अनुभूति

त्यो तिहार, यो तिहार !

‘तिमी उभिएको ठाउँ स्वदेश हो अन्त विदेश छैन…!’ पढेकै हो, कैलेकैले घरबाट दश भूगोल पर आउँदा आफूलाई सम्झाउन मस्तिष्कमा पनि चराएकै हो, चराएको पनि त ‘ब्रह्म समय’ले त लामै भो नि, मेरो आफ्नै ब्रह्म समय है फेरि! तर चाडबाडको बाहेक अन्य समय यो संसार नै मेरो घर, वशुधैव कुटुम्बकम मन्त्र जप्ने पूर्खाको सन्तान पो त! अनि घर माने त्यो भौतिक अस्तित्व मात्रै कहाँ? दुई अक्षरले पो बन्यो त घर, तर त्यो दुई अक्षरले सिंगो जीवन अटाइदिन्छ।

घरभित्र सम्झनाका पोकाहरु छन्, यसैले त जीवन जीवन्त बनेको छ। यो चाडबाडले आफ्नो माटोको यादलाई यसरी यो नेपाली मनलाई मात्रै गराउँछ कि अन्यलाई नि यस्तो हुन्छ? अनि यो चाडबाडमा पनि दशैँ र तिहार मात्रै भने पनि हुन्छ। हुर्काइ र बढाइले पनि सायद यसै भन्छ।

‘दशैँ त गाउँमा रमाइलो, तिहार त शहरमा नै रमाइलो!’ प्रायः गाउँमै पनि म यसो सुन्थेँ। एक त बालापन रमाउँदै गर्दा गाउँ छाड्न परेको मैले, गाउँलाई हरतरहले आफूमा त्यो रस नपुगेको अनुभूति त गर्ने नै भएँ नै! यसैले पनि होला तिहार भन्नेबित्तिकै म स्वयंलाई चाहिँ कहिले पनि शहरको झिलिमिलीले बडै तानेन, यद्यपि मनै नपर्ने पनि होइन!

अलिकति बढी प्रकृतिप्रेमी, शान्त प्रेमी, हुलमूल कम मन पर्नाले पनि प्रभाव हो की? अनि फेरि तिहार भनेकै आगोमा झ्वाँइअँ गरेर आमैले, काकीले, फुपूले पकाएको सेलरोटी, गोरू तिहारको दिनको ताइको बाबर पो कसरी भुलूँ? शहरको कोठामा कसरी यो सब हेरूँ? त्यो खुल्ला मौसम, दियोबत्ती, देउसीभैलो, सयपत्री-मखमली माला, भाइटीका भन्ने त तिहारको बिम्ब बनी मस्तिष्कमै छापिएर बसेको पो छ त! भलै कसैले, दशैँ त गाउँमै रमाइलो, तिहार चाहिँ शहरमै रमाइलो भन्दा म हो भन्नुबाहेक केही नै भन्न सक्थेँ र?

सानो बेलामा आमा, काकी वा दिदीहरुसँग बजार घुम्दा सायद ताप्के वा यस्तै भाँडा बनाउनेतिर ‘ट्वाङ्ग ट्याङ्ग’ बजेपछि त्यावर (बोल्दा यस्तै सुन्थेँ) आयो भन्ने अनुभूति हुन्थ्यो मलाई। त्यो निकै पछिसम्म पनि त्यावर मानेँ यही लाग्थ्यो। त्यावर भनेको तिहार हो र यो हाम्रो चाड हो भन्नेसँग मैले खासै बालापनमा के मेसो पाएको हुँदो हो र?

देउसी प्रायः गाउँमा खेलियो, कहिले काठमाडौँमा। काठमाडौँमा साथी भन्नु बालापनका मित्र, अनिष र भाइ मात्रै थिए। चाबहिल गंगाहिटीको बसाइ। हामी तीन मात्रै। घरबेटी बाआमैले पनि माया गर्ने, यहीँ कोठामा खेल बाहिर नजाऊ भन्नुहुन्थ्यो, मानिन्थ्यो पुग्थ्यो पनि। त्यहाँ बस्ने ५/६ कोठा अनि केही तल वरपर गर्थ्यौँ। जम्मा भएको पैसा बाँड्थ्यौँ अनि दिदीहरुलाई दिनलाई राख्थ्यौँ।

सम्भवतः द्वन्दकालमा बालापनका अधिकांश समय त काठमाँडौमै बिते! उसो त हर दशैँमा घर जाने गरिन्थ्यो, बिदा दशैं तिहार नै भैदियोस् भन्ने लाग्थ्यो, कामना र प्रार्थना हुन्थ्यो तर बदलामा उही दशैँ तिहारको भव्य गृहकार्य पाइथ्यो।

उसो त आज च्यामुसीबाट बालापनका ती सम्झनाहरु भेट्न स्मृतियानमा जो छु।

ती बीचमा खुल्ने विद्यालयले म एक पटक रोकिएँ/दुई पटक रोकिएँ! सधैँ त कहाँ रोकिन्थेँ र? कैले त दशैँ र तिहारबीचको दिनहरुमा बिदा, शनिबार सब हेरेर ‘लु पढाइ धेर नछुट्ने रैच’ भनेर बसियो। अनि त्यो बीचको बिदामा धान खेतमा काम गर्ने, त्यो खुल्ला मौसममा वनचरो बनेर वरपर गर्ने गरेर समय बित्थे।

मलाई चाहिँ तिहारको देउसी भने’सी नाङ्लो होस्, त्यसमाथि धान होस्, वरिपरि सेलरोटी होऊन्, बीचमा दीप हो’ओस् भन्ने इच्छा हुन्थ्यो।यो चाहिँ गाउँमा खेल्दा हामी केटाकेटी हुँदा कसले गर्दिने र? तर पनि ती विशेष समय थिए।

तिहारको विशेष रौनक भनेको फुपूहरु र दिदीहरु आउने दिन हुन्थ्यो। ९/१० फूपू अनि दिदीहरु जम्मा हुँदा तिहार कम्ताको गजब हुँदैन्थ्यो र? म कहिले-कहिले चिनियाँ सानो परिवार देख्दा उनीहरुको नयाँ वर्षमा के रमाइलो हुँदो हो भनेर सोच्थे पनि। त्यो ठूलो परिवारको सन्तान हामी। हामीलाई त ती हजुरबा, फूपू, बा, काकाहरु, दिदीहरुको बीचमा सँगै बसेर खाने, रमाइलो गर्ने जो अभ्यास बसिसकेको थ्यो।

ती फूपूहरुप्रति म आज पनि नतमस्तक छु, माइतीका लागि भनेर खीर-सेल-कुराउनी बनाएर उकालो अनि ओराली गरेर २/३ घण्टा हिँडेर आउनुहुन्थ्यो। फुपूहरु बूढी भएर सकी-नसिकी पनि आउनुहुन्थ्यो, प्रेम र सद्भाव हो’ओस् पो त्यस्तो, आज सम्झँदा पनि मन धक्क फुल्छ। तिहार चेलीहरु भएर नै तिहार हुँदो रहेछ।

अनि दशैँ तिहार सकिएपछि गाउँ छाडेर शहर पस्नपर्दाको पीडा त कति कति ! काठमाडौँ पढ्दाताका स्कूले लामो छुट्टी भनेको त दशैँकै मात्रै हुन्थ्यो। तिहारसम्मै छुट्टी आउला कि भन्ने आश आशमै सीमित हुन्थ्यो। त्यो बेला चक्काजाम भैरहन्थ्यो, अनि मनमनै काठमाडौँ जाने आज जसो परे’सी गाडी बन्द भइदिए नि हुन्थ्यो, एकदिन नै बस्न पाउँदा नि वर्षौँको तृष्णा मेटिएलाजस्तै अनुभूति थियो। संयोग पनि यस्तै हुन्थ्यो, २/३ पटक भयो नै। महिनौं बसेको ठाउँमा चटक्क छाडेर काठमाडौँ आइपुग्दा मस्तिष्कमा निराशाका काला बादल मडारिन्थे। अनि १/२ दिन स्कुल जान थाले’सी बल्ल बानी पर्थ्यो।

जीवन गतिशीलताको लयले हुत्याएको ठाउँमा टेकेरै पनि कुनैदिन त केवल सम्झनाहरुलाई आगतमा टेकेर ‘टाइम ट्राभल’ गर्न पर्ने हगि? परिवार सप्पै हुँदाको त्यो माहोल सधैँ कहाँ? भुइँचालोमा गुमाएकी साइली फुपू नहुँदा त के अपूग अपूग हुन्थ्यो, ऐले त बा नै हुनुहुन्न। यो अभाव त जीवनभरको एउटा नपुरिने अभाव हो! धेरै अभावहरु जीवन यात्रामा पूर्ति होलान् तर प्रिय मानिसहरुको अभाव जीवनमा त हुन्छ नै, चाडबाडको त के कुरो गरूँ र?

बाको अनन्तः यात्राको सम्झनासँगै म दश भूगोल पारी भए पनि त्यताको परिवारले तिहार भव्य मनाओस्। हामी फेरि एक हुनेछौँ, केवल समय समयको कुरो मात्रै हो। आखिर अभाव जीवनको अर्को नाम हो, पूर्णता जीवनको अभिलाषा मात्रै हो, त्यो साध्य होइन, खोजी हो, ध्येय होइन!

यो तिहारमा आमालाई पो नसम्झूँ कसरी? सानो छँदा भाइ र म कक्षाको केटीको नाम लिएर एकअर्कालाई जिस्काउँथ्यौँ। उसो त म केटी भनेसी अलिक लजालु नै थिएँ। भाइ र मेरो झगडा परेपछि आमाले भन्नुभो, ‘कक्षामा पढ़ने केटीहरु सप्पै तिमेरुका दिदीबहिनी हुन्…! यो बडो गहिरो छाप थियो।

एकदिन १२ कक्षाको फिजिक्स ट्यूसन पढ्दा म एउटी साथीलाई बहिनी भन्दै उसले सोधेको कुरो सिकाउँदै थिएँ। मैले अन्यलाई पनि बहिनी भनेको सुनेर सरले, ‘यसरी सबलाई दिदीबहिनी भन्यौँ भने त ब्या गर्ने कसलाई?’ भन्नुभो।

म नि हाँस्दै, ‘सर, त्यो नि समय आउला तर मनपरेको केटी केटी नत्र बाँकी सब चेलीबेटी!’ यसो भन्देको कक्षामा हाँसो छुट्यो। सर पनि मीठो हाँस्नुभो। मलाई आमाको यो कुरो बडो याद आइरहन्छ।

आखिर चाड भाइहरुको मात्रै तिहार कहाँ? चेलीहरु बिना त तिहार, तिहार नै हुन्न नि! त्यावर (तिहार) भन्दा जुन आत्मियता र अप्नत्व बालापनदेखि नै भेटेँ, ती अन्य प्रचलित नाममा कैले अनुभूत गर्न सकिनँ। नाममा के छ र भन्न नपाइने पनि त होइन, तिहार अन्य नामले सुशोभित नभएको पनि फेरि कहाँ छ र? नाममा केही छैन पनि होइन, नाममा पनि ठाउँअनुरूपको ठहर छ।

तिहार, दीवाली, दीपावली भारतवर्षकै संस्कृति हुन्। आफ्नै किसिमले मानिन्छ, निरन्तता रहोस्। गंगाको मैदानमा जनैपूर्णिमाको दिन दाजु र बहिनी, दिदी र भाइहरुबीच राखी बाँध्ने चलनजस्तै हाम्रोमा चाहिँ तिहारमै भाइटीकामार्फत दिदीभाइ, दाजुबहिनीबीचको सम्बन्धमा अझै श्रद्धा र सद्भावलाई सुदृढ बनाउने गरिन्छ।

मलाई लाग्छ, यो नेपाली संस्कृतिको अनुपम उदाहरण हो। हाम्रो अनेकताभित्र एकता छ। उसो त तिहार अब हिन्दूहरुको मात्रै कहाँ सीमित रह्यो र! सारा संसारभरि छरिएका नेपालीको चाड भइसकेको छ। मान्नेहरुको चाड हुन्छ, नमान्नेको के हुन्छ? हाम्रोमा चाहिँ तिहारमै भाइटीकामार्फत दिदीभाइ, दाजुबहिनीबीचको सम्बन्धमा अझै श्रद्धा र सद्भावलाई सुदृढ बनाउने गरिन्छ।

विशेषगरी भिन्न आमाबाट जन्मिएर पनि दिदीबहिनीको प्रेम बाँड्ने ती हर प्रिय दिदी बहिनीलाई मेरो धेरै माया, प्रार्थना र कामना! यी प्रिय मानिसहरुले मलाई भावनाको सम्बन्ध सबैभन्दा बलियो सम्बन्ध हो भनेर बुझाएका छन्। म विश्वास पनि गर्छु, सम्भवतः कुनै जीवनको कर्मले नै हामीबीच त्यो साइनो आर सम्बन्ध गाँसिएको हुनुपर्छ। ती कोही सञ्जालमा भेटेँ, ती कोही सञ्जाल बाहिर भेटिए, तर भेटिए। उनीहरूले मलाई दिएको प्रेम, सद्भावको चर्चा शब्दबाट जति भने पनि कम हुन्छ।

देश फिरेपछि सम्झना आर बिर्सना फेरि पनि हुनेछन् नै, अहिलेलाई च्यामुसीको यो चिसो शहरबाट कुनै तिहारमा यस्तै सम्झनाका शब्द लेख्नु पनि आनन्दका कुरा रहेछन् भन्ने मान्दै सम्झना बटुलिएका थिए र पो शब्दका केही पोखिन पाइयो भन्दै मेरा ती सम्पूर्ण चेलीहरुमा न्यानो सम्झना, कामना र प्रार्थना! चेलीहरुको आशीष लागिरहोस्। र, सम्पूर्णलाई तिहारसँगै आउन लागेको छठको शुभकामना। साधुवाद!

-दीपकिरण खड्का
(च्यामुसी, चीन)

कात्तिक ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्