धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस

‘आयुर्वेदिक औषधिको जथाभावी प्रयोगले असर गर्नसक्छ’

काठमाडौँ – आयुर्वेद विज्ञानका प्रवर्तक धन्वन्तरीको स्मरणमा आज देशभर धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस कार्यक्रम मनाइँदै छ।
हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन देशभरका आयुर्वेद संस्थाहरुले यो दिवस मनाउँदै आएका छन्।

धन्वन्तरीका बारेमा विभिन्न किंम्बदन्तीहरु रहेका छन्। उनलाई कतिपयले समुद्र मन्थन गर्दा निस्किएका विष्णु भगवानको अवतारका रुपमा लिन्छन् भने कतिपयले धन्वका पुत्र काशीराज दिवोदास नै धन्वन्तरी भएको भन्ने गरेको पाइन्छ।

तर आयुर्वेदमा भने धन्वन्तरीलाई स्वस्थ व्यक्तिलाई स्वस्थ राख्न र रोगी व्यक्तिलाई रोग निराकरण गर्ने व्यक्तिका रुपमा सम्झिने गरिन्छ। धन्वन्तरी जयन्ती तथा आरोग्य दिवसको अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायले पछिल्लो समय मानिसहरुले आफ्नो आहार विहार र निन्द्राजस्ता व्यवहारलाई ध्यान नदिँदा अस्वस्थता बढ्दै गएको बताए।

उनले भने,‘स्वस्थ रहने उपाय हामी आफैसँग छ। यही कुरालाई मनन् गरी प्रत्येक व्यक्तिले संयमित जीवनशैली, उचित आहार विहार योगासन, ध्यान, प्रणायम आदिको माध्यमबाट सामान्य स्वास्थ्यको नियमलाई व्यवहारमा उर्तान सक्नुपर्छ। स्वस्थ जीवनशैलीको माध्यमबाट नै आरोग्य, आत्मविश्वास र वौद्धिक मनोवल वृद्धि गर्न सकिन्छ।’

यस्तै डा. उपाध्यायले चिकित्सकको सल्लाह बिना आयुर्वेदिक औषधि सेवा गर्दा स्वास्थ्यमा असर गर्ने बताए।

‘औषधिले रोगलाई निको पार्छ, तर त्यसको जथाभावी प्रयोग गर्दा नकारात्मक असर पनि गर्न सक्छ। त्यसैले आयुर्वेदिक औषधि भन्दैमा जथाभावी सेवन गर्नु हुँदैन’, उनले भने, ‘जसरी एलोपेथिक औषधि जथाभावी खाँदा मिर्गौला, कलेजोलगायतका शरीरका अंगहरु असर पुग्छ। त्यसरी नै आयुर्वेदिक औषधिले पनि असर गर्छ। चिकित्सकको सल्लाहमा मात्रा मिलाएर आयुर्वेदिक औषधिको सेवन गर्न जरुरी छ।’

आयुर्वेद उपचार पद्धति भनेको मानिसको जीवन पद्धतिसँग जोडिएको उपचार पद्धति भएको हुँदा औषधिलाई मात्रै उपचार पद्धति मान्न नहुने चिकित्सकहरुको भनाइ छ।

त्यसैगरी विभागका डा. मुनकर्ण थापाले स्वस्थ जीवनशैलीका लागि विभिन्न अभियानमार्फत स्थानीय तहसम्म पुर्‍याएको बताए।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका अनुसार हाल नेपालभर २ सय ९८ वटा नागरिक आयुर्वेद सेवा केन्द्र, ३ सय ८२ वटा नागरिक आरोग्य समिति, ३ सय ५ वटा आयुर्वेद औषधालय र ७७ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन्।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले ७७ वटै जिल्लामा आयुर्वेद चिकित्सा सेवा, जेष्ठ नागरिक सेवा कार्यक्रम, स्तनपाई आमा दुग्धवर्द्धक औषधि वितरण, नागरिक आरोग्य कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग कार्यक्रम, आयुर्वेद योग शिविर, खुला योग तथा व्यायाम कार्यक्रमलगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

तत्कालीन समयमा आयुर्वेदको आठ विभागमा अस्टाङ्ग आयुर्वेदको नाममा विकास भएको पाइन्छ। विशेष गरेर धन्वन्तरि सम्प्रदायले भगवान धन्वन्तरीलाई शल्यतन्त्र (विज्ञान)को ज्ञाता तथा समस्त आयुर्वेदकै सर्जकको रुपमा लिने गरेको पाइन्छ।

कात्तिक ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्