त्याे अविस्मरणीय मार्दी ट्रेक

साथीहरू आशिष, श्रद्धा र सुरेन्द्र मार्दी बेसक्याम्पमा फाेटाे खिचाउँदै।

बिहानको साढे चार भइसकेको थियो। चल्दै गरेका पाइला टक्क रोक्किए। टेको लगाएझैँ दुवै हात कम्मरमा राखेँ। टाउको अलिक माथि उचालेर हेरेँ- ठाडै उकालो। उकालो देखेर हिँड्ने जाँगर हरायो।

लामो सुस्केरा हालेपछि फ्याट्ट निस्कियो,‘योभन्दा माथि म जान सक्दिनँ।’

‘म सक्दिनँ’ भन्ने सुनेपछि मभन्दा एक कदम अगाडि हिँडिरहेका साथी रोकिए अनि मतर्फ फर्किए। बढिरहेको स्वासलाई रोक्न खोज्दै उनले भने, ‘तिम्लाई धेरै गाह्रो भयो हो?’

‘अँ’ भन्ने भावमा टाउको हल्लाएँ।

बोलेर उत्तर दिन सक्ने अवस्थामा थिइनँ म। उभिएको ठाउँबाट हलचल गर्न मन लागिरहेको थिएन। अलिकति कोल्टो परेँ र आफूभन्दा पछाडि हिँडिरहेकालाई बाटो दिन खोजे।

‘भर्‍याङका तीनवटा खुड्किला हेरेर हिँड्ने प्रयास गर त। उकालो चढ्न तिमीलाई केही सहज हुन्छ’, हिँड्नका लागि हौसला दिँदै थकित स्वरमा अल्लि माथिल्लो खुड्किलामा उभिरहेका साथीले भने।

उनको भनाइको तात्पर्य उकालो बाटो हिँड्दै गर्दा धेरै माथिसम्म हेर्‍याे भने हिँड्न गाह्रो हुन्छ भन्ने थियो। तीनवटा खुड्किला हेर्नु त परै जाओस्, म एउटा खुड्किलो हेरेर पनि अगाडि बढ्न नसक्ने हालत भइसकेको थियो। यो कुरा साथीलाई भन्न मन लागिरहेको थियो।

तर, बोलेर उत्तर दिने शक्ति थिएन। बरु उनको त्यो भनाइलाई नसुनेझैँ गरिदिएँ। मेरो मौनतालाई चिर्न खोज्दै उनले भने फेरि त्यही कुरालाई जोडे, ‘धेरै माथिसम्म हेर्‍याे भने उकालो चढ्न गाह्रो हुन्छ। बिस्तारै बिस्तारै हिँड, सकिहालिन्छ नि।’

उनले यति जोड गरेपछि केहीबेर रोकिएका पाइला अगाडि बढाउने कोशिस गरेँ। र, अगाडि बढ्न नखाेजिरहेका खुट्टालाई बलजफ्ती अगाडि बढाउन खाेजेँ। बिस्तारै केहीबेर हिँडेपछि पाइला फेरि रोकिने क्रम बढ्दै गयो। माथि चढ्न खोजिरहेका पाइला तल-तल झर्न खोज्दै थिए।

झिसमिसे अँध्यारो थियो। बिहानीको किरणले अँध्यारोलाई बिस्तारै-बिस्तारै चिर्दै गएको थियो। झुल्किदै गरेको घामको किरणले बाटामा बिछ्याइएका ढुङ्गाहरू टल्किरहेका थिए। ढुङ्गामाथिको शीत अझ बढी टल्किरहेको थियो।

जति-जति माथि पुग्दै थियौँ, त्यति-त्यति चिसो सिरेटोले हानिरहेको थियो। मन्द-मन्द चलिरहेको चिसो हावा कानमा ठोक्किँदै थियो। अलिअलि कान दुख्न थालिसकेका थिए। नाकबाट पानी बग्न थालिसकेको थियो।

स्वास फुलेर मुटु बाहिर निस्केलाझैँ भइरहेको थियो। पाइला चाल्न निकै गाह्राे भइसकेको थियो। खुट्टा लरबरिरहेका थिए।

तिनै लरबराइरहेका खुट्टा फेरि अर्को पटक बीच बाटोमै रोकिए। रोकिएको ठाउँबाट हलचल गर्न मन थिएन। दोस्रो पटक पनि बीचमै पाइला रोकिँदै गर्दा अब फर्किनु पर्छ भन्ने भाव नआएको पनि होइन। तर मन भने फर्किन तयार थिएन।

उकालो चढ्ने तागत थिएन। फर्किन पनि रत्तिभर मन थिएन। ४ हजार ५ सय उचाइँमा पुग्ने हुटहुटी कमजोर हुँदै गइरहेकाे थियाे।

‘सक्दैनौ भने तिमी फर्क्याै न त’, थकित स्वरमा साथीले दिक्क मान्दै भने।

साथीले फर्क भनिरहँदा मलाई आफू कति कमजोर रहेछु भन्ने महसुस भइरहेको थियो। सोच्दै थिएँ, ‘उकालो चढौँ या ओरोलो झरौँ!’

त्यही बेला हिमालले चिसो हावा बेस्सरी हम्कियो। अनि मन चङ्गा भएर फुरुङ्ग भयो। हावासँगै मन उड्न थाल्यो। झुल्किँदै गरेको घामका किरण परेपछि सुनजस्तै टल्किएको हिमालको अलिकति दृष्य आँखामा ठोक्कियो।

मार्दीकाे भ्यूपाेइन्ट।

यो दृष्यलाई अझै नजिकबाट हेर्ने मोहले मलाई ‘मार्दी हिमाल’को भ्यू पोइन्टसम्म कतिबेला पुर्‍यायाे पत्तै भएन। भ्यू पोइन्ट पुग्दा सुनको जलप लगाएको जस्तै हिमाल बिस्तारै चाँदीमा परिणत हुँदै थियो।

हिमालको बिहानको सुन्दर दृश्य देख्नेबित्तिकै थकान पुरै हटेर गयो। अरू पर्यटकजस्तै हामीले पनि हिमाललाई पृष्ठभूमिमा राखेर केही थान फोटोहरू खिच्यौँ। अनि हामीहरूले न्यानो एक-एक कप चिया पियौँ। र, फेरि ‘मार्दी बेस क्याम्प’का लागि अगाडि बढ्यौँ।

मार्दीका लागि योजना

२०७८ सालको असोज सुरु भएसँगै बन्दै गएको योजना कात्तिक ५ गते सफल भयो। योजनाले पूर्णता पाउँदासम्म काठमाडौँबाट तीन जना (श्रद्धा, प्रविन र प्रतिभा)मा सीमित भयौँ। हामी मार्दी जाने या नजाने भनी दाेधारमा थियाैँ।

जसरी हुन्छ जानैपर्छ भन्ने निष्कर्ष निकाल्यौँ। हामी दुईजना केटीसँग आफू एक्लै भएका कारण प्रविनलाई अलि असहज भएको थियो सायद। योजनाको बनेको अन्तिम क्षणमा उनले आफ्ना भाइ (आशिष)लाई आफूसँग मार्दी जान अनुरोध गरे। र, आशिष पनि हामीसँग जान तयार भए। सँगै पोखरामा थिए- सुरेन्द्र।

आशिष र सुरेन्द्रसँग पोखरामा भेट हुने योजनाका साथ श्रद्धा, प्रविन र म कात्तिक ५ गते बिहान ७ बजे काठमाडौँबाट यात्रा सुरु गर्‍याैँ। पोखरा पुग्दा दिउँसोको दुई बज्नै लागेको थियो। फ्रेस भयौँ, खाना खायौँ। त्यसपछि भेट भयो- पोखरामा भेट हुने दुई जना साथी आशिष र सुरेन्द्रसँग। अनि सुरु भयो- हाम्रो मार्दीको यात्रा।

पहिलो दिनको यात्रा

हामी काठमाडौँबाट हिँड्दा मौसम विभागले देशभर वर्षा हुने पूर्वानुमान गरेको थियो। हामीभन्दा अगाडि गएकाहरू पानी परेका कारण खिन्न भएर फर्किएका थिए। हामी पनि कतै फर्किन पर्ने हाे कि भन्ने डर कता-कता मनमा रहेकाे थियो।

तर मार्दी पुग्ने निधो गरिसकेपछि मौसमका कारण रोकिनेवाला हामी थिएनौँ। पोखराबाट काँडेका लागि गाडी चढ्दैगर्दा पानी परेको खण्डमा चाहिने प्लाष्टिकलगायत सर-सामानको जोहाे गर्‍याैँ।

बादलडाँडामा चर्दै गरेका खच्चडहरू।

काँडे पुग्दा साँझको चार बजिसकेको थियो। भर्खरै पानी परेर रोकिएका कारण मौसम अलिक चिसो थियो। त्यही चिसो मौसममा पैदल यात्राको हाम्रो पहिलो खड्किलो सुरु भयो। अष्ट्रेलियन क्याम्प हुँदै साँझको करिब ६ बज्नै लाग्दा पोथाना पुग्यौँ। सिमसिम पानी पर्न सुरु गरेको थियो।अँध्यारोमा उकालो लाग्नुभन्दा त्यही बस्ने निधो हामीले गर्‍याैँ।

कोठामा झोला राखेर फ्रस हुदै थियौँ, बेस्सरी पानी दर्किन थाल्यो। एक-एक कप चिया खायौँ। एकछिन गफ गर्‍याैँ। मार्दी सजिलै पुगिएला कि गाह्राे हाेला भन्ने कुराकाे एकैछिन चर्चा चलायाैँ। यसै क्रममा कुरा निस्कियो- भोलि कहाँ बस्ने?

प्रविनले भने, ‘भाेलि लोक्याम्प अनि पर्सि हाइ क्याम्प।’ मैले सोधे, ‘यहाँ पोथानाबाट लोक्याम्प पुग्न कति समय लाग्छ र?’

‘४-५ घण्टा लाग्छ। तर फेरि आ-आफ्नो हिडाइँमा भर पर्छ’, सुरेन्द्रले भने। फेरि मैले सोधेँ, ‘अनि लोक्याम्पबाट हाइक्याम्प पुग्न नि?’
सुरेन्द्रले उत्तर दिए,‘त्यस्तै ४ घण्टा जति।’

‘यहाँ (पोथाना)बाट लोक्याम्प अनि लोक्याम्पबाट हाइक्याम्प गर्नुभन्दा सिधै हाइक्याम्प जान सकिँदैन र’, मैले सोधेँ। यो विषयमा प्रविन बोल्न उचित नठानेरै ‘तिमीहरू सल्लाह गर’,भने।

त्यत्तिकैमा आशिषले भने, ‘मैले पनि त्यही भनेको हाे। भोलि अलि बिहानै यहाँबाट निस्कौँ। साँझ ६ बजेसम्म हाइक्याम्प कसो नपुगिएला र? कोसिस गरौँ जहाँसम्म पुगिन्छ, त्यहीसम्म जाऔँ। आशिषकाे कुरामा मैले पनि हुन्छ भन्ने सहमति जनाए। तर, एकै दिनमा हाइक्याम्पसम्म पुग्ने कुरामा सुरेन्द्र भने सहमत हुन सकेनन्। उनी रिसाए।

भोलिपल्ट लोक्याम्पमै बस्नु पर्नेमा उनले जाेड दिए। तर हामी पनि कम थिएनौँ। हाइक्याम्पमै पुग्ने अडान लिइरह्यौँ। र, अन्तिममा हाइक्याम्पबाट फर्किँदै गर्दा लोक्याम्पमा बस्ने सहमतिसहित उनी पनि तयार भए।

यतिन्जेल टेबलमा खाना आइसकेको थियो। खाना खायौँ र बिहान ६ बजे उठ्ने याजना बनाएर आ-आफ्ना कोठामा लाग्यौँ।
रातभरि बेस्सरी पानी पर्‍याे। सिरकभित्र गुट्मुटिएका हामी डराइरहेका थियौँ। भोलि पनि यसरी नै पानी पर्‍याे भने? श्रद्धा र म यही कुरा गर्दागर्दै निदाएछौँ।

दोस्रो दिन

बेलुका बिहान ६ बजे उठ्ने योजना बनाए पनि हामी ७ बजेतिर उठ्यौँ। रातभरि पानी परे पनि बिहान आकाश खुलेको थियो। हामी तयार भएर खाजा खायौँ र हाइक्याम्पका लागि निस्कियौँ। त्यहाँबाट निस्कँदा साढे सात भइसकेको थियो।

काँडेबाट पाेथानातिर लाग्दै गर्दा।

हामी बिस्तारै उकालो चढ्न थाल्यौँ। आकाश धुम्म भइरहेको थियो। रुखैरुखको बीचको बाटोमा हिँडिरहेका थियौँ, हामी। ओरोलो झरिरहेकाहरू सोध्दै थिए, ‘कहाँबाट हिड्नुभ’को आज?’

हामी उत्तर दिन्थ्यौँ,‘पोथाना।’

पोथाना, देउराली हुँदै १२ बजेतिर फरेस्ट क्याम्प पुग्यौँ। त्यही खाना खायौँ, केही थान फोटो खिच्यौँ र त्यहाँबाट गन्तव्यतर्फ लाग्यौँ। काठमाडौँको कोलाहल, धुँवाधुलोबाट धेरै टाढा थियौँ- हामी। जति बाटो बढ्दै थियो, त्यति नै प्रकृतिसँग नजिक हुँदै थियौँ। छुट्टै माहोल थियो, त्यो।

मोहित बनाउने चराहरूको चिरबिर आवाज। बाटोको छेउछाउमा फुलेका स-साना सुन्दर फूलहरू। प्रकृतिकाे यस्तो सामीप्यतामा जो कोही पनि लठ्ठ हुन्छ।

हाइक्याम्प।

प्राकृतिक सुन्दरतामा रमाउँदारमाउदै साढे तीन बजेतिर लोक्याम्प पुग्यौँ। एउटा होटलभित्र छिर्यौँ, चिया खायौँ। भोलिपल्ट फर्केर त्यही होटलमा बस्ने टुङ्गो लगायौँ। बोकेको भारी (झोला)लाई हलुङ्गो बनाउन नचाहिने केही सरसामान त्यही छाड्यौँ। ४०-४५ मिनेट थकान मारेर फेरि हामी उकालो लाग्यौँ।

कोही अगाडि कोही पछाडि गर्दै आफ्नै रफ्तारमा हिडिरह्यौँ। बादलडाँडा पुग्दै गर्दा माछापुच्छ्रे हिमाल देखियो। अस्ताउनै लागेको घामले हिमाल सुनजस्तै टल्किँदै थियो। त्यो दृश्यले हामी अझै उत्साहित भयौँ। जति उकालो चढ्दै थियौँ, त्यति सुन्दर दृश्यहरू देखिँदै थिए। जसले गर्दा हिँड्ने जाँगर झन् बढेर आयो।

साँझको करिब ७ बजेतिर हामी हाम्रो गन्तव्यमा अर्थात् हाइक्याम्प पुग्यौँ। एकछिन आगो ताप्यौँ। हाइक्याम्पमा अलि बढी चिसो थियाे। एकछिन पनि आगो छोड्नै मन नलाग्नेजस्तो। झोला बोक्यौँ र कोठातिर लाग्यौँ। मलाई अलि धेरै नै भोक लागिरहेको थियो। हामी छिटोछिटो फ्रेस भयौँ र डाइनिङतिर लाग्यौँ।

आगो ताप्दै खाना खायौँ। खाना खाएर केहीबेर आगो तापेर बस्यौँ। थकाइ लागेको थियो। भोलि बिहानै उठेर बेस क्याम्पसम्म पुग्नु पो थियो। जसले गर्दा चाँडै सुत्ने योजना बन्यो र सुत्न गयौँ।

भ्यूपाेइन्टबाट हाइक्याम्पतिर झर्दै गर्दा।

तेस्रो दिन

कसैले ठोका ढकढक गर्‍याे। सिरानीमुनि भएको मोबाइल झिक्दै समय हेरेँ। बिहानको साढे ३ भएको थियो। समय हेरेर मोबाइल लक गर्न नपाउँदै आवाज आयो, ‘ल उठौँ हैँ उठौँ, सबै जना गइसके।’

यो आवाज सुरेन्द्रको थियो। सबै गइसके भन्ने सुन्नेबित्तिकै मेरो निन्द्रा उडेर गयो।अर्को खाटमा सुतिरहेकी श्रद्धालाई उठाएँ। केहीबेरमा सुरु भयो हाम्रो- मार्दी बेस क्याम्पको यात्रा। होटलबाट निस्कँदा ४ बजिसकेको थियो। टाढा-टाढासम्म लाइटको उज्यालोमात्र देखिन्थ्यो। अरूले जस्तै हामीले पनि लाइटको उज्यालोसँग हिँडिरहेकाहरूलाई पछ्याउँदै उकालो लाग्यौँ।

नाकै ठोक्किने उकालो। त्यही उकालो बाटोको छेउछेउमा लालीगुँरासका रूखहरू। लालीगुराँस फुल्दा त्यो ठाउँ कति मोहक देखिन्छ होला? त्यो बेलाको प्राकृतिक सौन्दर्यको वर्णन गरिसाध्य थिएन।  आफ्नो नजिकबाट मार्दी, अन्नपूर्ण र माछापुच्छ्रेलाई नियाल्दा लगातार हिँडाइको थकान यसै हराएर गयो।

लालीगुराँसका रुखले छेकिएकाे हिमश्रृंखला

त्यहाँ पुग्दा बेस क्याम्पका लागि उकालो उक्लिँदै गर्दा भएको त्यो गाह्रो क्षणभरमै विलीन भयो। केहीबेर त्यही बस्यौँ, फाेटो खिच्यौँ र मिठो स्मरणका साथ ओरालो लाग्यौँ। हाइक्याम्प आएर फेरि उही शैलीमा झोला बोक्यौँ। अनि लाग्यौँ, लो क्याम्पतिर।

 

चौथो दिन

चौथो दिनमा भने हामीलाई कुनै हतार थिएन। पोखरा जतिबेला पुगे पनि हुन्छ भन्ने हिसाबले आरामले बस्याैँ। बिहानको खाजा खाएर करिब ८ बजेतिर लो क्याम्पबाट सिधिङको ओरोलो झर्‍याैँ। अविष्मरणीय क्षण मानसपटलमा कैद गर्दै नयाँ जोस र ऊर्जाका साथ हामी सिधिङ पुग्यौँ। त्यहाँबाट जीपमार्फत् पोखरा फर्कियौँ। र, भोलिपल्ट बिहानै काठमाडौँतर्फ लाग्यौँ।

कात्तिक ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्