राप्तीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई रातभर उच्च सतर्कता अपनाउन आग्रह

बाँके – लगातारको वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि बाँकेका विभिन्न क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाँकेमा रहेको पश्चिम राप्ती कुसुम जलमापन केन्द्रमा जलसतह बुधबार साँझ ६.४५ मिटर अर्थात खतराको तह भन्दा माथि पुगेको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर जानकारी दिएको हो ।

जिल्ला विपद व्यवस्थापन समितिले पानीको सतह बढ्दो क्रममा रहेकाले राप्ती नदीको तल्लो तटीय क्षेत्रमा रहेका समुदायलाई बिहीबार बिहानसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

सुरक्षित स्थानको पहिचान गरी तयारी अवस्थामा रहन समेत सुचित गरिएको छ । नदी किनारको तल्लो तटीय क्षेत्रमा नदी किनारमा जाने, दाउरा छोप्ने, नुहाउने, माछा मार्ने जस्ता कार्य नगर्न पनि भनिएको छ । मनसुनी गतिविधि सक्रिय हुँदा देशभर पानी परिरहेको छ ।

असोज १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्