कैलालीका चार संघीय क्षेत्रमा नागरिक उन्मुक्तिको उम्मेदवारी, तीन क्षेत्रमा मुख्य प्रतिस्पर्धा

धनगढी- नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीबीच प्रतिस्पर्धा भइरहेको कैलालीमा यस पटकको निर्वाचनमा भने नयाँ पार्टी प्रतिस्पर्धामा देखिएको छ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कैलालीका चारवटा स्थानीय तहमा विजय हासिल गरी प्रमुख दल बनेको नागरिक उन्मुक्ति पार्टी अबको निर्वाचनमा पनि मुख्य प्रतिस्पर्धी देखिएको छ।

करिब दश महिनाअघि गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीका सबै संघीय र प्रदेश निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको थियो।

तर, कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट संघीय सांसदको उम्मेदवारी दर्ता गराएका लक्ष्मण थारुको उम्मेदवारी खारेजी भएपछि कैलालीका चारवटा संघीय निर्वाचन क्षेत्र र १० वटा प्रदेशसभा सदस्यका लागि सो पार्टीले प्रतिस्पर्धा गर्दैछ।

रेशम चौधरी पत्नी रञ्जना श्रेष्ठको नेतृत्वमा गठन भएको नागरिक उन्मुक्ति पार्टी खासगरी कैलालीका निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा बलियो देखिएको छ। यी ३ वटा क्षेत्रमा सत्ता गठबन्धन, एमाले र नागरिक उन्मुक्तिबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ संघीय सांसदको उम्मेदवार रहेकी छन्। उनीसँग कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरी र एमालेका नेता एवं टीकापुर नगरपालिकाका निवर्तमान मेयर तपेन्द्र रावल प्रतिस्पर्धा गर्दैछन्।

यस निर्वाचन क्षेत्रमा पर्ने सबै पालिकामा स्थानीय तहमा नागरिक उन्मुक्तिका उम्मेदवार विजय भएका छन्।

यसैगरी कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीबाट अरुण चौधरी संघीय सांसदका उम्मेदवार छन्। उनीसँग सत्ता गठबन्धनका भगत बडुवाल र एमालेका तर्फबाट केन्द्रीय सदस्य झपट रावल प्रतिस्पर्धा गर्दैछन्।

यस निर्वाचन क्षेत्र अन्तर्गत स्थानीय तहमा नागरिक उन्मुक्तिले प्रमुख नजिते पनि धेरै वडा जितेको र संगठन पनि बलियो रहेको छ। साथै यस क्षेत्रमा एमालेका निवर्तमान जिल्ला अध्यक्ष रतन थापासहित कांग्रेसका केही नेता उन्मुक्तिमा प्रवेश गरेकाले उन्मुक्ति बलियो देखिएको छ।

यसैगरी कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा पनि नागरिक उन्मुक्ति पार्टीको बलियो संगठन रहेको छ। गत स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा पर्ने भजनी नगरपालिकाको प्रमुख र उपप्रमुखसहित अधिकांश वडा उक्त पार्टीका उम्मेदवार विजयी भएका छन्।

अहिलेको निर्वाचनमा यस क्षेत्रको संघिय सांसदमा नागरिक उन्मुक्तिका तर्फबाट सो पार्टीका केन्द्रीय सदस्यसमेत रहेका गंगा चौधरी उम्मेदवार रहेका छन्। उनीसँग सत्ता गठबन्धनका कृष्ण चौधरी र एमालेका गौरीशंकर चौधरी प्रतिस्पर्धा गदैछन्।

कैलालीको निर्वाचन क्षेत्र नम्बर १,२ र ३ थारु बाहुल्य भएका क्षेत्र हुन्। यसैगरी उन्मुक्ति पार्टीबाट कैलाली ४ मा कैयालाल चौधरी उम्मेदवार रहेका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा २०७४ सालको निर्वाचनमा उनका श्रीमान रेश्मलाल चौधरी उम्मेदवार बनी भारी मतले विजयी भएका थिए भने कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा २०७४ सालमा पनि निर्वाचनमा भाग लिएका लक्ष्मण चौधरीले पाँच हजार मत प्राप्त गर्दै पराजय बेहाेर्नु परेको थियो।

तत्कालीन समयमा रेशम र लक्ष्मणले राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बन्दै चुनावी प्रतिष्पर्धामा भाग लिएका थिए।

यस्तै, निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ मा कैलाली जिल्ला कमिटी अध्यक्ष समेत रहेका कैलाश चौधरी र ‘ख’ मा पार्टीको संगठन विभाग प्रमुख रहेका लक्ष्मण किशोर थारु उम्मेदवार रहेका छन्।

निर्वाचन क्षेत्र नम्बर २ मा प्रदेशसभा (क) मा पार्टी महासचिव रतनकुमार थापा र (ख) मा रामेश्वर चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ मा प्रदेश सभा ‘क’ मा घनश्याम चौधरी र ‘ख’ मा खुसीराम चौधरी (भीमसेन), क्षेत्र नम्बर ४ मा प्रदेशसभा ‘क’ मा राजेन्द्र देवकोटा र प्रदेशसभा ‘ख’ मा कमल भट्ट उम्मेदवार रहेका छन्।

यसैगरी क्षेत्र नम्बर ५ को ‘क’ मा नागरिक उन्मुक्ति पार्टीबाट श्रीराम चौधरी र ‘ख’ मा गोठु चौधरीले निर्वाचनमा प्रतिस्पर्धा गदैछन्।

असोज २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्