के तपाईंलाई थाहा छ? प्रयोगकर्ताले लाइभमा मागेकाे गिफ्टमार्फत् टिकटकले कति कमाउँछ?

सांकेतिक तस्बिर

काठमाडाैँ – पछिल्लाे समय कमाउनकाे लागि मज्जाकाे व्यवसाय/माध्यम बनेकाे छ ‘टिकटक’। आफ्ना विभिन्न किसिमका कला/प्रतिभा देखाएर दर्शक/श्राेता कमाइसकेपछि उनीहरू आफ्नाे कलाकाे प्रतिफल माग्न थाल्छन् अर्थात्- लाइभमा बसेर गिफ्ट माग्न थाल्छन्।

टिकटक सुरुवाती चरणमा, उदाउँदै गरेका तथा नवकलाकारका लागि आफ्नाे प्रतिभा देखाउने राम्राे माध्यम बनेकाे थियाे। यसबाटै भाइरल भएर राम्राे नाम/दाम कमाउने धेरै कलाकार छन्, जाे अहिले स्थापित पनि भइसके।

तर, यससँगै यसकाे विकृति पनि माैलाइरहेकाे छ। भाइरल हुनका लागि सामाजिक मर्यादा र अनुशासन भुलेर अनेकन प्रपञ्च रच्ने थुप्रै टिकटक प्रयाेगकर्ताहरू  छन्। यसरी प्रयाेग हुनु गलत त हाे नै तर यसकाे निवारणका लागि के गर्ने हाे? याे राज्य र स्वयम् टिकटकले नै ध्यान दिनुपर्ने कुरा हाे। तर, टिकटकबाट गिफ्ट मागेर प्रयाेगकर्ता(गिफ्ट माग्नेले) ले मात्र हाेइन, टिकटकले पनि कमाउँछ भन्ने कुरा झनै राेचक छ।

प्रयोगकर्ताले लाइभमा मागेकाे गिफ्टमार्फत् टिकटकले कति कमाउँछ?

टिकटकमार्फत् कमाइ हुन्छ भन्ने धेरैलाई थाहा छ, याे कुनै नाैलाे कुरा रहेन। तर, कसरी र कति कमाइ हुन्छ भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ।

यतिबेला टिकटकबाट कमाइ हुन्छ भनेर आधिकारिक जानकारी नै नभइ टिकटकमा हाेमिनेकाे संख्या पनि धेरै नै छ। कतिपयलाई टिकटक बनाएर त्यसमा गएकाे लाइक र भ्युजकाे आधारमा कमाइ हुन्छ भन्ने भ्रम पनि छ। तर, त्यसाे भने पटक्कै हाेइन।

युट्युब, फेसबुकमा जस्ताे टिकटकमा पनि भिडियाे राखेकाे भरमा त्यसबाट कत्तिपनि आम्दानी गर्न सकिँदैन। उदाहरणका लागि युट्युबमा भिडियाे राख्दा त्यसमा विज्ञापन (एडसेन्स) लगाएबापत आम्दानी गर्न सकिन्छ। त्यस्तै, फेसबुकले पनि क्रियटरलाई लक्षित गर्दै विज्ञापनबाट आम्दानी गर्न सकिने सुविधा ल्याएको छ। तर, टिकटक भने यी प्लेटफर्मभन्दा भिन्नै छ।

क्रियटरले राखेकाे कन्टेन्ट जतिसुकै धेरै प्रयोगकर्तामाझ पुगेपनि क्रियटरले टिकटकबाट प्रत्यक्ष रूपमा आम्दानी गर्न सक्दैनन्। यसैलाई लक्षित गर्दै टिकटकले लाइभ स्ट्रिममार्फत् क्रियटरले आम्दानी गर्ने फिचर सार्वजनिक गरेको हाे।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीले गरेको एक अनुसन्धानकाअनुसार टिकटकले प्रयोगकर्ताले टिकटकबाट गरेको आम्दानीको ७० प्रतिशत रकम आफूसँग राख्ने गरेको पाइएको छ।

विभिन्न देशमा रहेका शरणार्थी बालबालिकाहरू डिजिटल गिफ्ट पाउन घण्टौँ लाइभ स्ट्रिम गर्छन्। जसलाई पछि क्यासमा परिणत गर्न सकिन्छ। बिबिसीले गरेको खोजअनुसार उक्त प्लेटफर्ममा एक घण्टा लाइभ बस्दा ती बालबालिकाले घण्टामा १००० डलर (करिब एक लाख ३१ हजार ६७० रुपैयाँ) बराबरको गिफ्ट पाउने गर्छन्। तर, उनीहरूलाई त्यसको थोरै भागमात्र  जाने गर्छ।

टिकटकले यसरी गिफ्ट माग्नेहरूविरुद्ध विभिन्न कार्य गरिरहेको बताउँछ। टिकटक भन्छ, ‘हाम्रो प्लेटफर्ममा यस्ता कन्टेन्ट बनाएर गिफ्ट माग्न अनुमति दिइएको छैन।’

त्यस्तै, टिकटकले आफूले डिजिटल गिफ्टबाट ७० प्रतिशतभन्दा कम कमिसन शुल्क लिने बताएको छ। यद्यपि, टिकटकले कमिसनका रूपमा कति रकम लिन्छ भन्ने कुरा प्रस्ट छैन। यस वर्षको सुरुवातबाट नै टिकटक प्रयोगकर्ताले आफ्नो फिडमा सिरियन क्याम्पका विभिन्न परिवारले टिकटक लाइभमा दर्शकबाट सहयोग मागिरहेका कन्टेन्ट देखिरहेका छन्। जो पछिल्लो समय बढ्दै गइरहेकाे छ।

नेपालमा पनि टिकटकमा लाइभ बसेर रकम सहयोग (गिफ्ट) माग्नेको सङ्ख्या धेरै छ।

टिकटकमा पाइने गिफ्ट र तिनकाे मूल्य

लाइभ स्ट्रिममा अडियन्सले भर्चुअल गिफ्ट गुलाफ, चस्मा, हवाइजहाज, सिंहका रूपमा पठाउने गर्छन्, जसमा भर्चुअल सिंहको मूल्य ५०० डलर (करिब ६५ हजार रुपैयाँ) पर्ने गर्छ।

बिबिसीका अनुसार यो अनुसन्धान गर्नका लागि उसले करिब पाँच महिनासम्म ३० टिकटक प्रयोगकर्तालाई पछ्याएको थियो। ती प्रयाेगकर्ताहरूले सिरियन क्याम्पबाट लाइभ गरिरहेका थिए। यसबाट कतिपय प्रयोगकर्ताले हरेक अकाउन्टलाई एक घण्टामा करिब १००० डलर बराबरको गिफ्ट पठाउने गरेको पाइएको थियो।

उनीहरूले टिकटकमा गिफ्टका रूपमा त्यतिका रकम पाए पनि उनीहरूको हातमा त्यसको सानो अंशमात्र क्यासका रूपमा हातमा पर्ने गरेको बताएका छन्। टिकटकले यकिन रूपमा गिफ्टबाट कति रकम कमिसन लिन्छ? भन्ने कुरा नखुलाएपछि बिबिसी आफैँले परीक्षण गर्ने निर्णय गर्‍यो।

सिरियामा भएका बिबिसीका एक संवाददाताले टिकटकको मातहतको एजेन्सीलाई सम्पर्क गरेर आफू क्याम्पमा बस्ने गरेको कुरा बताए। उनलाई त्यो एजेन्सीले टिकटक अकाउन्ट उपलब्ध गरायो। उनलाई लन्डनमा रहेका बिबिसीका एक स्टाफले १०६ डलर बराबरको गिफ्ट पठाए।

त्यसको अन्त्यमा संवाददाताको अकाउन्टमा जम्मा ३३ डलर मात्र रहेको थियो। यसबाट टिकटकले ६९ प्रतिशत गिफ्ट भ्यालु कमिसनका रूपमा आफूले राखेको पाइयो। त्यसमा पनि उक्त अकाउन्ट तथा डिभाइस उपलब्ध गराउने एजेन्टले ३३ प्रतिशत लिने रहेछन्।

अन्तमा: लाइभ बस्नेले जम्मा १९ डलर क्यासका रूपमा निकाल्न सक्ने रहेछन्। एक एजेन्ट हमिडले बिबिसीलाई बताएअनुसार उनले आफ्ना वस्तुभाउ बेचेर विभिन्न परिवारका लागि मोबाइल फोन, सिम कार्ड, वाई-फाई आदि उपलब्ध गराउने रहेछन्।

अहिले हमिडले १२ परिवारलाई टिकटकमा लाइभ बसाउने गर्छन्। अन्य एजेन्टजस्तो हमिडलाई पनि ती एजेन्सीले सहयोग गर्ने रहेछन्। उनी भन्छन्, ‘यदि एपमा केही समस्या आयो भने उनीहरू हामीलाई सहयोग गर्छन्। उनीहरू विशेषगरी ब्लक भएका अकाउन्ट अनब्लक गरेर हामीलाई सहयोग गर्छन्। हामी उनीहरूलाई पेजको नाम, प्रोफाइल फोटो उपलब्ध गराउँछौँ। त्यसपछि ती एजेन्सीले टिकटक अकाउन्ट बनाइदिने गर्छन्।’

यस्ता एजेन्सीहरू विश्वभर नै फैलिएका छन्, जसले टिकटकसँग विभिन्न सर्तमा सम्झौता गरेका हुन्छन्। उनीहरूले नै लाइभ स्ट्रिम गर्न आह्वान गर्ने तथा क्रियटर उत्पादन गर्न सहयोग गरेका हुन्छन्। त्यसो गरेबापत टिकटकले ती क्रियटरलाई कमिसन दिने गर्छ।

टिकटकमा लाइभ गर्न न्यूनतम १००० फलोअर्स आवश्यक पर्छ।  टिकटकका अनुसार लाइमा बस्न पाइने भए पनि लाइभमार्फत् गिफ्ट माग्न भने पाइँदैन। यसका लागि टिकटकले एक सूचना जारी गर्दै सबै प्रयाेगकर्तालाई अनुरोध पनि गरेकाे बताउँछ । तर, बिबिसीले निगरानी गरेका ३० वटा अकाउन्टमा बालबालिकाले पूर्ण रूपमा गिफ्ट मागिरहेका थिए।

यसमा टिकटकले कुनैपनि नीति उलङ्घन गरेको आरोप लगाएको देखिँदैन। बिबिसीले यसबारे प्रतिक्रिया बुझ्न खोज्दा टिकटकले ती ३० वटै अकाउन्टमा प्रतिबन्ध लगाएको थियो।

यता, नेपालमा पनि टिकटकका प्रयाेगकर्ताकाे हालत उस्तै छ। नयाँ प्रयाेगकर्ताकाे फलाेअर्स बढाइदिने भन्दै पुराना प्रयाेगकर्ताले गेम जसरी गिफ्ट मागिरहेका हुन्छन्। उनीहरू पनि फलाेअर्स बढ्ने चक्करमा गिफ्ट दिइरहेका हुन्छन्।

टिकटकमा बढी गिफ्ट् दिनेहरू प्राय:वैदेशिक राेजगारीकाे सिलसिलामा बाहिर रहेकाहरू हुने गरेकाे पाइन्छ। बाहिर हुँदा आफूहरूलाई देशप्रति बढी चासाे र प्रेम हुने हुँदा यताका मानिससँग जाेडिन पाउँदा आफूहरूलाई गिफ्ट दिन खासै अप्ठेराे नलाग्ने एक टिकटक प्रयाेगकर्ता बताउँछन्।

नेपाली ‘सेलिब्रेटी’काे ‘टिकटक माेह’

सुरुवाती चरणमा नव प्रतिभाकाे लागि राम्राे प्लेफर्म बनेकाे टिकटकमा पछिल्लाे समय स्थापित कलाकारहरू पनि झुम्मिन थालेका छन्।

कलाकारहरू टिकटक बनाउँदैनन् मात्र, उनीहरू लाइभ पनि आउँछन्। लाइभमा आफ्ना फ्यानहरूसँग गफगाफ गर्नु त सामान्य कुरा हाे। तर, रमाइलाे कुरा त के भने उनीहरू गिफ्ट माग्न पनि पछि पर्दैनन्।

एकपटक टिकटकमा मागेकाे गिफ्टकै कारण अभिनेत्री वर्षा राउत  पनि ट्राेलकाे सिकार भएकी थिइन्। लाइभमा बसेकाे बेला उनी आफूले त चस्मा गिफ्ट मागिन्। छेउमा रहेकी उनकी आमाले आफ्नाे कुकुरलाईसमेत गिफ्ट माग्न लगाएकाे कुराले उनी ट्राेलकाे सिकार हुन पुगेकी हुन्। त्यतिबेला उनले भनेकाे एउटा वाक्य-  ‘गाइज मेरो पप्पीलाई चश्मा लगाइदिनुस् त प्लिज’ निकै भाइरल भयाे र उनीमाथि धेरै गस्सिप र ट्राेल बने।

उनी मात्र हाेइन, टिकटक लाइमा आएर ट्राेलकाे सिकार भएकी अर्की अभिनेत्री गरिमा शर्मा पनि हुन्। तर, उनी गिफ्टभन्दा पनि गायक तथा माेडल दुर्गेश थापासँगकाे प्र्यांकका कारण विवादमा मुछिएकी थिइन्।

एकताका टिकटकमा एकदमै देखिने कलाकारकाे नाम जय किसान बस्नेत पनि हाे। उनीसँगै अरू धेरै कलाकार छन् जाे टिकटकमा धेरै झुमिन्थे। यसका साथै अन्य चर्चित नाम: गायिका रचना रिमाल, कलाकार तथा मोडल सुष्मा कार्की, कलाकार करिस्मा ढकाल र अञ्जली अधिकारी, टेलिसिरियल ‘सक्किगोनी’का चर्चित पात्र ‘काकु’ अर्थात्, दीपक आचार्य, ‘सीते बा’ अर्थात् मधुसूदन पाठक, हाँस्य कलाकार राजाराम पौडेलदेखि ‘बान्द्रे’ नामले परिचित सुरज चापागाईं, लोक गायिका चन्दा अर्याल र गायिका मधु क्षेत्री पनि टिकटकमा गिफ्ट माग्ने हाेडबाजीमा अग्रपङ्किमा थिए। ट्राेलकाे सिकार भएपछि कतिले गिफ्ट माग्न छाडे भने कतिले अझै माग्दैछन्।

कलाकार, पत्रकार, शिक्षक, निजामती कर्मचारी जाे काेही पनि आफ्नाे पेशागत मर्यादालाई एकापट्टि राखेर यसैमा लागेका हुन्छन्। यसकाे प्रमुख कारण हाे- यसबाट हुने कमाइ।

काेराेना महामारीका कारण थलिएकाे कला क्षेत्रका लागि सजिलाे कमाउ माध्यम बनेकाे टिकटकमार्फत् धेरै सेलिब्रेटीले  राम्राे लाभ लिएकाे पाइएकाे छ।

 

असोज २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्