको टिममा रहँदा २०१४ मा विश्वकप फाइनल र २०१५ मा कोपा अमेरिका फाइनल सम्म टिमलाई पुर्यारउँदा महत्वपुर्ण सदस्यका रुपमा रहेका थिए।

असोज १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्