सत्यकाम जाबालको आख्यायिका र यसको वास्तविकता

विभिन्न वैदिक तथा पौराणिक ग्रन्थहरूमा आख्यायिका वा कथाका माध्यमले पनि धर्मको वा ज्ञानको उपदेश दिइएको देखिन्छ। शास्त्रीय ग्रन्थहरूमा ती आख्यायिका दिनुको उद्देश्य सरल रूपले अध्येताले धर्मको रहस्य बुझून् भन्ने हो। साथै विद्याको उपदेश कसरी गर्नुपर्छ भन्ने देखाउन तथा विद्याको महत्त्व प्रदर्शन गर्न पनि आख्यायिकाको सहयोग लिइएको पाइन्छ। तथापि तिनको तात्पर्य यथार्थ रूपमा बुझ्ने र बुझाउने व्यक्ति आजभोलि दुर्लभ हुँदै गएका छन्।
मन्त्रद्रष्टा ऋषिहरूको गहन ज्ञानलाई उदाहरणद्वारा स्पष्ट पार्न र कर्तव्य के हो, अकर्तव्य के हो भनेर सजिलरी बुझाउन पनि आख्यायिकाको शैली वेदादिशास्त्रमा लिइएको पाइन्छ। आख्यायिकाबाट सोझो अर्थ नलिएर त्यसको तात्पर्य बुझेर शिक्षा लिनुपर्ने हुन्छ। धर्मसूत्रहरूमा र स्मृतिहरूमा यस्तो कर्म गर्नू र यस्तो कर्म नगर्नू भनेर स्पष्ट रूपमा देखाइएका विधि र निषेधको मात्र सोझो अर्थ लिएर तिनको पालन यथासम्भव गर्नुपर्ने हुन्छ। आख्यायिकाका घटनालाई हेरेर चाहिँ त्यसलाई सोझो अर्थमा बुझेर कर्म गर्न हुँदैन। आजभोलि त आख्यायिकाको तात्पर्य बुझ्ने कुरा त परै छ, मूल ग्रन्थमा त्यसको स्वरूप केकस्तो छ भन्नेसम्म पनि नबुझिकन थाहा नपाइकन कलम चलाउने र अपव्याख्या गर्नेहरू धेरै देखिन थालेका छन्। त्यसैले कतिपय आख्यायिकाको मूल ग्रन्थमा भएको स्वरूप र पाठकहरूसमक्ष आधुनिक लेखकहरूले प्रस्तुत गरेको स्वरूपमा आनको तान फरक परिसकेको पनि देखिन्छ।
यस्ता अनुचित र भ्रमजनक कार्यले सोझै मूल ग्रन्थ हेर्न–बुझ्न नसक्ने साधारण व्यक्तिहरूमा गलत छाप पर्ने गरेको पनि छ। अचेल त स्थलसङ्केत नदिइकन हुँदै नभएको यो श्लोक अमुक ग्रन्थमा वा वेदैमा छ भनेर लेख्न पनि सङ्कोच नमान्ने लेखकसमेत छ्यासछ्यास्ती देखा पर्न थालेका छन्। यस्तो गर्नु अत्यन्त अनैतिक कार्यसमेत हो। त्यसैले विद्वान्हरूले चाहिँ सकेसम्म भ्रम हटाउन यथार्थ र स्पष्ट कुरा जनसमक्ष राख्ने गर्नुपर्दछ।
यस लेखमा यस्तै भ्रमलाई चिर्न एउटा आख्यायिकालाई उदाहरणका रूपमा लिइएको छ। यहाँ मूल ग्रन्थको उद्धरण पनि गरेर छान्दोग्योपनिषद्मा उल्लिखित सत्यकाम जाबालको प्रसिद्ध आख्यायिकाको विवेचना गरिन्छ। छान्दोग्योपनिषद्को चौथो अध्यायको चौथा खण्डका प्रारम्भमा जबालाका छोरा सत्यकाम जाबालले आफ्नी आमालाई सम्बोधन गर्दै भनेको कुरा उल्लिखित छ। त्यहाँ जाबाल आमासित भन्छन्– “हे पूजनीये, म ब्रह्मचर्यका साथ गुरुकुलमा बस्न चाहन्छु, म के गोत्रको हूँ?” यो कुरा उपनिषद्मा यसरी सुरु भएको छ—
सत्यकामो ह जाबालो जबालां मातरमामन्त्रयाञ्चक्रे ब्रह्मचर्यं भवति विवत्स्यामि किङ्गोत्रो न्वहमस्मीति ।।१।।
कुल, वर्ण (जाति) र गोत्र महत्त्वपूर्ण हुने भए पनि गुरुकुलमा प्रवेशका निम्ति सत्यकामले यहाँ आफ्नो गोत्र मात्र आमासित सोधेको कुरा बताइएको छ। सम्भवतः गोत्रको मात्र जानकारी उनलाई नभएकाले त्यस विषयमा मात्र उनले आमासित प्रश्न सोधेको भन्ने कुरा हुन सक्छ।
छोराको यस प्रश्नका उत्तरमा जबालाले सत्यकामलाई भनिन्— “हे बाबु, तिमी कुन गोत्रका हौ भनेर म जान्दिन। पहिला म पतिका घरमा आउने धेरै अतिथिको सेवा गर्ने परिचारिका थिएँ (परिचर्यामा संलग्न हुँदा गोत्र इत्यादितर्फ मेरो ध्यान नै गएन)। तिनै दिनमा मेरा यौवन अवस्थामा मैले तिमीलाई पाएँ (तिम्रा पिता छिटै परलोक जानुभएकाले उहाँसित गोत्र सोध्न पनि मैले मेसो पाइन)। त्यसैले तिमी कुन गोत्रका हौ भनेर म जान्दिन। मेरो नाम जबाला हो, तिम्रो नाम सत्यकाम हो। तसर्थ तिमीले आफूलाई सत्यकाम जाबाल भनेर ऋषिका समक्ष बताउनू।” यो कुरा उपनिषद्मा यसरी बताइएको छ—
सा हैनमुवाच नाऽहमेतद् वेद तात यद्गोत्रस्त्वमसि बह्वहं चरन्ती परिचारिणी यौवने त्वामलभे साऽहमेतन् न वेद यद्गोत्रस्त्वमसि जबाला तु नामाऽहमस्मि सत्यकामो नाम त्वमसि स सत्यकाम एव जाबालो ब्रवीथा इति ।।२।।
यसको व्याख्या गर्दा शाङ्करभाष्यमा उक्त कुरा स्पष्ट पारिएको छ— “कस्मान् न वेत्सि? इत्युक्ताऽऽह बहु भर्तृगृहे परिचर्याजातमतिथ्यभ्यागतादि चरन्त्यहं परिचारिणी परिचरन्तीति परिचरणशीलैवाऽहम्, परिचरणचित्ततया गोत्रादिस्मरणे मम मनो नाऽभूत्। यौवने च तत्काले त्वामलभे लब्धवत्यस्मि। तदैव ते पितोपरतः। अतोऽनाथाऽहं साऽहमेतन् न वेद यद्गोत्रस् त्वमसि।”
आमाछोराका उपर्युक्त प्रश्नोत्तरलाई कतिपय व्यक्तिले बङ्ग्याएर अयथार्थ रूपमा प्रस्तुत गर्ने गरेको पनि देखिन्छ। जस्तै— “सत्यकाम जाबाल गुरुसित पढ्न जान चाहन्छन् र आफ्नी आमा जबालासित सोध्छन्— आमा, मलाई पनि गौतम ऋषिका आश्रममा गएर ब्रह्मचर्यमा रहेर अरू ब्राह्मण र क्षत्रिय कुमारहरूसित सँगसँगै बसेर वेद पढ्ने इच्छा छ। मलाई भन्नुहोस् मेरा पिता को हुनुहुन्छ? हाम्रो जात के हो? हाम्रो गोत्र के हो? र हामी कुन वंशका हौँ? ऋषिले मलाई आफ्नो शिष्य बनाउनभन्दा पहिला अवश्य नै यी प्रश्नहरू सोध्नुहुनेछ।” उपनिषद्मा भनेकाभन्दा बर्ता कुरा थपथाप गरेर यसरी जाबाललाई यहाँ प्रस्तुत गरिएको देखिन्छ। यसको जबाफमा जबालाले बोलेका भनेर उल्लेख गरिने कतिपय कुरा त झनै असत्य र आपत्तिजनकसमेत देखिन्छन्। जस्तै—
“छोरामा अध्ययन गर्ने तीव्र इच्छाले गर्दा आमा प्रसन्न भइन्, तर उनलाई यसको जवाफ दिन निकै गाह्रो भयो। तैपनि साहस बटुलेर उनले भनिन्– बाबु, गरिबीले गर्दा यौवनावस्थामा म धेरै मानिसहरूका सेवामा लागेँ। मेरो विधिपूर्वक विवाह हुन पनि पाएन। तिमी गर्भमा हुँदा पनि म धेरै पुरुषहरूको संसर्गमा थिएँ। म आफैलाई पनि तिम्रा पिता को हुनुहुन्छ भनेर थाह छैन। त्यसैले तिमीले ऋषिलाई मेरो नाम सत्यकाम र मेरी आमाको नाम जबाला हो यति मात्र भन्नू।”
यसरी एउटी विवाहिता विधवा नारी जबालालाई स्वैरिणी नारीका रूपमा र सत्यकामलाई बाउविनाको छोरोका रूपमा वर्णन गर्नेहरूले आख्यायिकाको स्वरूपलाई नै कुरूप बनाइदिएका छन्। यस्तै मिथ्या आख्यायिका सुनाउने वक्ता र हाम्रा शास्त्रका कुरालाई जथाभावी बङ्ग्याएर लेख्ने क्रीतदास लेखकहरूको सङ्ख्या आजभोलि बढ्दै गएको पाइन्छ। कतिपय लेखकले त जबालालाई वेश्यासमेत भनेका रहेछन्। यसरी एउटी निष्कलङ्क नारीको चरित्रहत्या गरेर लेख्नेहरूमा सामान्य मानवीय नैतिकता पनि नभएको देखिन्छ। आजभोलि संस्कृत भाषाको ज्ञान कत्ति पनि नभएका व्यक्तिहरूले मूल ग्रन्थमा के लेखेको छ, के लेखेको छैन भन्नेसम्म पनि ख्यालै नगरी यस्ता विषयमा कलम चलाएर अपव्याख्या गर्ने र उल्टो निष्कर्ष निकाल्ने समेत गरेको देखिन्छ।
आमासित भएको उक्त संवादपछि सत्यकाम जाबालले हरिद्रुमान्का छोरा गौतम गोत्र भएका हारिद्रुमत ऋषिकहाँ गएर भने— “हे पूजनीय, म यहाँ ब्रह्मचर्यपूर्वक वास गर्दछु, यसै कारणले म यहाँका सन्निधिमा शिष्यभावले आउँदछु।” यस उक्तिलाई उपनिषद्मा यसरी भनिएको छ—
स ह हारिद्रुमतं गौतममेत्योवाच ब्रह्मचर्यं भगवति वत्स्याम्युपेयां भगवन्तमिति ।।३।।
गौतम ऋषि ठुला ज्ञानी र तत्त्वदर्शी ऋषि हुनुहुन्थ्यो। उहाँले वटुकहरूको उपनयन गर्नुभन्दा पहिला उनीहरूको कुल र गोत्र सोध्ने गर्नुहुन्थ्यो। “राम्ररी परीक्षा गरेर योग्य र अधिकारी नठहराइकन यज्ञ नगराउनू, उपनयन नगर्नू र वेद नपढाउनू” भन्ने निर्देशन धर्मसूत्रहरूमा पनि दिइएको छ— नाऽपरीक्षितं याजयेत्, नाऽध्यापयेत्, नोपनयेत् (विष्णुधर्मसूत्र २९।४–६)। त्यसैले गौतम ऋषिले सत्यकामलाई “हे सोम्य, तिम्रो गोत्र के हो?” भनेर सोध्नुभयो। उत्तरमा सत्यकामले “मैले मेरो गोत्र के हो भनेर जानेको छैन, मेरी आमासित यस विषयमा सोध्दा उहाँले यस्तो बताउनुभयो” भनेर आमाले आफूलाई भनेका सबै कुरा नढाँटीकन यथार्थ रूपमा ऋषिलाई बताए। यो संवाद उपनिषद्मा यसरी अघि बढेको छ–
तं होवाच किङ्गोत्रो नु सोम्याऽसीति स होवाच नाऽहमेतद् वेद भो यद्गोत्रोऽहमस्म्यपृच्छं मातरं सा मा प्रत्यब्रवीद् बह्वहं चरन्ती परिचारिणी यौवने त्वामलभे साऽहमेतन् न वेद यद्गोत्रस्त्वमसि जबाला तु नामाऽहमस्मि सत्यकामो नाम त्वमसीति सोऽहं सत्यकामो जाबालोऽस्मि भो इति ।।४।।
सत्यकामले सत्य बोलेका हुनाले ऋषि गौतमले उनलाई भन्नुभयो– “यस्तो सोझो यथार्थ कुरा स्वभावतः ब्राह्मणबाहेक अरूले बोल्न सक्तैन। अतः हे सोम्य, समिधा ल्याऊ, म तिम्रो उपनयन गरिदिन्छु, किनभने तिमी सत्यबाट पर गएनौ।” त्यसपछि सत्यकामको उपनयन गरेर चार सय दुब्ला दुर्बल गाईहरूलाई छुट्ट्याएर निकालेर गुरुले उनलाई भन्नुभयो– “हे सोम्य, तिमी यी गाईहरूको पछि लाग।” तिनलाई लैजाँदै गर्दा सत्यकामले भने– “यी गाईहरूको सङ्ख्या एक हजार नपुगीकन म वनबाट फर्कने छैन।” अनि तिनको सङ्ख्या एक हजार नपुगिञ्जेल उनी धेरै वर्षसम्म वनमा नै बसे। उपनिषद्मा यो कुरा यसप्रकारले बताइएको छ–
तं होवाच नैतदब्राह्मणो विवक्तुुमर्हति समिधं सोम्याऽऽहरोप त्वा नेष्ये न सत्यादगा इति तमुपनीय कृशानामबलानां चतुःशता गा निराकृत्योवाचेमाः सोम्याऽनुसंव्रजेति ता अभिप्रस्थापयन्नुवाच नाऽसहस्रेणाऽऽवर्तेयेति स ह वर्षगणं प्रोवास ता यदा सहस्रं सम्पेदुः ।।५।।
यहाँ ब्राह्मण भएका हुनाले स्वभावैले सत्यकामले सत्य बोलेको भन्ने उल्लेख गरिएको छ। सत्य बोलेको हुनाले ब्राह्मण मानिएको भनिएको छैन। सत्य बोल्नेबित्तिकै जो पनि ब्राह्मण भैहाल्ने सिद्धान्त न शास्त्रमा छ, न त व्यवहारमै देखिन्छ। आदि शङ्कराचार्यले पनि यसको व्याख्या यस्तै गर्नुभएको छ। यसबाट ब्राह्मणमा सत्यनिष्ठा हुनैपर्ने भन्ने पनि बुझिन्छ।
हजारौँ–लाखौँ पुस्तादेखि ब्राह्मणहरूले शिखा, सूत्र, स्नान, सध्या, भक्ष्याभक्ष्य, कार्याकार्य इत्यादिका कठोर नियमहरूको पालन तपस्याका रूपमा गर्दै आएका हुन्। यस्तो आचरण एकछिनको वा एक पुस्ताको देखावटी नाटक होइन। तसर्थ जन्म, कर्म र विद्या तीनैथोक ब्राह्मणत्वको लक्षण हो। यी तीनैथोक भएको ब्राह्मण त्रिशुक्ल ब्राह्मण भनिन्छ। उक्त तीनथोकमध्ये जन्म आधारभूत तत्त्व हो। त्यसैले कर्मले मात्र वर्णपरिवर्तन हुने विधान शास्त्रमा देखिँदैन। कर्णले आफ्नो जात ढाँटेर अर्थात् ब्राह्मण हूँ भनेर परशुरामसित विद्या ग्रहण गरेका हुनाले र ढाँटेको कुरा थाह पाएपछि परशुरामले अत्यन्त आवश्यक परेका वेलामा तिमीलाई यो विद्या काम नलागोस् भनेर कर्णलाई सराप दिएका हुनाले अर्जुनबाट कर्ण मारिएको भन्ने आख्यायिका छ। त्यसैले सत्यको महिमा अत्यन्त धेरै छ भनेर यहाँ देखाइएको हो। वैदिक वर्णाश्रमधर्म धेरै गहन छ। वैदिक सनातन वर्णाश्रम धर्मका व्यवस्थाहरू व्यक्ति, कुटुम्ब, समाज, राष्ट्र र विश्वको नै कल्याण गर्ने पद्धतिका रूपमा चलेको हो। अहिले पनि सही कुरा बुझेर ठीक तरिकाबाट यसको अनुसरण गर्नु सबैका निम्ति लाभदायक हुन्छ।
यस कथामा त्यसपछि सत्यकाम जाबालले वनमा नै वृषभ, अग्नि, हंस र मद्गुबाट क्रमशः एकएक पाउ गरेर ब्रह्मका चारै पाउ उपदेश सुनेपछि सत्यकाम पुनः गुरुबाट ब्रह्मको उपदेश सुन्न गुरुका समीप गए र गुरुबाट पूर्ण ब्रह्मज्ञान प्राप्त गरे भन्ने पनि छान्दोग्योपनिषद्मा बताइएको छ।
उपर्युक्त सत्यकाम जाबालको आख्यायिकाबाट पाठकहरूलाई यसको विशुद्ध स्वरूप अवगत भयो होला। साथै यस विषयमा फैलाइएका भ्रमको निवारण पनि भयो होला भन्ने अपेक्षा छ।