तिहार बजार : बत्ती–माला महंगियो, तर रौनक उस्तै (भिडियोसहित)

काठमाडौँ – फूल, बत्ती तथा भाइ–चेलीको सम्बन्धको पर्व तिहारको रौनक अहिले अधिकांशको घरमा छ।

तिहारको रौनक काठमाडौँको मुख्य सहरी क्षेत्रमा झन् बाक्लो रुपमा देखिएको छ। तिहारका लागि किनमेल गर्न पुग्नेहरुको भिडभाड काठमाडौँका असन, न्यूरोडसहितका क्षेत्रमा देखिन्छ ।

तिहार हिन्दू धर्मावलम्बीहरुको दसैँपछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ ।

यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई र लक्ष्मी, गोरु-गोवर्धन र भाइ पुजा गरिन्छ । पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूको अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ ।

यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने पौराणिक मान्यता रहिआएको छ । तिहार भनेको प्रकृतिपूजक पर्व पनि हो । वर्षभरि काममा लगाइने जीवजन्तुदेखि सन्देशबाहक पन्छी काग र पानीको प्रमुख स्रोत मानिने पर्वतको पूजा गर्नु भनेको प्रेम, सद्भाव र मैत्रीको प्रतीकसमेत हो ।

तिहार नजिकिएसँगै देशभर किनमेलका लागि नजिकको बजार जाने मानिसहरुका कारण स्थानीय हाटबजारहरु व्यस्त बन्न थालेका छन्। काठमाडौँको इन्द्रचोक पनि पनिबेला मखमलि माला, माटोको दियो, भाइ मसला, रंगोलि लगायतका सामानले भरिभराउ बनेको छ।

कोही बजारमा ६० रुपैयाँ ६० रुपैयाँ भन्दै कराइरहेको मखमलि माला किन्नमा व्यस्त छन् त कोहि सप्तरंगि टीका किन्न।

इन्द्रचोकमा भेटिएकि करिब ३८/३९ वर्षीय एक महिला आफूहरु विगत १७/१८ बर्षदेखि फूलको माला बेच्दै आएको बताउँछिन्।

‘मैले यसरी माला बेच्न थालेको त १७/१८ वर्ष नै भइसक्यो त्योभन्दा अघि पनि मेरो सासूममि हरुले गर्नुहुन्थो’ उनी भन्छिन्, ‘मैले सुरुका वर्षहरुमा माला बेच्दा १५ रुपैयाँ २० रुपैयाँमा बेच्ने गरेको थिए अहिले(यसवर्ष) ६० रुपैयाँले बेच्दै छु।’

यसवर्ष सामान्यभन्दा धेरै वर्षा भएका कारण पनि फूलखेती राम्रोसँग फष्टाउन नसकेको उनी बताउँछिन्।

महानगरको फुटपाथमा ब्यापार व्यवसाय गर्न नपाइने नियमले गर्दा भने उनीहरुले केही सास्ती भोग्नुपरिरहेको छ। फूटपाथमा मखमली माला, सप्तरंगी टीका लगायतका सामाग्री बेचेरहेका व्यक्तिहरुलाई भने महानगरले त्यहाँबाट हटाइरहेको थियो।

यता झिलिमिलि बत्तिमा भने बर्सेनि मूल्य वृद्ध भइरहेकोले सोचे अनुरुपको व्यापार नभएको व्यवसायीहरु बताउँछन्।

‘विश्व बजारमा नै महङ्गि बढेकोले पनि होला झिलिमिलि बत्तिको मूल्य विगतका वर्षहरुमा भन्दा केही बढेको छ’ उनी भन्छन्, ‘महङ्गिका कारण व्यापार पनि सोचेजस्तो छैन।’

गत वर्षको तिहारमा १५ कारोड २० लाख ७५ हजार रुपैयाँभन्दा बढीको फूलको कारोबार भएको थियो।

काराबार भएकामध्ये सबैभन्दा बढी सयपत्री फूल १२ करोड ७० लाख ५० हजार, मखमली एक करोड ६७ लाख ७५ हजार, गोदावरी ५२ लाख ५० हजार र ३० लाख रुपैयाँको मखमली विभिन्न देशमा निर्यात भएको थियो।

कात्तिक ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्