दसैँ मनाउँदै हुनुहुन्छ? सतर्क रहनुहोला यी क्षेत्रमा भारी वर्षाले बाढी तथा पहिरो आउन सक्छ!

काठमाडौँ – बडादसैँको दिन बुधबार दिनभर र रातपरिसकेपछि पनि आफन्त मान्यजनकोमा टीका थाप्न जाने क्रम जारी रहँदा मौसमविदले भने सम्भावित जोखिमबाट जोगिनका लागि सतर्कता अपनाउन आग्रह गरेका छन् ।

मनसुनी गतिविधि सक्रिय हुँदा देशका अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी तथा अति भारी वर्षा भइरहेको छ । यसले गर्दा बाढी, पहिरो, गेग्रान बहावसहितका विपदको जोखिम रहेको भन्दै सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।

महाशाखाका अनुसार अबको २४ घण्टामा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही, तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

हाल नेपालमा दक्षिण(पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकि प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिहीबार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र लुम्बिनी प्रदेशका केही र गण्डकी प्रदेशको एक(दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

असोज १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्