विश्व फुटबलमा ‘ठूला दुर्घटना’ हुँदा किन झस्किन्छ काठमाडौँ?

दशरथ रङ्गशाला । फाइल तस्बिर ।

विश्व फुटबलमा जबजब ठूला दुर्घटनाका समाचारहरू आउँछन् त्यसमा काठमाडौँ सधै झस्किन्छ। विश्व फुटबलका डरलाग्दा दुर्घटना र हताहतीको साक्षी दशरथ रंगशाला पनि हो।

शनिबार रातिमात्र इन्डोनेसियामा एक खेलका दौरान भएको हिसांमा १ सय ७४ जना मारिँदा विश्व फुटबलनै शोकमा पर्याे। एक हारको मूल्य १ सय ७४ दर्शक मारिए जुन अकल्पनिय र क्रूर थियो।

जब फुटबल मैदानमा हुने ठुलो दुर्घटनाको समाचार आउँछ नेपाली दर्शक र फुटबल प्रेमीहरू चनाखो भइहाल्छन्। अझ फुटबलमा चासो राख्नेहरू र अधबैसे नेपालीहरूले त दशरथ रङ्गशालामा करिब ३५ वर्षअघि भएको भयंकर दुर्घटना सम्झिहाल्छन्। नेपालीले मात्र होइन अन्तराष्ट्रिय सञ्चारमाध्यमले पनि रङ्गशालाका ठूला दुर्घटना कहाँ र कहिले घटेको भनेर पुरानो घाउ कोट्याउँदा काठमाडौँ अग्रस्थानमा पर्छ।

२०४४ साल फागुन ३० गते आइतबार गाेरखापत्रमा प्रकाशित तस्बिर।

आजभन्दा ३५ वर्षअगाडि नेपाली फुटबलमा यस्तो क्रेज थियोकी काठमाडौँ भित्रैका क्लबहरू एक अर्काका समर्थकहरू आफ्नो टिमले हार्योकी जाइलाग्न तयार हुन्थे। काठमाडौँका स्थानीय क्लबको समर्थकको ‘दुश्मनी’ का किस्साहरू अनेक छन्। तर २०४४ सालको २८ फागुन भने नेपाली फुटबलमा कहिल्यै नबिर्सीने घाउ बनेर आयो। ९३ समर्थकले ज्यान गुमाएको उक्त घटना विश्व फुटबलमा भएका भयानक रङ्गशाला दुर्घटनाको शीर्ष स्थानमानै रहन्छ।

काठमाडौँको दशरथ रङ्गशालामा तत्कालीन समयको चर्चित फुटबल प्रतियोगिता ‘त्रिभुवन च्यालेन्जकप’ को फाइनलको दिन थियो। तर आकाशले चर्चित फाइनल अघि अनिष्टको संकेत गरिरहेको थियो। धुम्म काठमाडौँमा दिउँसो २:३० बजे फाइनलमा नेपाली क्लब जनकपुर चुरोट कारखाना र बङ्गलादेशको मुक्ति जोधा क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्न मैदानमा थिए। उक्त फाइनल हेर्न काठमाडौँका स्थानीय समर्थकमात्र होइन जनकपुर, वीरगञ्ज, विराटनगरदेखि बुटवल सम्मका फुटबल पारखीहरू काठमाडौँ आइपुगेका थिए।

तत्कालीन समयमा नेपाली र बंगलादेशी क्लबहरूको भिडान्त खेल मैदानमा हुने युद्धभन्दा कम महत्वको हुँदैन थियो। अर्थात् ‘हार अस्वीकार्य’ हुन्थ्यो। मैदानमा खेल सुरु भइसकेको थियो। तर दर्शकको आगमन रोकिएको थिएन। मैदानमा पस्नका लागि हजारौँ समर्थक गेटबाहिर तँछाड-मछाड गरिरहेका थिए। तर नेपाली टिमविरुद्ध सुरुवातमै बंगलादेशी क्लबले गोल हान्दै खेलमा अग्रता बनाएको थियो। तर पनि नेपाली दर्शकको उत्साहमा कमी थिएन। रङ्गशाला भरिभराउ थियो। करिब ३० हजार दर्शक मैदान भित्र र बाहिर छिर्नका लागि प्रतिक्षारत थिए।

पहिलो गोल खाएको केही मिनेटमानै प्रकृतिको विद्रुम रूप दशरथ रङ्गशालामा देखियो। अर्थात् दिउसोँ ३:५० बजे खेल जारी रहँदा अन्धकार र धुलो धुवाँसहित ठूलो हावाहुरी चल्यो। हावाहुरी र भिषण वर्षाको बेग थेगिनसक्नु थियो। छेउछाउका रुखका हाँगाहरू सडक र रंगशालामानै बजारिन आइपुगेका थिए। खेलाडीहरू ज्यान जोगाउन प्यारापिटको मुनी ओतलाग्न आइपुगे तर ठेलमेठेल दर्शकको हालत भने बिग्रिसकेको थियो। हावाहुन्डरीबाट ज्यान जोगाउन भागाभाग गर्ने र गेटबाट बाहिरिने क्रममा निसासिएर ९३ समर्थकको निधन भयो। सयौँ घाइते भए।

घाइतेहरुलाई वीर, टिचिङ, टेकु, पाटन र वीरेन्द्र सैनीक अस्पताल पुर्याइएको थियो। अस्पतालमा मृतकको परिचय र घाइतेहरूको आफन्तको भिडभाडले खुट्टा राख्ने ठाउँ थिएन। यति ठूलो भयानक दुर्घटनापछि सरकारले घटनाको अर्को दिन राष्ट्रिय शोकको समेत घोषणा गरेको थियो। तत्लकालिन राजा विरेन्द्र र रानि एश्वर्याले सबै अस्पताल पुगि घाइते र मृतकका बारेमा जानकारी लिएका थिए। तत्लकालिन श्री ५ को सरकारले निधन भएका परिवरलाई नगद १० हजार र घाइतेलाई २ हजार दिने निर्णय गरेको थियो।

यो भयानक दुर्घटनापछि तत्कालीन शिक्षा तथा संस्कृत मन्त्री केशरबहादुर विष्ट राखेप सदस्यसचिव सरदचन्द्र शाह र एन्फा अध्यक्ष कमल थापाले नैतिकताकाे आधारमा राजिनामा दिएका थिए। तत्कालीन श्री ५ को सरकारले घटनाबारे सत्यतथ्य छानबिन गर्न क्षेत्रीय न्यायधिश भैरवप्रसाद लम्सालको एक सदस्यीय आयोग बनाएको थियो। लम्साल आयोगले तीन महिना पछि प्रतिवेदन सार्वजानिक गर्दै ब्यबस्थापनको कमजोरी भन्न नमिल्ने रिपोर्ट दियो। साथै उसले २१ औँ शताब्दी अनुरुपको रङ्गशाला हुनुपर्ने भन्दै प्राकृत प्रकोपका रुपमा यसलाई परिभाषित गर्ने अस्पष्ट प्रयास गरेको थियो।

तर तत्कालीन समयमा रङ्गशालाका सबै चार ढोका खोल्न आयोजक असफल भएको थियो। जसले गर्दा दक्षिणतर्फ बढी चाँप हुँदा धेरैको ज्यान गएको थियो भने हजारौँ घाइते भएका थिए। यो दुर्घटना नेपाली खेलकुदको कालो दिनका रूपमा लिने गरिन्छ।

असोज १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्