भक्तपुरमा मनाइयो खाँ पिहाँवइगु जात्रा

काठमाडौँ – बडादसैँको एघारौँ दिन पापांकुुशा एकादशीको अवसरमा बिहीबार भक्तपुरको मध्यपुरथिमीमा मल्लकालीन युद्धको झल्को दिने गरी खाँ पिहाँवइगु जात्रा मनाइएको छ।

तत्कालीन राजदरबारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिन्छ।

दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारले जामा लगाई खड्ग, ढाल र तरबार हातमा बोकेर नगरका विभिन्न टोलमा तत्कालीन युद्धकला प्रदर्शन गर्छन्।

तत्कालीन दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल)को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थियो।

जात्रामा दसैंको नवमीमा तलेजु भवानीलाई चढाइएको बलि र कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराइन्छ। जात्रा अवलोकनका लागि स्थानीयवासीको ठूलो भीड लाग्ने गर्छ।

असोज २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्