धान भित्र्याउने बेलामा झरीको डर(तस्बिरहरू)

खेतमा झुले धानको बाला । तस्बिर: दशरथ घिमिरे देशसञ्चार।

दाङ – लमही नगरपालिका- ४ सेम्रहवा निवासी किसान देवमणी चौधरीले १५ कट्ठामा रोपेको धान पाकेर बाला झुलेका छन् । तर, यसवर्ष लामो खडेरी परेकाले सबै ठाउँमा किसानले धान रोप्न पाएनन् ।

जहाँ सिचाइँको सुविधा थियो, त्यहाँ मात्रै खेती गरेका किसानले मौसम हेरेर धान भित्र्याउने तरखरमा छन् । ‘पानीले यसपाली साथ दिएन । तर, जेनतेन गरिएको खेतीले खान पुग्छ कि पुग्दैन’ उनले चिन्ता व्यक्त गर्दै भने,‘किसानलाई कहिल्यै सुःख छैन् । यसपाली पनि भित्र्याउने बेलामा पानीले असर गर्छ कि भन्ने डर छ ।’

दाङमा यसवर्ष ४० हजारभन्दा बढी मेट्रिकटन टन धान उत्पादन घट्ने अनुमान गरिएको छ । लामो खडेरी परेकाले अधिकांश किसानले धान रोपाइँ गर्न पाएनन् । जसले गर्दा किसानलाई वर्षदिन खान नपुग्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ ।

गत वर्ष दाङमा धान उत्पादन बढेको थियो । उतिबेला किसानले पानीले साथ दिएको थियो । यसपाली न पानीले साथ दियो, न रासायनिक मल पाइयो । पानी र मलको अभावमा किसानले गरेको धान खेती सप्रिएन । जसले गर्दा यसपटक १५ प्रतिशत धान उत्पादन घट्ने प्रक्षेपण गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । खडेरीका कारण मर्कामा परेका किसानलाई राहत उपलब्ध गराउन किसानले माग राखेका छन् ।

गत वर्ष १ लाख ७३ हजार ३६० मेट्रिकटन धान उत्पादन भएको थियो । जसमध्ये २७ हजार मेट्रिकटन धान बेमौसमी वर्षाका कारण नष्ट भएको थियो । यसवर्ष धान उत्पादन १ लाख ३२ हजार ६२० मेट्रिकटन धान उत्पादन हुने प्रक्षेपण गरिएको छ ।

तस्बिरहरू:

असोज १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्