खःमेय् जात्रा मनाइयो

काठमाडौँ – भक्तपुरको प्रसिद्ध खःमेय् अर्थात् राँगो जात्रा मनाइएको छ। नवमीको दिन मनाइने उक्त जात्रा मंगलबार मनाइएको हो।

महिषासुर दैत्यको प्रतीकका रूपमा गठेमंगलका दिन राँगोलाई ल्याएर भक्तपुरको नवदुर्गा मन्दिर प्रांगणमा बाँधेर नवमीको राति बध गरी मनाइने परम्परा छ।

राँगोलाई लखेट्दा दायाँबायाँ सुकुन्दा बालेर सँगै दौडिने परम्परा छ। महानवमीको राति नवौँ देवी त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानी पूर्ण हुने हुँदा परम्परागत रूपमा खःमेय्को बध जात्रा मनाउने प्रचलन रहेको पुजारीको भनाइ छ।

नवदुर्गा देवगृहमा राखिएका खःमेय्लाई तान्त्रिक विधिअनुरुप पूजा गरी नवदुर्गा द्योःछे (देवगृह) बाट दौडाएर ब्रह्मायणी पीठसम्म पु¥याइन्छ।

नवदुर्गा भवानीलाई चढाइने खःमेय्को टाउकोमा दुई चक्रसहित शरीरमा सातवटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरीरभर कुनै घाउचोट नलागेको, कम्तीमा पनि १०० धार्नी तौल भएको मोटोघाटो राँगो चाहिन्छ।

बध गरिएको खःमेय्को स–साना मासुका टुक्रा प्रसादका रुपमा घर लगेर सुकुटी बनाउने र त्यसलाई धुलो पारेर घ्यूमा मुछी धुप बनाइन्छ।

उक्त धुप लक्ष्मीपूजाका दिनमा बाल्ने चलन रहेको छ। त्यस दिन धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाश हुने र लक्ष्मीले बास गर्ने जनविश्वास छ।

 

असोज १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्