प्रदेशका पूर्वमन्त्रीदेखि प्रदेश सचिवालयसदस्यसम्म दौडबाहिर

जसपाको तालमेलले मोरङमा एमालेभित्र गडबडी

मोरङ – आगामी निर्वाचनमा नेकपा एमाले जनता समाजवादी पार्टीसँगको तालमेलमा होमिने भएपछि चुनावी अभियानमा दौडिएका नेताहरू छायामा परेका छन्।

नेकपा एमालेले मोरङको ६ वटा प्रत्यक्षमध्ये १ स्थान र १२ वटा प्रदेश सभामध्ये ३ वटा स्थान जसपालाई दिने भएको छ।

यस क्रममा एमालेका प्रदेशका पूर्वमन्त्रीदेखि नेताहरूसमेत उम्मेदवार हुनबाट वञ्चित भएका छन्। निर्वाचनका लागि दौडमा रहेका प्रदेशका पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे क्षेत्र नम्बर ४ ‘ख’ बाट वञ्चित हुन पुगेका छन्।

दुई दलको तालमेलका क्रममा घिमिरेको स्थान जसपाले लिएको छ। जसपाले सो स्थानबाट सञ्जय सिंहलाई उम्मेदवार बनाउने भएको छ। ०७४ सालको निर्वाचनमा सो क्षेत्रमा घिमिरे १३ हजार ८ सय ५ मतसहित विजयी भएका थिए। सो क्षेत्रमा तत्कालीन संघीय समाजवादीतर्फबाट श्रीराम कामतले ३ हजार ६ सय २१ मत हासिल गरेका थिए।

त्यसैगरी, क्षेत्र नम्बर ६ को ‘ख’ मा नेकपा एमालेका नेता कृष्ण बस्नेत परशुरामलाई पनि पार्टीले पछि हटाएको छ। निर्वाचनमा उम्मेदवार हुने आकांक्षासहित उनी पछिल्लो केही महिनादेखि ब्यस्त रहँदै आएका थिए।

राजनीतिक भेटघाटदेखि विभिन्न सामाजिक कार्यमा उनी संलग्न बन्दै आएका थिए। केही समय अघिसम्म विभिन्न घटनामा विवादास्पद बनेका बस्नेतले पछिल्लो समय आफ्नो छवि राजनीतिक रूपमा अघि बढाउँदै गएका थिए।

प्रदेश १ को प्रदेश खेलकुद विकास बोर्डको सदस्य–सचिवको जिम्मेवारीवहन गरिसकेका बस्नेत एमालेको नेपाल खेलकुद महासंघको केन्द्रीय संयोजकको जिम्मेवारीमा छन्।

प्रदेश १ सचिवालय सदस्य बस्नेत पार्टी अध्यक्ष केपी शर्मा ओलीको निकटस्त मानिँदै आएका थिए। यद्यपि, पार्टी पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतसँगको मनमुटावका कारण उनी उम्मेदवारको दौडबाट बाहिरिएको अनुमान स्थानीय नेताको छ।

त्यसैगरी, क्षेत्र नम्बर १ मा पूर्व विजेता घनश्याम खतिवडालाई निरन्तरता दिने सम्भावना बलियो भएको छ।
०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा खतिवडाले ६ हजार ८८ मतको अन्तरले कांग्रेसका नेता डिगबहादुर लिम्बूलाई पराजित गरेका थिए।

सो क्षेत्रमा राष्ट्रपति विद्यादेवी भण्डारी निकटस्त मानिएकी पूर्व कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे आकांक्षी रहेकी छन्। एमालेले क्षेत्र नम्बर २ मा अघिल्लो निर्वाचनमा कांग्रेसका नेता डा. मीनेन्द्र रिजालसँग १ हजार ८ सय ५ मतको अन्तरले पराजित ऋषिकेश पोखरेललाई निरन्तरता दिने भएको छ।

त्यसैगरी, क्षेत्र नम्बर ३ मा भानुभक्त ढकालले टिकट पाउने भएका छन्। क्षेत्र नम्बर ४ मा ०७४।७५ सालको स्थानीय निर्वाचनमा विराटनगर महानगरको मेयरमा पराजित विनोद ढकाललाई टिकट दिने भएको छ।

क्षेत्र नम्बर ६ मा लालबाबु पण्डितले नै निरन्तरता पाउने एमाले मोरङले जनाएको छ।

 

असोज २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्