दसैँमा झरी, डुबान र विचल्ली

दाङ – दाङमा ठूलो पानी पर्दा मानव वस्ती डुबानमा परेको छ । दसैँ मनाउन तयारी गरेको बेला परेको पानीले घरबास डुबानमा परेपछि स्थानीयको विचल्ली भएको छ । लमही नगरपालिका वडा नं. ६ स्थित लोटही सोताको पानी बस्तीमा पसेको छ ।

चुरे क्षेत्रमा मुहान भएको, बजार क्षेत्रको समेत पानी बग्ने लोटही सोताको पानी देउपुरको बस्तीमा पस्दा घरहरु डुबानमा परेका छन् । ११ वर्षपछि लोटही सोतामा बाढी आएको हो । जसले गर्दा स्थानीयहरु विचल्लीमा परेका छन् । ‘बजारको सबै पानी यही सोतामा आउछ । जसले गर्दा गाउँ डुबानमा पर्यो’ स्थानीय कमला बेल्वासेले भनिन्,‘नगर विकास समितिले पूर्वाधार बनाउदा सबै यता पानी आउने गरायो । यो सरासर अन्याय हो ।’

बाढीले स्थानीय शेरबहादुर बुढाथोकी, मानबहादुर डाँगी, दामोदर पाण्डे लगायतको घर डुबानमा परेको छ । बजार क्षेत्रको सबै पानी लोटही सोतामा मिसाउने गरिएको छ । जसले गर्दा सोतामा पानीको सतह बढ्दा डुबान र कटानको समस्या बल्झिएको हो । देउखुरी क्षेत्रका नदि तटीय क्षेत्रका बस्तीमा डुबान परेको छ ।

राप्ती नदी र अन्य खहरे खोलामा आएको बाढीले समस्या पारेको छ । डुबानको दिर्घकालीन रुपमा समस्या समाधान गर्न पहल गर्ने वडा अध्यक्ष श्यामनारायण चौधरीले बताए । ‘पानी परिरहेकाले सचेत र सजग हुन जरुरी छ । दिर्घकालीन रुपमा समस्या समाधान गर्न तबटन्धको योजना अघि सार्छौं’ उनले भने, ‘तत्काल समस्या परेकाहरुलाई राहत दिने र पछी यस्तो विपद् आईनपरोस भन्ने चाहना छ ।’

डुबानको समस्या बढेपछी नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा सुरक्षीत गर्ने काम भएको छ । अझैं केही दिन पानी पर्ने भएकाले सचेत र सजग रहन अपील गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले सामानहरु सुरक्षित स्थानमा सारेका छन् ।

यसपालीको दसैं झरीले प्रभावित भएको छ । एक ठाउँबाट अर्काे ठाउँ जान हिँडेकाहरु समेत विचल्लि परेका छन् ।

 

असोज १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्