‘हाम्रो समाज यतिधेरै परिवर्तन होला भनेर त सोचेको पनि थिइनँ’ (भिडियो)

काठमाडौँ – सानुबाबु परियार उमेरले ८० वर्ष पुगिसके। सिलाइको काम गर्ने उनी अझै थाकेका छैनन्। ६ दशकभन्दा लामो समयदेखि उक्त पेशा अँगालेका परियारलाई उमेरले काम गर्न रोकेको छैन।

सानै उमेरदेखि सिलाइ व्यवसाय गर्दै आएका उनीसँग सामाजिक नियमका कारण भोग्नुपरेका थुप्रै नमिठा अनुभवहरु छन्। उनका बुवाको २०१९ सालमा मृत्यु भयो। त्यसबेला सानुबाबु परियार भर्खर १२/१३ बर्षका थिए।

बुवाको मृत्युपछि भने घर परिवार चलाउने जिम्मेवारी उनीमाथि आइलाग्यो। रहरले नभइ बाध्यताले उनी सानै उमेरदेखि काम गर्न थाले। उनले सुरुमा केही समय भने सिपाहीको काम गरे। करिब डेढ वर्षजति सिपाहीको काम गरेसँग उनले त्यो काम छाड्नुपर्‍यो। त्यसभन्दा अघि भने उनका बुवाले बालिघरेको काम गर्ने गर्थे।

आफ्नो पूर्ख्यौली थलो स्याङ्जा रहेको बताउने सानुबाबु भन्छन्, ‘बालिघरे काम भनेको हामीले उनीहरुको काम गरिदिने, त्यसबापत्त उनीहरुले हामीलाई अन्नलगायत खानेकुरा दिन्थे।’

बालिघरे कामबाटै गुजारा चलाउँदै आएको यो परिवारमा सानुबाबुका बुबाको मृत्युपछि भने घर परिवार चलाउन नै समस्या भयो। फलस्वरुप उनले जागिर गर्नुपर्‍यो।

‘मैले सिपाहीमा करिब डेढ वर्षजति काम गरेँ। त्यसपछि मैले मेरो पारिवारिक समस्याका कारण त्यो काम बीचैमा छाड्नु पर्‍यो,’ उनी भन्छन्, ‘मैले केही पारिवारिक समस्याकै कारण जागिर खानुपरेको थियो। पछि पारिवारिक समस्याकै कारण छोड्नु पर्‍यो। ममा केही जिम्मेवारी पनि थपिए। त्यसैले जागिर छोडेँ।’

उनले वि.सं. २०१९ देखि २०२१ सम्म सिपाहीको काम गरेका थिए। त्यसबेला आफ्नो तलब ४५ रुपैयाँ रहेको उनी बताउँछन्। सिपाहीको काम गर्नुअघि उनले बुवाले गर्दै आएको बालिघरे कामलाई नै निरन्तरता दिएका थिए। तर त्यसबाट आफ्नो पारिश्रमिक उठाउनसमेत धौ धौ भएकाले जागिर सुरु गरेको उनी सुनाउँछन्।

नेपालटारको हिलेडोलमा बालिघरे काम गरिरहेका उनी २०२५ सालमा भने बालाजुमा दुई आना जमिन लिएर घर बनाएर बस्न थाले। ‘दौरा सुरुवालको २ रुपैयाँ, कमिज सुरुवालको ३ मोहोर र चोलोको १ मोहोर थियो,’ त्यतिबेलाको समयलाई सम्झिँदै उनी भन्छन्, ‘कपडा उनीहरुले दिन्थे, सिलाएको ज्याला मात्रै त्यति थियो।’

उनले २०२८/२९ सालपछि भने विभिन्न उद्योगहरुको, सरकारी कार्यालयहरुको, विद्यालयको पोशाकलगायत विभिन्न अहोदामा रहेका व्यक्तिहरुको काम गर्ने अवसर पाएको उनी सुनाउँछन्। गोल्छा, घरेलु, साइबाबा डिस्टिलरी, काष्ठ कार्यालयलगायका कम्पनीहरुको काम गरेको अनुभव उनी सुनाउँछन्। ती कम्पनीहरुको काम गरेबापत भने उनले ८/९ रुपैयाँ पाउँथे।

‘ती कम्पनीहरुको काम गर्दा लगाउने लुगाका साथै कहिले एप्रोनहरु बनाउथेँ। त्यसको पारिश्रमिक लिन्थेँ,’ उनी भन्छन्, ‘त्यतिबेला एक जोरको ज्याला ८/९ रुपैयाँ मिल्थो।’

यही प्रक्रियाले करिब १५/२० वर्ष उनले जीविकोपार्जन गरे। त्यसपछि भने बुवाले सिकाएको पुर्खौली पेशाका कारण उनलाई घर परिवार चलाउन खासै समस्या भोग्नु परेन।

‘२०४५ सालतिर बहुदल आएपछि भने अफिसका हाकिमहरुलाई पनि त्यहाँका मजदुरहरुले हेप्न थाले। बहुदल आइसकेपछि भने मैले हाकिमहरु रिजाइराखेको थिएँ। त्यसपछि काम गर्न केही कम कम हुँदै गयो,’ उनी भन्छन्, ‘अहिले भने आफ्नै सानो घर बनाएको छु। त्यसैमा केही कपडाहरुसहित सानो पसल राखेको छु। आफ्नो रोजीरोटी यही पसलबाट चलाइरहेको छु।’

उनी आफूले काम सुरु गर्दाको समयभन्दा अहिलै धेरै परिवर्तन भएको बताउँछन्। ‘महँगी बढेको छ, हरेक कुराहरुमा परिवर्तन आएको छ,’ उनी भन्छन्, ‘अहिलेजस्तो कहाँ थियो र? हामीहरुले त त्योबेला धेरै नै दुःख भोग्नुपरेको थियो नि! हाम्रो समाज यति धेरै परिवर्तन होला भनेर त सोचेको पनि थिइनँ।’

त्यतिबेलाको सामाजिक नियमलाई सम्झिँदै अहिले आएको परिवर्तन सकारात्मक भएको उनी बताउँछन्।

‘आम्मै ! कुरै नगरौँ न ! दुःख त कति हो कति। हामीलाई त मान्छे गन्दैनन् थिए। तर के गर्नु, हामीले पनि हाम्रो घरपरिवार त चलाउनु नै पर्थ्यो,’ दुःख पोख्दै उनी भन्छन्, ‘काम गरेबापत श्रमको सट्टा अन्न दिने चलन पनि थियो। तर कतिपयले धान नै कुटाएको छैन भन्नुहुन्थो। त्यस्तो हुँदा कतिपटक त भोकै पनि बस्नुपरेको छ। अरु कोही हुँदैनन् थिए हाम्रो कुरा सुन्ने।’

अहिले एक जोर दौरा सुरुवाल सिलाएको १ हजारदेखि १५ सयसम्म लिने गरेको उनी बताउँछन्। त्यस्तै, चोलो सिलाएको ३०० देखि ५०० रुपैयाँसम्म लिने गरेका छन् भने कमिज सुरुवाल सिलाएको ४००/५०० रुपैयाँ लिने गरेका छन्।

उनका दुई छोरा, चार छोरी र श्रीमती छन्। जेठी छोरी र माइली छोरीले भने सिलाइको कामलाई नै निरन्तरता दिएका छन्। त्यस्तै, एक छोरी वैदेशिक रोजगारीको लागि गएको र कान्छी छोरी आफूसँगै रहेको उनी बताउँछन्। उनी नातिनीहरु भने उच्च शिक्षाका लागि विदेश गएको सुनाउँदै खुसी व्यक्त गर्छन्।

त्यस्तै, उनका जेठा छोराले भने बुवाकै व्यवसायमा सघाउँदै आएका छन्। जेठा छोरा बोल्न नसक्ने रहेको उनी बताउँछन्। कान्छो छोरा भने जागिरे रहेको उनी बताउँछन्। उनकी श्रीमतीले उनलाई सिलाइको काममा सघाउने गरेकी छन्। श्रीमतीले भने चोलो, कुर्ता सुरुवाल सिलाउने गरेकी छन्।

बस्दै आएको घर भुकम्पले भत्काएपछि भने उनले आफू बस्दै आएको स्थाननजिकै अर्को घर बनाएर सरेका छन्। हाल उनी आफ्नै घरमा व्यवसायलाई निरन्तरता दिँदै आएका छन्।

उनले कक्षा २ सम्म पढेका छन्। पढाइलाई निरन्तरता दिने मन हुँदाहुँदै पनि बुवाको मृत्युपछि घर परिवार चलाउने जिम्मेवारी आइलागेपछि भने पढाइलाई निरन्तर दिन नसकेको उनी बताउँछन्।

त्यतिबेला र अहिले मनाउने चाडपर्वमा पनि धेरै परिवर्तन आएको उनी बताउँछन्। ‘पहिला–पहिला मासु खान, नयाँ लुगा लगाउन दशैँ नै आउनुपर्थ्यो। अहिले त त्यो सबैकुरा सामान्य भइसक्यो,’ उनी भन्छन्, ‘हामीलाई पनि दशैँ आयो, चाडपर्व आयो भन्ने भएपछि भ्याइनभ्याइ हुन्थ्यो। तर अहिले त त्यस्तो हुँदैन। अहिले चाहिँ लगन र विद्यालय खुल्ने समयमा काम भ्याइनभ्याइ हुन्छ। अहिले सबैले रेडिमेट लगाउँछन्, त्यसैले पनि होला।’

समाजको नियम पनि बुझिनसक्नु रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘कामी, दमाइ, सार्की भन्नेवित्तिकै घरभन्दा बाहिरै बस्नुपर्ने, हामीले खाएको थाल माझेर आगो हालेपछि बल्ल चल्थो।’

अहिले समाजमा आएको परिवर्तनका कारण आफूहरुलाई न्याय मिलेको उनी सुनाउँछन्। ‘अहिले त तिनै बालिघरेहरुले भोजमा बोलाउँछन्। अनि आफै झिकेर खानुस भन्छन्। मलाई त्यतिबेला स्वर्ग पुगेजस्तो लाग्छ,’ उनी भन्छन्, ‘हाम्रो समाज यति छिटो यति धेरै परिवर्तन होला भनेर मैले सोचेको पनि थिइनँ।’

हाल सरकारका उच्च अहोदामा रहेका थुप्रै व्यक्तिहरुले लगाउने लुगा केही समयअघिसम्म आफूहरुले नै सिलाउने गरेको उनी सुनाउँछन्। केहीको भने अहिले पनि काम गर्ने गरेको उनको भनाइ छ।

कात्तिक ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्