चोरी तथा लुटपाट रोक्न कैलालीमा उच्च सुरक्षा सतर्कता

धनगढी – दशैमा शहर छोडेर जानेको संख्या उच्च बन्दा चोरी तथा लुटपाटको संभावित जोखिमलाई न्यूनीकरण गर्न प्रहरीले अतिरिक्त प्रहरी परिचालन गरेको छ।

घर खाली हुँदा चोरी हुने र लुटपाट बढ्ने सम्भावित जोखिम न्यूनीकरण गर्न अतिरिक्त प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

उनका अनुसार नियमित गस्तिमा खटिएका बाहेक टोलटोलको सुरक्षाका लागि मोबाइल टोली परिचालन गरिएको छ। टोलीले घरमा हुने चोरीबाट बचाउन सक्ने प्रहरीको आँकलन रहेको छ।

सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीमा स्थानीय प्रशासनले चाडपर्वको अवधिमा हुनसक्ने घटनालाई कम गर्न विशेष सुरक्षा योजना लागू गरेको उनले बताए। दसौं तिहारका बेला हुने लापरबाहीले अप्रिय घटनासमेत हुने भएकाले ठूलो  संख्यामा प्रहरी परिचालन गरिएको उनको भनाई छ।

त्यसैगरी सादा पोसकमा पनि  प्रहरी परिचालन गरिएको उनले बताए। ‘जिल्लामा १ हजार बढी अतिरत्त प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘चोरी हुने डर नमानेर ढुक्कसँग दसैं मनाउन सवैलाई अनुरोध गरेका छौं।’

सुदूरपश्चिममा चाडपर्वलाई लक्षित गरेर ४ हजार बढी प्रहरी परिचालन गरिएको जनाइएको छ।

असोज २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्