नेपालमा कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (असोज २३ देखि २९ सम्म)

चाडबाडका बेला केही बढ्यो कोरोना संक्रमण

हाल विश्वमा कोरोना संक्रमण र यसको प्यान्डेमिक निर्मूल हुने क्रममा रहे पनि विश्वका केही देशहरुमा हाल पनि कोरोना संक्रमण अत्याधिक देखा परिरहेका छन्। तीमध्ये एक हो युरोपेली देश जर्मनी हो।

जर्मनीमा बिगत करिब ५ हप्ता अर्थात् सेप्टेम्बर महिनाको सुरुवातीदेखि कोरोना प्यान्डेमिकको नयाँ लहर सुरु भई हाल पनि निरन्तर रहेको देखिन्छ। हाल विश्वमा प्यान्डेमिकको झन्डै अन्तिम अवस्था भनेर भनिए पनि फेरि नयाँ लहर त्यो पनि अति बिकसित देशमा देखिनु अचम्म लाग्ने कुरा हो। सायद प्यान्डेमिकको असली र वास्तविक रुप यही नै हो।

वर्ल्डोमिटरका अनुसार अनुसार हाल त्यहाँ दैनिक करिब डेढ लाख जनामा नयाँ संक्रमण देखिने गरेको छ भने दैनिक करिब डेढ सय जनाले यसैका कारण ज्यान गुमाउने गरेका छन्। त्यस्तै अमेरिका र अन्य केही युरोपेली देशहरु, जापान कोरिया आदिमा पनि दैनिक संक्रमण र मृत्यु प्रसस्तै देखिने गरेको छ।

विश्वसँगै नेपालमा पनि कोरोना संक्रमण निर्मूलीकरणतिर उन्मुख हुँदै गएको देखिन्छ। नेपालमा कोरोना संक्रमण घट्दै जाने क्रममा गत सेप्टेम्बर महिनाको तेस्रो सातादेखि दैनिक  संक्रमण दर अर्थात् पोजिटिभिटी ५% भन्दा कम हुँदै गएको थियो जसको अर्थ डब्लुएचओका अनुसार प्यान्डेमिक नियन्त्रण हुँदै गएको छ भन्ने लाग्दछ। तत्पश्चात नेपालमा यही कोरोना नियन्त्रित अवस्था निरन्तर रहे पनि दुई हप्ताअघि दैनिक संक्रमण दर केही बढ्न खोजेको गत हप्ताको अंकमा पनि उल्लेख भएको थियो। अक्टोबर महिनाको सुरुवातीदेखि दशैं पर्वको भिडभाडले हुन सक्ला, संक्रमण दरमा केही वृद्धि भएको थियो। दुई हप्ताअघि दैनिक संक्रमण दरमा वृद्धि भई करिब १०% सम्म पुगेको थियो।

यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उधृत गरिएका तथ्यांकहरु विभिन्न स्रोतहरुबाट लिइएका हुन्, जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, वर्ल्डोमिटर (Worldometer), आवर वर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) आदि। यस लेखको उद्देश्य कोरोना सम्बन्धी तथ्यांकलाई सही रुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकवर्ग समक्ष पुर्‍याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण निकै न्यून देखिन्छ। हाल दक्षिण एसियामा दैनिक कोरोना संक्रमण अझै घट्दो प्रबृत्तिको छ। दक्षिण एसियाको पछिल्लो करिब चार हप्ता, सन् २०२२ सेप्टेम्बर १५ देखि अक्टोबर १२ (२८ दिन)को कोरोना प्यान्डेमिक सम्बन्धि तथ्यांकको विश्लेषण चित्र नं. १ मा देखाइएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियामा कोरोना संक्रमण क्रमश: घट्दै गई दैनिक संक्रमण न्यून देखिन्छ। पछिल्लो अवास्थामा दक्षिण एसियामा समग्रमा दैनिक करिब ३५००-४००० संक्रमण देखिने गरेको छ। पछिल्लो समय दक्षिण एसियाका अधिकांश देशहरुमा दैनिक कोरोना संक्रमण घट्दै गएको छ।

त्यस्तै दक्षिण एसियामा पछिल्लो समय दैनिक मृत्यु पनि क्रमश: घट्दै गएको देखिएको छ। पछिल्लो समय दैनिक करिब २०-२५ मृत्यु देखिने गरेको छ।

नेपालको दैनिक नयाँ संक्रमण

सन् २०२२ अक्टोबर ९ देखि १५  (बि.सं २०७९ आश्विन २३ देखि २९) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नया संक्रमणको प्रबृत्ति चित्र न. २ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ताको सात दिन, आश्विन २९ गते शनिबारसम्म, देशभरि जम्मा २५७  जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या १०००१२३ पुगेको छ। साप्ताहिक कुल संक्रमण संख्या दुई र तीन हप्ताअघि क्रमश: १०७ र २२४ थियो।

त्यस्तै चित्र नं. २ले नेपालको गतहप्ताको दैनिक कोरोना संक्रमण दरको प्रबृत्ति पनि देखाएको छ। गतहप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम १.५४% देखि अधिकतम ६.२१% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ४.६७% रह्यो जुन दुई र तीन हप्ताअघि क्रमश: ४.०२% र २.९८% थियो।

नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गइरहेको अवस्थामा बिगत दुई हप्तादेखि फेरि कोरोना संक्रमण दर बढेको छ। गत साता संक्रमण दर धेरै जसो दिनहरुमा ६% भन्दा माथि रह्यो। त्यसभन्दा पहिलाको साता दैनिक संक्रमण दर करिब १०% सम्म पुगेको थियो।

नेपालमा कोरोना मृत्यु भने सुन्ना समान भइसकेको छ। गतहप्ता साताभरिको कोरोना मृत्यु ० रहेको छ र यसरी हालसम्मको देशको जम्मा कोरोना मृत्यु १२०१८ पुगेको छ।

गतहप्ता देशभरि जम्मा ६०२८ पीसीआर परिक्षण गरियो जुन संख्या दुई र तीन हप्ताअघि क्रमश: ३२४७ ७८८३ थियो।

संक्षेपमा, पछिल्लो समय विश्व र दक्षिण एसियाको समग्र  दैनिक कोरोना संक्रमणमा बिगत करिब एक महिनादेखि कमी देखिंदै आएको छ। दैनिक कोरोना मृत्युको प्रबृत्ति पनि पछिल्लो समय घट्दै गएको देखिन्छ।

नेपालमा गतहप्ता, बि.सं २०७९ आश्विन २३ देखि २९, साप्ताहिक नयाँ कोरोना संक्रमण दैनिक संख्याको हिसाबले सानो भए पनि माथि उल्लेख गरिए जस्तै यो संख्या दुई हप्ताअघिकोभन्दा अढाइ गुणा र तीन हप्ताअघिकोभन्दा अझै ठूलो देखिन्छ। त्यस्तै दैनिक संक्रमण दर पनि, दैनिक र साप्ताहिक औसतको हिसाबले, केही बढेको देखिन्छ। यसरी गतहप्ता दैनिक संक्रमण संख्या र संक्रमण दर बढ्नु बिगतकोभन्दा परीक्षण संख्या धेरै हुनाको कारण र दशैं पर्बको भिडभाडको कारणले पनि हुन सक्दछ। जे भए पनि यसरी संक्रमण बढ्नु खतराको संकेत हुन सक्दछ। प्यान्डेमिककालमा प्रसस्त परीक्षण गर्नु नै संक्रमणको रोकथाम र उन्मुलनको एक प्रमुख उपाय हो।

स्मरण रहोस्- WHO का अनुसार दैनिक संक्रमण दर ५% भन्दा माथि हुनु संक्रमण नियन्त्रण भन्दा बाहिर गएको लक्षण हो।

नेपालमा गत जुलाई महिनाको मध्यदेखि बढ्दै गएको कोरोना संक्रमण अगस्ट महिनाको पहिलो सातातिर उच्च बिन्दुमा पुगी बिगत करिब दुई महिना देखि घट्दै गएको थियो।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशहरुमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्दछ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती साबित हुन सक्दछ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दुरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनाबश्यक भिडभाड नगर्ने आदि साबधानीका कुराहरु कडाइका साथ अपनाउनु पर्ने देखिन्छ। पछिल्लो समय अन्य देशहरुमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।

यस लेख नेपालमा साप्ताहिकरुपमा प्यान्डेमिक हेर्ने ऐनाको  रुपमा प्रस्तुत  गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकको बारेमा तथ्यांकले जे देखाउँछ, त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक बिरुद्धको हाम्रो लडाईं जारी छ, होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

prabinshrestha@hotmail.com

(लेखक कन्सल्टेन्ट न्यूरोसर्जन हुन्।)

असोज ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्