जहाँ सार्वजनिक बिदामा पनि पढाइ सुचार हुन्छ

सिमकोट – दसँैजस्तो महान् चाडका बेला पनि सामुदायिक विद्यालयमा पठनपाठन जारी रहन्छ भन्ने कुरा सहज रुपमा पत्याउन नसकिने हो। तर, हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका सामुदायिक विद्यालयमा दशैँ बिदामा पनि पढाइ सुचारु भइरहेको छ।

बौद्ध धर्मावलम्बी लामा समुदायको बसोवास हुने लिमीमा दसँै नमानिने भएका कारण गाउँवासीको निर्णयअनुुसार नै हिजोआज दसैँमा पनि विद्यालय सुुचारु गरिएको हो। लिमीको हल्जी गाउँको सुनखानी आधारभूत विद्यालयका निजी श्रोतका शिक्षक छिरिङ मेण्टा तामाङले दशँै बिदामा विद्यालयमा पढाइ भइरहेको जानकारी दिए। लिमीबाहेक जिल्लाका अन्य १४९ विद्यालयमा असोज १० गतेबाट दसैँ बिदा भइसकेका छन्।

यसो हुनुुमा गाउँवासीको साझा निर्णय जिम्मेवार छ। उक्त विद्यालयमा कक्षा पाँचसम्म अध्ययन हुँदै आएको र ४२ जना विद्यार्थी छन्। निजी र सरकारी गरी विद्यालयमा सात जना शिक्षक रहे पनि तीन जना सरकारी दरबन्दीका शिक्षक भने दसँै बिदामा घर गइसकेका छन्। चार जना निजी स्रोतका शिक्षकबाट विद्यालयमा पठनपाठन कार्य भइरहेको हो।

लिमीकै अर्को गाउँ हल्जीको भृकुटी आधारभूत विद्यालयका शिक्षक फुुर्वा तण्डुत तामाङले पनि विद्यालय हाल सुुचारु रहेको जनाए पनि निजी स्रोतको शिक्षक हुन्। उक्त विद्यालयमा पनि दरबन्दीका सरकारी शिक्षक दसँै बिदामा गइसकेका छन्। सो विद्यालयमा १२ जना विद्यार्थी छन्।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले गाउँमा दसैँ नमनाउने भएका कारण विद्यालय बन्द नगरिएको जानकारी दिए। ती दुुबै गाउँमा सबै घरधुरी बौद्धधर्मावलम्बीको बसोवास रहेको छ। चाड नै नमान्ने भएका कारण विद्यालय बन्द गरेर पठनपाठन नगर्नुभन्दा दुुबै गाउँवासीको सामूहिक निर्णय गरेर विद्यालय सञ्चालन गरिएको उनले बताए।

लिमीका विद्यालयमा अन्य सार्वजनिक बिदामा पनि पढाइ हुने गरेको छ। विद्यालयमा बिदा भनेकै उवा बाली छर्ने र थन्क्याउने समयमा मात्र १५–१५ दिन गरिन्छ। लोसारमा भने तीन दिन ती विद्यालय बन्द गर्ने गरिएको छ।

लिमीका यी विद्यालयमा हिउँदको समय गरी निजी स्रोतका शिक्षकले वर्षमा ११ महिना पठनपाठन गर्ने गर्छन्। जबकि जिल्लाका अरु विद्यालय हिमाली जिल्ला भएको कारण पुुस १५ देखि फागुुन १ गतेसम्म हिउँदे बिदा गर्ने गरिन्छ। लिमीमा ऐनभन्दा खोलाको चैन ठूलो भन्ने मान्यतामा चल्ने गाउँ हुन्।

असोज १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्