लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छः ओली

झापा – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीमा स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् ।

स्वस्थ प्रतिष्पर्धा भएन भने लोकतान्त्रिक प्रणालीनै धरासायी बन्ने एमाले अध्यक्ष ओलीले बताए ।

बडादसैं, शुभदिपावली, छठ तथा नेपाल सम्वतको अवसरमा झापाको बिर्तामोडमा मंगलबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा एमाले अध्यक्ष ओलीले देश विकासमा राजनीतिक दलहरूबीचको एकता अपरिहार्य भएको बताए ।

उनले भने, ‘लोकतन्त्र भनेको कसैको अनुचित फाइदाका लागि गरिने अभ्यास होइन । लोकतन्त्रमा स्वस्थ प्रतिष्पर्धा हुनुपर्छ । प्रतिष्पर्धा स्वस्थ भयो भने मात्र लोकतन्त्र बलियो हुन्छ ।’

ओलीले नेपालीका महान चाडहरूका विशेष महत्व रहेको बताए । उनले आफूभन्दा ठूलाबाट आशिर्वाद लिने र सानालाई आशिर्वाद दिने चाड भएकाले दसैंको निकै ठूलो महत्व रहेको बताए ।

ओलीले उनको पनि गृहजिल्ला झापामा बर्षेनी महानवमीका दिन शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएका छन् । चाडपर्वहरूले समाजलाई एकसुत्र बाँध्ने गरेकाले ती चाडपर्वका महत्व अतुलनीय रहेको ओलीको भनाइ थियो ।

कार्यक्रममा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका स्थानीय नेता पनि उपस्थित थिए ।

असोज १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्